भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

ब्लग चौतारी

'आस्था' (लघु कथा)

ब्लग सम्प्रेषक : खांट्टी कुरा
कमरेड लाल सलाम पार्टीको पूर्णकालीन कार्यकर्ताले अभिवादन गर्दै दाहिने हात तेर्स्यायो !
मन नलाई नलाईकन हात मिलाउँदै जवाफ फर्काउदै भन्यो 'लाल सलाम' !
आजको कार्यक्रम थाहा छ हैन ?
प्रश्नको जवाफ फर्काउदै भन्यो थाहा छ !
अनि किन अहिलेसम्म यतै देख्छु, कार्यक्रम सुरु हुने बेला भयो त पुन: प्रश्नको झटारो !
सहन सकेन उसले र रिसलाई पूर्ण नियन्त्रणमा राखेर अनुहार साउने बादल बनाउदै भन्यो
म के गर्न लागेको छु अहिले थाहा छ ?
तपाई अहिले कुन ठाउँमा उभिनु भाको छ त्यो पनि थाहा होला !
मैले सयकडा ५ को ऋण काढेर यो व्यवसाय चलाउदै छु ! मलाई मेरो शुभचिन्तकले ऋण नदिएको भए मेरो अहिले पाटीको बास हुन्थ्यो ! मेरो यो व्यवसाय हेर्ने म बाहेक अरु कोही छैन ! मेरो श्रीमती जापानी रोबोट हैनन, घरको धन्दा देखि बच्चासम्म हुर्काउने जिम्मा उसको छ !
मैले मेरो पेसालाई लात हानेर पार्टीको कार्यक्रममा भाग लिदै हिड्ने हो भने म पुन: पहिलाकै जस्तै गरी पाटीको बासमा पुग्छु ! मैले जति गर्नु गरिसके अब गर्न सकिदैन ! आस्था र खोक्रो नाराले जनताको त परको कुरा आफ्नै कार्यकर्ताको समेत पेट नभरिने रैछ कमरेड बुझ्नुभयो हैन ?
ब्लग चौतारी

सफलता ( लघुकथा )

ब्लग सम्प्रेषक : खांट्टी कुरा

रविन्द्र समीर
रविन्द्र समीर

" जीवनमा केही उपलब्धिमूलक काम गर्न सकिएन .......सबैतिर असफताबाहेक हात लाग्यो शून्य " ब्राम्हण पण्डित नारायणहरिले लोकल ठर्रासँग बूढो राँगोको सेकुवा चपाउँदै निरासा व्यक्त गरे।

ईश्वरको वरदान भनेर सन्तानको ...बाबु हुँदा पनि उनीसँग दुईजना छोरीमात्र बाँकी रहेका थिए, शेष अल्पायुमै यमराजको संसारमा पुगिसकेका थिए।

मनबहादुर विश्वकर्मा पनि त्यही होटेलमा दूधको सुर्को तान्दै पण्डितलाई सम्झाउन थाले " आ पण्डितजी पनि ......चौरासी पूजा गरेको चार वर्ष भइसक्यो, केको असफलता नि ? "

" हजुरको एउटा पुत्र सर्पले टोकेर मर्‍यो, दोस्रो भीरबाट खसेर, तेस्रो सडक दूर्घटनामा परेर, चौथो विषमज्वरको सिकार भएर, पाँचौ लागूपदार्थले कुहिएर, छैठौँ डाँकाहरूले छप्काएर, सातौँ छोरी प्रसव वेदनाले छट्पटिएर, आठौँ दोहोरो भिडन्तमा ढाल भएर, नवौँ हिँड्दाहिँड्दै हृदयघात भएर, दसौँ विद्रोही भएर, एघारौँ सुरक्षा फौज भएर ......! गर्भमा बीजारोपण भएदेखि प्रत्येक पल मृत्युका खुडि्कलाहरू पार गर्दै बूढो होउञ्जेल बाँच्न पाउनु सानो सफलता हो? "

पण्डितजीलाई मनबहादुरको तर्क बेजोड लाग्यो। प्रत्येक पल करोडौँ भवितव्यहरू पार गरेर आजको युगमा पनि " बूढो " हुन पाएकोमा पण्डितजीको नाक घिरौँला जत्रो भयो।
https://www.facebook.com/sameer.rabindra
ब्लग चौतारी

फर्केर हेर्दा संजनाको जीवन ...(कथा)

ब्लग सम्प्रेषक : Unknown
सिमा श्रेष्ठ, 
अस्किलोन इजरायल

             संजना आज पुरा १९ पुगेर २० मा लागिन । चन्चले अनि लजालु र गम्भीर स्वभाब कि ,उनलाई रिस कम आउथ्यो । अलि इखालु स्वभावकी भने थियिन । उनको हिडाई बोलाइ र जिउड़ालले वोरिपरी सबै युबक युवतीहरु चियाई रहन्थे ..कोहि कोहि त जल्थेपनि । बाटुलो अनुहार , धपक्क बल्दो रुपले होला , उनका आफना परिवारकै आफन्ती पर्ने दिदि बहिनिहरु पनि जल्ने गर्थे । राम्री हुनु यसमा उनको के दोष ? । उनि प्राय घरबाट बाहिरै नानिक्लिने ग...र्थिन । घरमै बस्ने सिलाइ बुनाइ गर्ने टिभी हेर्ने ,हल्का फुल्का काम गर्ने सफा गर्ने पेंटिंग गर्ने गरेर दिन बिताउथिन । उनि कहिलेकाही सुर्य अस्ताएपछि साझपख घुम्न मन पराउथिन । कोहि साथी भएमात्रै हो बाहिर निस्कने अन्यथा उनको आफन्ती दिदि बहिनिले उनलाई संगै लिएर घुम्न मन नगरे जस्तो गर्ने गर्थे ।

कारण उही हो जल्नु । तर संजनालाइ थाहा थिएन के कारणले उनलाई संगै लान नखोज्ने भनेर । यस्तो गर्दागर्दै दिनहरु बित्छन । उनि SLC. पास गरेर फ्री भएर बसेकी थिइन् ,अचानक उनलाइ एउटा फोन आउछ । उनको मेडिकलमा नाम निक्ल्यो रे भनेर एक्कासी एस्तो सुन्दा उनि खुसि पनि हुन्छिन ,अनि नर्भस पनि । किनकि उनि आमालाई छोडेर अहिलेसम्म बाहिर कतै गएर बसेकी थीइनन , सिवाय आफ्नो मामा माइजुकोमा । उनि अलि छिटो आतिने गर्थिन ...उनको स्वभाब नै तेस्तो सानो कुरा होस् या ठुलो आत्तिने उनको बानी थियो । उनको अर्को चाखलाग्दो स्वभाब कसैको मुखमा राम्रोसंग नहेरी कुरागर्ने गर्थिन ,अचम्म लाग्दो । तेस्को केहि समयपछि काठमान्डूमा पढ्न जाने निश्चित भयो । त्यहा उनको आफ्नै नातेदारहरु बस्ने गर्थे । जब उनको हिड्ने बेला भयो आखाभरि आसु टिलपिल गर्न थाल्यो अनि रुन थालिन । अल्मलिन थाले उनका खुट्टाहरु , काम्न थाले ओठहरु । तर उनको आमाबुवा देवीदेवताको अबतारनै हुनुहुन्थियो । संजनाको बुवा भने बाहिर हुनुहुन्थियो तरपनि बुबाको आखाको तारा थीइन उनि । हिड्ने बेलामा उनको आमाले राम्रोसंग सम्झाइ बुझाई भबिस्य राम्रो हुन्छ ,जिन्दगीमा केहि गर्नुपर्छ भनि सम्झाउनाले उनि राजी हुन्छिन र उनको अलि आत्मबल बढेको जस्तो हुन्छ । एउटा दृढ आत्म्बिस्वासका साथ् आसु पुछ्दै बिदाभै छुट्टीन्छिंन ।



अब सुरु भयो संजनाको जिबनको दोश्रो यात्रा । उनि बसमा चडिन आसु बन्द भयो ..उनि बाहिरको उज्यालो अनि हरियो डाडाकाडा हेर्दै मन भित्रभित्र भबिस्यको मिठो सपना देख्न थलिन । तर यता जब छोरिको बिदाई भयो आमाको सहस्र आसुधारा थामिएन । जतागयो छोरि बाहिर छोरी भित्र छोरीको अनुहार सम्जिदै रुन थालिन । दिन् ढल्क्यो उनको वोरिपरीका छर छिमेकी आएर सम्झाए पछि चित्त बुझाई मन बाधी भान्सा भित्र लाग्नु भयो । तेसको भोलि पल्ट छोरीले फोन गरिन । छोरी भन्छिन- 'आमा' अनि आमा भन्छिन -'छोरी मेरो छोरी सन्चै छौ ...?' अरु बाक्य फुटेन , फेरी रुन सुरु ।.अनि संजनाले आफ्नो वृतान्त सबै सुनाइन ।

उनि आफ्नो बुवाको आमा (हजुरमुमा )को मा बस्थिन ..केहि सदस्यहरु पनि थिए । संजनाको मनमा एककिसिम रमाइलो पनि लागेको थियो र केहि नरमाइलो पनि । घर सम्झिने गर्थिन ...उनि कम बोल्ने देखेको काम गर्ने नत्र चुप्प बस्ने स्वभावले सबैको प्यारी बन्न पुगेकी थिन । उनी झुट र असत्य कुराको बिरोध भने नडराई गर्ने गर्थिन । एबम रितले दिनहरु बित्दै गयो । उनि फर्म भर्न हस्पिटल जान्छिन , नया नया साथीहरु संग परिचय हुन्छ । सर मेडमहरु संग भेटघाट गरि नया अनुभबका साथै घर फर्किन्छिन त्यो दिन पनि तेत्तिकै हुन्छ । यसको केहि लामो अन्तरालमा बसमा हिड्दा हिड्दै एकजना युवक संग भेट हुन्छ । .ति युबकको संजनाको डेरा भन्दा १० घर टाढा घर रहेछ । दिल श्रेष्ठ उनको नाम ।मुवा र बुवा लगाएत ७ जना दिदि बहिनिहरु रहेछन । कुनै प्रोजेक्टमा काम गर्दो रहेछ । दिनहरु बित्त्दै जाँदा बसमा उही युबकसंग तारन्तार भेट हुन थाल्छ । दुवैको एकै समय हुनाले चिनाजानी बढ्दै जाँदा दुवै एउतै सिटमा बसेर गफगर्दै यात्रा गर्न सुरु भयो । संजना धेरै नबोल्ने सोधेको उत्तर दिने गर्थिन । एकपटक संजनको धरि टिकटको पैसा तिरिदियो । संजनालाई अलि कस्तो कस्तो लाग्यो । ...तेस्पछि दिल कुरा गर्दागर्दै प्रेम प्रस्ताब राख्न पुग्छ ।.संजनालाइ अचम्म लाग्छ र केहि नराम्रो पनि लाग्छ । एक्कासी कति छिटो कुरा गरेको होला भन्दै मन मनमा भुतभुताउछिन अनि जवाफ दिन्छिन -'मेरो इन्गेज भैसक्यो ' । यो सुनेर दिलको अनुहार अमिलो रातो हुन्छ । तेसपछीका दिन हरुमा दिलले संजनालाइ देखेपनि नदेख्याझैँ गर्न थाल्यो , बोलचालै हुन छोड्यो । लोग्ने मान्छे कति स्वार्थी हुन्छन हँ ? अचम्म लाग्यो उनलाई । समय बित्त्दै गयो र १३ महिनाको अन्तरालमा मेडिकलका साथीहरु संग पिकनिक जाने कुरा भयो । दक्षिणकालिका मन्दिर भन्ने ठाउमा ४२ जना लगभग साथीहरु सहित भोलिको पिकनिक टुर जान निकै हर्षित र हतास गरेकी थिइन संजना । उनले राम्रो ड्रेस छनौट गर्न थालिन । जाने खुसीले गर्दा होला राम्रोसंग सुत्न पनि सकिनन् । बिहान ६ बज्यो उनि उठिन पुतलिसड़कमा सबैजना जम्मा भएर दक्षिण कालिका मन्दिर तिर लागिन ।

निकै रमाइलो र खुसीले सबैको अनुहार चंम्की रहेको थियो , रंगीचंगी कपडामा ठाटीएको थियो हाम्रो समुह । त्यहाँ पुगे पश्चात सबैजना आफ्नो आफ्नो काममा मस्त हुन थाले र खाना पकाउनको लागि कुक पनि लगिएको थियो तेसैले खासै धेरै काम नभएपनि सबैजनामिलि कुकलाइ सहायता गर्यौं । ..पानि सिमसिम पर्दै थियो , हरियो चौर रमणीय र हराभरा देखिएको थियो । पानि परेकोले कोहि रुखको फेदमुनि कोहि पाल भित्र गरि बसेका थियौं तर कुक बिचारा हल्का पानीले भिजिराखेको थियो । तेतिबेलै सरले भन्नु भयो- 'सबैजनाले उसलाई पालैपालो छाता ओडाउने ' । अनि सबैजनाले साथ दिएपछि ..अब आउने पालो संजनाको थियो ..मिउजिक बजेको थियो कोहि नाच्दै थिए कोहि गाउदै थिए । कोहि कोक गिलासमा खनाउदै थिए ..त्यो देखेर संजनालाई कोक खाउ खाउ भयो येत्तिकैमा सबैजनालाई कोक बाडिदै आयो अनि संजनाले पनि लिइन । नजिकै 2,४ जना अलि उछ्रिन्खल टाईप्का केटाहरु पनि देखिन्थे । संजना लागि गिजाउने गर्थे ..कोक पिएर संजना कुकलाई छाता ओढाउन जन्छिंन । .गएर छाता मात्र के उचालेकी थिइन उनको हातखुट्टा काम्न थाल्छ ।

थचक्क भुइमा बासिन फेरी उठ्न खोज्छिन सक्दिनन , उनि धन्धनाइ रहेकी थिइन् । पछि गएर छाता पनि समाउने स्थितिमै पुगिनन अनि यसो पछाडी आखा तानेर हेरिन सबै हासेको देखिन ....कुरो चाही के रहेछ भने संजनाको कोकमा बियेर मिसाएको रहेछ । पछाडी देखिन 2,४ जना केटाहरु खुब हास्दै उनलाई गिजाउदै मजा लीदै मुस्काउदै गरेको देखिन । त्यो थाहा पाएपछि संजना झनक्क रिसाइन अनि चुप्प बसिन् । सर मेडमले कागतीपानि दिएपछि उनि अलि ठिक हुन्छिन । हामी धेरै जना केटिहरुलाई झुक्याएर खुवाएको रहेछन । त्यो दिन तेसरी नै रमाइलो गरेर बित्यो । ..तेसपछी उनको त्यो सोझो अनि सुन्दरता देखेर सबै मोहित भै धेरैले उनलाई प्रेम प्रस्ताब राख्छन तर उनले कसैको प्रस्ताब लाइ स्वीकार गर्दिनन । हासो रमाइलोमै घर फर्किन्छन सबैजना । त्यो दिनको ठिक १५ दिन पश्चात एउटा साँचो र सत्य घटना घट्यो । . साथी लक्ष्मी क्लासमा उपश्थिति भैनन ..,,,संजनाको मनमा खिन्नता भयो मिल्ने साथी संगै बस्ने साथी नआउदा ।

अर्कोदिन एक्कासी पुलिस आउछ पुछताछ्को लागि .। संजनालाई पनि सोधिन्छ लक्ष्मीको बारेमा , यस्तो कुराले संजना निकै आतिन्छिंन जबकी संजना यो कुराबाट अन्जान थीइन कि लक्ष्मीको मिर्त्यु भैसकेको छ ।लक्ष्मीलाई उनकै श्रीमानले दुधमा बिष खुलाई मारेको भनेर पोस्ट मार्टम रिपोर्टबाट खुलेछ । उनको मुखमा टुक्राटुक्रा रुमाल कोचिएको अवस्थामा भेटियो रे भन्ने सुन्नमा आयो । यो कुराले संजनालाई निकै आघात पुग्छ ..धेरै दिन सम्म संजना दुखि हुन्छिन रुन्छिन पनि ...केहि समयपछि परिक्षा आउछ । परिक्षा दिएको २ महिना पछि रिजल्ट पनि आउछ । उनि फस्ट डिभिजनमा पास हुन्छिन । यो खबेर सुनेर उनि बेस्सरी खुसि हुन्छिन र आमा बुवालाई पनि खबर सुनाउछिन । खुसीले सबैको सिमा नै रहन्न अनि लगत्तै उनले काम सुरु गर्छिन । तर यता घरमा संजनालाइ माग्ने केटाको घुइचो हुन्छ तर संजनाको मन बिहा नगर्ने हुन्छ । उनि अलि बढी पढ्न काम गर्न चाहन्छिन ....तेही समयमा उनले आफ्नो बुवालाई धेरै फोटोहरु पठाएकि हुन्छिन त्यो फोटो मध्ये एक फोटो सुगा कलरको कुर्था लगाएको हातमा टोकेको स्याउको फोटो उनको बुवा संगै कामगर्ने साथीले खुब मन पराउछ । त्यो कुरा बुवालाई थाहा हुदैन .... एकदिन अचानक काम गर्दागर्दै फोन आउछ । फोन रहेछ उनको बुवाको अनि खुसि हुदै बोल्छिन बुवाको सारै पुलपुले छोरी प्यारी छोरि कुरा गर्दागर्दै बुवाको अवाज फरक हुन्छ बुवाको स्व बाट अर्को स्वरमा अचम्म मान्दै हेलो हेलो भन्दै कुरा गर्छिन । गर्दागर्दै बुवाको साथी पो हुनुहुदो रहेछ । बुवाको साथीको नाताले उनले सत्कारले मामा नमस्कार भन्छिन उताबाट -'भाग्यमानी हुनु ,नानि मलाई सुकुटी खानु मनछ पठाई दिन्छौ ' भनेर सोध्यो । यो सुनेर संजनाले हस भैहाल्छ नि भन्दै फोन राख्छिन । एक्कासी केहि समयपछि बुवाको साथी नेपाल घुम्न आउदैछन भन्ने थाहा हुन्छ ..

.साथीले संजनाको बुवासंग म नेपाल जादै छु छोरीलाई केहि पठाउनु छ भने भन्नु म लागि दिन्छु भनेर भनेका रहेछन । तर संजनाको बुवाले अस्ति भर्खरै पठाई सके भन्दा पनि उनले छोरीको लागि कुर्था बोकी नेपाल आउछन । संजनाको आज पुरा ३ वर्ष पुग्छ घरबाट छुटेको ...मनमा रटना लिदै काम गर्दै तेतिनै बेला फोनको घन्टी बज्छ । संजनाले हेलो भन्छिन , बुवाको साथीले कुर्था लिएर आएको छु कहाँ भेट्छौ भनि सोधे । कहाँ हुनुहुन्छ भनेर सोध्धा उसले म न्युरोड पिपल बोटमा छु भने । संजनाले भनिन - म काम सकेर आउछु । उनलाई एक्लै जान अलि अफ्ठेरो लाग्छ अनि एकजना संगै कामगर्ने दिदिलाइ लग्छिन । तर त्यो दिन कारण बस मामा आउन सक्नु हुन्न । अर्को दिन फोन आउछ मेरो व्यस्तताले गर्दा आउन सकिन सरी ..भने पछि भोलि पल्ट फेरी जान्छिंन दिदीलाई लिएर ।...उनि जानु भन्दा पहिला नै मामा उहा पुगी सकेको हुनुहुँदो रहेछ । बुबासंग काम गर्ने साथी भन्या भएर बुढोमान्छे होला भनेर मामा साइनो लगाएको त भर्खरको २८ बर्षको युबक देखर अचम्ममा परिन ।

( बाँकी कथा अर्को अंशमा )....
ब्लग चौतारी

नूर एल आइन (कथा )

ब्लग सम्प्रेषक : कृष्णपक्ष थापा



गलिलको सामुद्रिक किनार भएर बग्ने चिसो बताससँग ठोकिएर नूरका कपालहरु छालजस्तै तरंगित भैरहेका थिए । बाक्लो आँखीभौं र परेला भएको सुन्दर आँखाको चित्र ट्याटु खोपिएको थियो उसको बायाँ पाखुरीमा, पृष्ठभूमिमा थियो आगो ओकलिरहेको सूर्य । यसबाट सहजै अनुमान लगाउन सकिन्थ्यो नूर पुरै हिप्पी स्वभावकी थिई ।  

 समुन्द्र जस्तै गहिरा नीला तर चञ्चल थिए नूरका आँखाहरु । अरबी भाषामा नूर भनेको ज्योति हो, उसले पहिलो भेटमै बताएकी थिई । र मैले उसकै भाषामा यो गीत गाउन जानिसकेको थिएँ

खबिबी खबिबी या नूर एल आइन, या सकिन खयाली
(प्रिय ! तिमी मेरो आँखाको ज्योती हौ, जो कल्पनामा सधैं छाइरहन्छौ )

मैले यसो भन्दा नूर अलिअलि मुस्काउथी र अलिअलि लजाउथी । उसको  मुस्कान जोर्डनबाट बगेर इजरायलको गालील सागर भेट्न आइपुगेको यार्दन नदीजस्तै पवित्र र निस्छल थियो, कम्तिमा मलाइ यस्तै लाग्थ्यो । मलाइ यो पनि लाग्थ्यो कि यो सुन्दर भूमिको छातीभित्र लुकेको रणसंग्रामको कथा र रगतको इतिहाससँग उ बिल्कुल अनभिज्ञ छे, तर त्यो गलत थियो ।

हामी यतिखेर इजरायलको उत्तरी भूभागमा अवस्थित तिबेरिया जिल्लाको 'एल हाम्मा' मा छौँ । सिरिया , जोर्दान र इजरायल तीन राज्यहरुको मध्यभागमा थियो यो सानो गाउँ, उहिल्यै निर्जनीकृत भएको । यसलाई गाउँ पनि के भन्ने ? वस्ती भन्दा पनि यहाँ पार्क र उद्यान हरु थिए, पर्यटकीय रिसोर्ट थिए र थिए खण्डहर झैं देखिने केही भत्किएका घरहरु .. गैरर्फौजिकृत यो इलाका एल खाम्मामा आइपुगेपछि नूर एकाएक भावुक भई - कुनै कालखण्डमा युद्धको चोटले घाइते भएका निर्जन खण्डहर तिर इशारा गर्दै उसले भनी - यो मेरो पुर्ख्यौली गाउँ हो, यहाँ मेरो पुर्खाको रगत बगेको छ । आउ नियालेर हेर, इजरायली र सिरियाली सैनिकले कुल्चेका बुटका छापहरु ताजै छन ।  

--------------------

कुन संयोगमा कहाँ कसरी यो अरब युवतीसंग भेट भयो यकिनका साथ् भन्न सक्दिन तर यो सत्य थियो कि उसंग भेटेपछि यो परदेश वसाई या मेरा दिनहरु धेरै सहज बनेका थिए ।

पटक पटक रक्तपातपूर्ण संघर्ष र युद्धको रणभूमि बनेको अल- खाम्माका बासिन्दाहरु कसरी विस्थापित भए ? उसले किम्वदन्तीजस्ता लाग्ने इतिहास सुनाइ । कुनै समय अल खाम्मा प्यालेस्टाइन राज्य अन्तर्गत पर्ने अरबी गाउँ थियो । यहुदी र क्रिश्चियन नगन्य थिए । इजरायल सिरियाको संघर्ष चर्कदै जाँदा सिमानाको यो वस्ती पटक पटक किचियो ।  १९४९ पछिको युद्धविराम र सन्धी पश्चात यो इजरायलमै गाभिएपनि सिरियाले पुन कब्जा जमायो र इजरायली घुसपैठ प्रतिबन्ध गरयो । १९६७ मा इजरायलले फेरी यस क्षेत्र अतिक्रमण गर्यो र आफ्नो बनायो ।

इजरायल सिरियाबीच अनेक  संघर्षहरु भए, सन्धीहरु पनि भए । पटक पटक दुवै तर्फका सैनिकहरुले युद्ध विरामका सन्धीहरु भंग गरे घुसपैठ गरे र आआफ्नो स्वामित्वको दावी गरे । अल खाममाको देश कहिले प्यालेस्टाइन लेखियो, कहिले सिरिया त कहिले इजरायल  । यही प्रक्रिया दुखेपछि सैयौं घरपरिवार विस्थापित भए र अरबवस्ती निर्जन भयो ।

------------------

आज संयुक्त राष्ट्र संघद्वारा गैरफौजिकरण गरिएका क्षेत्र अन्तर्गत पर्थ्यो यो भुमि ।जहाँ न इजरायल न सिरिया कसैका तर्फबाट पनि हतियारसहित सैनिक या गैरसैनिक घुसपैठ प्रतिबन्धित थियो । संयुक्त राष्ट्र संघीय संघर्ष विराम पर्यक्षवेक्षण संगठन (UNTSO ) को जागिरेका रुपमा बिभिन्न देशका शान्ति सेना र कर्मचारीहरु थिए । दुइ बर्ष देखि निशस्त्र कार्यरत हुँदा म आफू पनि नेपालको सैनिक अधिकृत हुँ भन्ने बिर्सिन थालिसकेको थिएँ । यस क्षेत्रको सुरक्षा र सम्पदाको संरक्षणार्थ यी दुइ देशबीच भएको सन्धीका प्रत्येक बुँदा र अनुच्छेद हामी निशर्त पालना गरिरहेका थियौं ।

विदेशमा पट्यारलाग्दा कुराहरु धेरै थिए, जहाँ पनि एक्लै भएजस्तो । ठुला शपिंग मल, भिडभाडयुक्त बसपार्क र ट्रेन स्टेशन या हजारतिर पुगिने चौबाटोहरु नै किन नहोउन त्यहाँ ओइरिने मानिसको भीड र ठोक्किन आउने पत्येक आँखाहरु बिराना लाग्थे, चिसा लाग्थे ।

'नूर' भेटिए पछि अलिकति रंग थपियो, खुशी थपियो । गुम्सिएर बसेका मनका भावनाहरु निर्धक्क पोख्न र विश्वास गर्न सक्ने साथी भेटिएजस्तो लाग्न थालेको थियो । मेजरको बारम्बारको चेतावनी बाबजुद पनि म धेरै पटक व्यस्त समय चोरेर निस्कन थालेँ ।

इजरायल अरब संघर्षको इतिहास निकै पुरानो र अनन्त थियो, नूरसँग संगत गरेपछि मेरो यी बिषयहरुमा दिलचस्पी बढ्न थाल्यो । एउटा सैनिक डिमिलिट्राइज जोनमा के गरेर बस्छ ? टहल्नु, संगीत सुन्नु या किताब पढ्नु ... विकल्पहरु यस्तै थिए । बाहिर निस्कदा कहिलेकाहीं नूर भेटिन्थी, तर अधिकांश समय आफ्नो पथप्रदर्शक म आफै भएर हिड़थें ।  इतिहासका बिभिन्न कालखण्डमा इजरायलले आफ्नो स्वाधीनताका लागि रचेका युद्धका अवशेषहरु मैले हिड्ने बाटोमा अझैसम्म ताजा भेटिन्थे । लामो गृहयुद्धको चपेटामा पिल्सिएको मेरो देश नेपालबाट आएको म, अनुभूतिहरु समान थिए तर प्रकृति र परिवेशमा व्यापक  पृथकता थियो ।

उत्तरमा गोलान हाइट्स देखि इलात सम्म भ्रमणका अवसरहरु कति निस्किए कति, नूरसंग नजिकिएपछि..। कहिले हामी संसारकै होचो स्थान मृत्सागरमा पौडी खेल्न पुग्थ्यौं त कहिले तेल अभिभका पार्कहरुमा बार्बिक्यु पोलेर खान्थ्यौं । उ हामी संग घुलमिल भैसकेकी थिई, बिस्तारै नेपालीहरुको जमघटमा पनि उपस्थित हुन थालेकी थिई ।

इजरायलमा अरब जनसंख्या निकै कम छ र ती शिक्षा, प्रशासन, राजनीति लगायत हरेक क्षेत्रमा पछि परेका छन । यदाकदा तिनको बिरोधमा आवाज उठ्छन र सेलाउछ्न । आफूहरुमाथि विभेदकारी नीति र व्यवहार भएको तिक्त अनुभव थिए नूरसंग, तर मलाइ यस्ता बिषयमा कुनै सरोकार थिएन । उसलाई भेट्दा त म यो पनि बिर्संथें कि यो देशमा तनाव छ, संघर्ष छ र अन्त्यहीन युद्धको शृंखला निरन्तर चलिरहेको छ । साच्चै एउटा मान्छेको मायाले कति फरक पर्दोरहेछ ? नूरको साथ् मेरा लागि त्यस्तै भएको थियो ।

साँझ बिहान वैरागी धून गाउदै बहने यी चिसा वतासहरु अब बिल्कुल बद्लिएका थिए, तिनको श्पर्श शितल र मिठो लाग्न थालेको थियो । हिजो पराइ र बिरानोजस्तो लाग्ने यो देशप्रति नजानिँदो आत्मियता बढ्न थाल्यो, हरेक स्थानहरु सुन्दर र रमणीय लाग्दै गए । हामी कहिले रमणीय हिमाल हार्मोनमाथि केबलकार चढेर लेबनान र सिरियालाइ चियायौं त कहिले इलात समुन्द्र भित्र भित्र सबमराइनबाट जोर्दानको इलाका नजिक पुग्यौं । किन्नेरेत तलाउ, याफो किनार, तेल अभिभ शहर या  पवित्र जेरुसेलम आदि अनेक स्थानहरु र त्यहाँ बिताएका क्षणहरु हाम्रो समयको क्यालेन्डर र स्मृतिका पानाहरुमा थपिदै गए । युद्धका संकेतहरु, पदचाप या आवाजहरु अहँ कहिकतै सुनिएन या तिनको आभास सम्म भएन ।

------------------

तर बर्षको अन्त्यतिर अरब इजरायल संघर्ष पुन एकपटक चर्कियो । इजरायली सैनिक कारवाहीमा हमास लडाकु कमान्डर महम्मद अल जब्बारी मारिएपछि दिनदिनै सैयौंको संख्यामा रकेटहरु प्रहार हुन थाले । ठुलै युद्धको संकेत देखा पर्यो, इतिहासमै पहिलोपटक प्यालेस्टाइनबाट निशाना लगाइएका लांग रेञ्ज क्षेप्यास्त्र इजरायलको केन्द्रभाग तेल अभिभ र जेरुसेलम सम्म आइपुगेका थिए ।  यी दिनहरु मैले दश बर्षे गृहयुद्धको चपेटामा पिल्सिएको आफ्नै देश नेपाल सम्झिएँ, मुठभेड र भिडन्तका समाचारहरु ताजा भएर आए ।   विष्फोटनको आवाज होस् या बारुदको पिरो गन्ध ह्वास्स ठोकिँदा मलाइ कालिकोटको सम्झना हुन्थ्यो । रोल्पा र रुकुम जस्तै एउटा नमिठो घाउ छातीभित्र बल्झिएर आउथ्यो ।

अत्यन्त विकसित प्रतिरक्षा संयन्त्रका कारण त्यसले इजरायलमा खासै क्षति भने गर्न सकेको थिएन । पहिलो कुरा रकेट प्रहार हुने बितिकै सम्भावित खतरायुक्त इलाकामा साइरन बज्थ्यो र त्यहाँका मानिसहरु आफुलाई सुरक्षित स्थानमा लुकाउथे । घर घर र सार्वजनिक स्थानमा समेत बंकर निर्माण गरिएका थिए । अर्कोतिर सैयौंको संख्यामा रकेट प्रहार भएपनि स्वाचालित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ती भुइमा खस्न नपाउदै आकाशमै ध्वस्त पारिरहेका हुन्थे ।

यसर्थ अबको निशाना इजरायल भित्रै रहेका अरब समर्थकहरुबाट आत्मघाती आक्रमण हुन सक्छ भनेर मिडियाले त्रास छर्न थालेका थिए ।  सार्वजनिक यातायात र ठाउँ ठाउँमा बम राखिएको हल्ला फैलियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा, यु एन महासचिव बान की मुन स्थलगत भ्रमणमा आए, यद्यपि युद्धविराम हुन भने सकेन । छिन छिनमा बज्ने साइरन संगै आइमाई केटाकेटीको चित्कार सुनिन्न्थ्यो । जीवनप्रति कत्रो मोह ? गुड्दै गरेको गाडी सडकमै रोकेर मानिसहरु भागिरहेका हुन्थे । मृत्युको भय  चौतर्फी फैलिएको थियो । शहरमा सम्भावित दुर्घटनाको भयावह चित्र कोरिएको थियो ।

-------------------------

पारिलो घाम लागेको दिन, सडकको छातीमा सवारी र मानिसको घुइचो बढ्दै थियो । इजरायलको मुख्य शहर तेल अभिभ व्यस्त थियो ।

अचानक विष्फोटको आवाज र कोलाहल गुञ्जियो । क्षणभरमै प्रहरी, पत्रकार र सर्वसाधारणको भीडले सडक भरियो । रक्तमुछेल घाइतेहरु बोकेर एम्बुलेन्स कुद्न थाले । सार्वजनिक बसमा बम पड्काइएको थियो । विष्फोट गराउने आतंककारीको व्यापक खोजी भयो ।  उता प्यालेस्टाइनका अरब टेलिभिजन च्यानलका  समाचारहरुमा बिजयोत्सव मनाएझैँ खुशी प्रकट गरेको  देखियो । आतंककारीहरुले अब यसरी नै इजरायलको चोक चोक बम पड्काइन्छ भन्दै आक्रोश ओकल्न भ्याए ।

भोली बिहानै आतंककारी पक्राउ परेको खबर आयो । म छाँगाबाट खसेजस्तो भएँ, उक्त बम विष्फोट गराउने आततायी अरु कोही नभएर नूर' थिई  । त्यही नूर जो संग मैले यो देशमा अविश्मरणीय र अमुल्य समयहरु संगालेको थिएँ । समुद्रको किनारमा प्रेमका अनेक संकेतहरु कोर्ने नूरका ती कोमल हातहरुले कसरी बम बोकेर हिड्न सके ? शहरमा उभिएका यी बालुवाका घरहरूजस्तै भएँ म - निष्प्राण ।

दोहोर्याई दोहोर्याई अखबारमा आँखाहरु पोखिए - हो उ नूर नै थिई, छातीभित्र विद्रोहको कत्रो राँको बोकेर हिडेकी रहिछ उसले ?  तर यति लामो संगतमा पनि किन मैले उसभित्र त्यो बिद्रोह पहिल्याउन सकिन, अनुमान सम्म गर्न सकिन ? किन मैले उसमा केवल प्रेम मात्र देखिरहें ?

यही प्रश्नले म धेरैबेर चिमोटिएँ ।


कृष्णपक्ष,
इजरायल

मेरा अरु कथाहरु पढ्न कृष्णपक्षको ब्लग (http://blog.krishnathapa.com)   मा जान सक्नुहुन्छ  ।




ब्लग चौतारी

अदृश्य प्रेम, सीता बराल

ब्लग सम्प्रेषक : सिता बराल
फेसबुक खोल्ने वित्तिकै प्रतापले पठाएको फ्रेण्ड रिक्वेस्ट देखेर शर्मिला एकछिन टोलाएर बसिन । उनलाई खुशिको सिमा नै भएन । मनमा छायाँ भएर रहेका प्रताप शर्मिलाको विहे पछि विस्तारै टाढा भएका थिए । शर्मिलाले कुनै न कुनै माध्यम बाट प्रतापका खबरहरु पाई रहेकी थिईन । प्रतापले आफ्नो जिन्दगीको महत्वपूर्ण दिन बिहेमा उनलाई निम्ता पठाएनन् । शर्मीलाको अफिस नजिकैको बोडीङ्ग स्कूलमा पढाउन आउने गरेका प्रतापले स्कूल छाडेर विदेश गईसकेको कुरा उनले केही महिना पछि मात्र थाहा पाईन । विस्तारै दिनहरु वित्दै गए । शर्मीला त्यस ठाँउमा रमाएर बस्न सकिनन । केही साथीहरुको सल्लाहमा उनि विदेश लागीन । शर्मीलालाई प्रतापले गरेको ब्यवहारले दुखेको भित्रीमन आज फेरि बल्झीयो । वितेका दिनहरुलाई बर्तमानमा कल्पदै प्रतापको रिक्वेस्ट एसेप्ट गरिन र तुरुन्त म्यासेज पठाइन । एकाउण्टमा भएका सुबिधाहरु प्रयोग गर्दै शर्मिला र प्रताप धेरै जसो फेसबुक अनलाईनमा कुरा गर्न थाले । दुबैजना देश बाहिर भएको चार पाँच वर्ष वितिसकेका थिए । परदेशमा भोग्नु परेका दुःख र पिडाहरुलाई लुकाउदै, आँखाबाट आसु झार्दै रुन्चे स्वर दबाउदै म सन्चै छु र यहाँ मेरो बारेमा चिन्ता लिनुपर्दैन भन्नुपर्ने बाध्यता दुबै जनाका एउटै थिए । अब उनीहरु दुबैले एकअर्कालाई पिडा विसाउने चौतारिको रुपमा पाए । दिनभरिका आफ्ना दुःख सुखका कुराहरु गरेर मन हल्का बनाउन पाउदा उनिहरुको विदेशी वसाई केही सहज महशुस गरेका थिए । छुटिको दिन दिनभरि नै जसो दुबै जना वितेका सबै कुराहरु गरिरहेका थिए । प्रतापले शर्मीलालाई आफुले एकदमै मन पराएका, शर्मीलाले कुनै तर्फ बाट पनि कुरा ननिकालेको हुनाले आफुले बिहेको प्रस्ताव राख्न नसकेको, प्रतापले पढाउने स्कूलको बाटो गरि शर्मीला अफिस जान लागेको थाहा पाएर उनलाई विर्सनको लागी प्रताप विदेश हिडेको कुरा खुलेर गरे । शर्मीलाले प्रतापलाई विगतका कुराहरु विर्सीएर वर्तमानमा आ आफ्नो कर्तव्य पुरा गर्न तिर लागौं है भन्दै सम्झाउदै थिईन । तिम्रै सम्झनामा आज सम्म बाँचिरहेको छु, म तिमीलाई धेरै माया गर्छु जस्ता प्रेमका शब्दहरु वर्षिइरहन थाले । प्रतापका कुराहरुले शर्मिलाको मनमा दविएर रहेको प्रेम आँसु बनेर आँखाबाट बगीरहे । प्रताप आफ्नो सामुन्ने भएको भए आज उनीहरु एकअर्कालाई अंगालेर आफ्ना मनका पिडाहरु पखालेर शान्त पार्ने थिए होलान । निष्ठुरी समयले सात समुन्द्र पारी पनि उनिहरुलाई साथ दिएन । साथीहरुको बिचमा एक्लो महशुस गरेका प्रतापले आज आफ्ना मनका कुराहरु एकोहोरो गरिरहदा शर्मीलालाई कता कता डर लाग्यो । लामो समयसम्म दुखेर खाटा वसिसकेको घाउ फेरि कोटीन थालेपछि त्यसले भयावह स्थिती ल्याउन सक्छ । आज म संग प्रतापको सम्बन्ध बढ्दै जादा यसले सामाजिक रुपमा नराम्रो असर पार्छ । एउटा पारिवारको बन्दै गरेको सुन्दर भविष्य भताभुङ्ग पारिदिन्छ । अब मैले विस्तारै प्रतापबाट टाढा हुनु नै पर्छ । मेरो कारणले प्रतापको परिवारको खुशी खोसीन हुदैन भन्ने सम्झदै लामो समयपछि फेसबुक मार्फत भेट भएर आफ्ना मनमा प्रताप प्रति रहेको माया पोखेर मन हल्का गराईदिने समय मिलाईदिएकोमा भगवानलाई धन्यबाद दिदै अबका दिनमा प्रताप संग कहिल्यै सम्पर्कमा नआउने निर्णय गरि मनभरि प्रतापको माया संगाली आँखा भरि विदाइका आँसु बगाउदै शर्मीलाले कहिल्यै नखोल्ने गरि फेसबुक एकाउण्ट बन्द गरिन ।
ब्लग चौतारी

निला जीवित फर्की

ब्लग सम्प्रेषक : दिप्स शाह



कथा-- निला जीवित फर्की

इजरायलिहरु भेट्हुँदा, बिदा हुँदा अङालो मारेझैँ गरेर गाला जोर्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनिहरुको यस्तो संस्कारले छक्क मात्र परिन निला सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नबिन(उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे निला सन् २००८ मा। मायालु लोग्ने र दुई लालाबाला छोडेर इजरायल उडेदेखी निलाको आँखा कैयौँ रात बन्द भएनन् त महिनौँ ओभाएनन् पनि। तर बानी शायद निरन्तरताको उपज होला। बिस्तारै अभ्यस्त हुँदै जान थालेकी निलालाई इजरायली हरुको यो अन्ङालो मार्दै गाला जोर्ने परम्पराको भूतले कस्तो घाँटी उँट्ठ्याए झैँ हुन्थ्यो। नेपालमा विवाहित महिलाले त्यस्प्रकारको स्पर्श भनेको लोग्ने बाटमात्रै अनुभब गर्नेहो। उमेर सङ्गै बाबा, दाजुभाइहरु पनि स्पर्शित अनुभब र सामिप्यबाट बिस्तारै अलग्गिँदै सूदूर लाग्ने संस्कार बाट आएको निलाले सुरुसुरुको त्यो अङ्गाले परम्पराबाट आजित भएर नबिनलाई पनि सुनाएकी थीई। निला भन्दा एक लेभल माथिको शिक्षा आर्जन गरेको नबिनले निर्धक्क भनेको थ्यो," ह्या! निला! तिमी कती ट्रडिस्नल थिन्किङ राख्छौ! त्यस्तो सामान्य कुरामा के नानाभाँती सोचेको त!" नबिनलाई नै पच्छ भने आ होस् न त! भनेर उसले आफुले स्याहार्ने इजरायली बुढीआमैका सन्तान कसैसँग पनि त्यो गाला जोर्ने र अन्ङालोमार्ने कुरामा आपत्ति जनाइन। अझै भनुँ बिस्तारै बानी पार्दै गई।

घर छोड्नुको पीडा कम गर्न कहिले ठुलो स्वरमा टिभी खोल्थी त कहिले इजरायली बुढीको नङ काट्दै , कपाल कोर्दै एक्लै मुस्कुराउन खोज्थी। एक एक दिन गन्दै क्यालेन्डर पल्टाउँथी। इजरायली तलबी सिस्टम अनुसार प्र्त्यक अङ्रेजी महिनाको १० तारिखमा तलब पाएको रात झनै सुत्त्दिनथी। हतार हतार बुढीआमैलाई खुवाइपियाइ गरी बिस्तारामा लडाईंदिएर आफ्नो बिस्तारामा थपक्क बस्थी र सय डलरको आठओटा नोट पल्टाइपल्टाइ हेर्थी र फेरी गन्थी अनी फेरी गन्थी। अनी सिरानीबाट नबिन र बच्चाहरुको फोटो निकालेर एक्लै वार्ता गर्न थालथी। "नबिन! आज तलब पाएँ नि। अब शनिबार तेलअभिब गएर ट्रान्स्फर गर्छु। हेर यही पैसाको लागि म यहाँ आएँ। हामी छुट्टीयौँ तर यही पैसा हात परेको दिन म कत्ती खुशी हुन सक्दिन। तिमीसङ्ग अलग्गिएर महिनाभरी यो बुढीको गु सोरेर कमाएको यो ८ पत्ता सयडलरको नोट ले तिम्रो सामिप्यता, तिमीप्रतिको प्यास बुझाउन नसक्दो रहेछ नबिन! म त यही ६ महिनामै कायल भैसकेँ ! आई मिसिङ्ग यु!" भन्दै हातको डलरको बिटो एकातिर पन्छाएर नबिनको फोटो भिजुन्जेल क्वाँ क्वाँ रुन्थी। खल्तिबाट मोबाइल निकालेर मिस कल दिन्थी। फोन पनि कती गर्नु एउटा कलिङ्ग कार्ड किन्यो ५० सेकेल जान्छ ,भनेको लग्भग नेपाली १००० रुपैयाँ । कार्ड किनेपछी सक्सक लागेर चुस्चुस कल गर्दागर्दै एकैदिनमा सकिन्छ। उफ्फ! एकहजार एकैदिनमा फोन गरेर सक्नु! त्यतिले त दुइटै बच्चाको एक महिनाको स्कुल फी तिर्न पुग्छ भन्दै कुँडिन्थी ।

बिस्तारै बानी पर्दै गयो । भनुँ पार्दै गई। भित्र भने हार्दिकताको ह पनि नहुने जस्ता लाग्ने यि इजरायलीहरु बाहिर भने कस्तो लोलोपोतो माया गर्छन्\। देखेर निला वाक्क हुन्थी। साँच्चै भनुँ भने घोर इर्श्या गर्थी। आफ्नोभने उता आफ्नै लोग्नेको हात समेत समातेर कहिल्यै बाटाघाटामा हिँद्न पाएको होइन। एसो कहिले कतै जान पर्यो भने घर बाट सङ्गै निस्केपनी दुइपाइला हिँडेपछी नबिन अगाडिअगाडी लम्किहाल्थ्यो र निला भने पछीपछी हराएको बाख्रो खोज्न निस्केको गोठाल्निजस्तो स्याँस्याँफ्याँफ्याँ गर्दै बुर्कुस्सिन पर्थ्यो । उसोत निलालाई हात समातेरै नभएपनी सङ्गैसङ्गै हिँड्न रहर कती हुन्थ्यो कती। तर समाज नै उस्तो होला र त खोइ लाज शरम केले के ले रोक्थ्यो त्यसो हुन र जहिल्यै सरदर ५ हातको दुरी नघटाइ बाटो नाप्थे। तर यहाँ लाज नभाका पात्तर हरु! चौबाटोमै उभिएर चुप्पाचुप्पी गर्छन्\ लौ! गालीगरे जस्तो गर्दै इर्श्याको आगो ओकल्थी र आफ्नो प्यारो, इमान्दार मायालु नबिनलाई सम्झिँदै आँखा भिजाउँथी। । अली अन्तरमुखी भएरै होला निलाका उस्तो धेरै साथीसङी पनि थिएनन्। उसकै घर पल्लोपट्टी दात्ती बाजे(कट्टर धार्मिक बाजे स्याहार्ने एउटी अधबैंसे रोमानियन आइमाइ सँग उसको मैत्री जम्न पुग्यो। तर निकै समय सम्म एकोहोरो। कस्तो कि रोमानियन आइमाइ 'सुलिना' भने हित्तचित्तको कुरो पनि गर्थिन् निलासँग तर निला भने उही सामान्य दैनिकी हलुका गन्थन गर्थी तर अन्तरंग कुरो खोल्दिनथी।

यस्तैमा आक्कलझुक्कल साथीहरुसँग कुराहुँदा कतिले यतै ब्वाइफ्रेण्ड गर्ल्फ्रेण्ड ब्यबस्था गरेका। कतिका इन्टर्नेट लभ पर्दैगरेको, कतिले आफ्ना लोग्ने श्वासनेलाई यतै झिकाउन लागेका कुरा सुन्दासुन्दा एकदिन बिचार गरी र नबिनलाई फोन लगाइ। अलिकती पैसो जम्मा गरेर अलिअली रिण अरु थपेर नबिनलाई पनि इजरायल झिकाउने, बच्चाहरुलाई मावलामा छोड्दिने, दुबै जोइपोइ मिलेर छिट्टो पैसो कमाउने र नेपाल फर्किएर हाइसोखको जीवन जिउने कल्पना, सपना र योजनाको बेलिबिस्तार निलाको मुखबाट सुनेपछी नबिनले लामो मौनता तोड्दै बिचार गरौँन त भनेको थियो। उसोत बाइक एक्सिडेण्ट मा भाँचिएको गोडा पनि अब त चल्ने भइसकेका थिए। समानता र स्व-हकका जती भाषाण सुने र छाँटेपनी यथार्थ जिन्दगीमा नबिन नेपाली समाजको लोग्ने मान्छे थियो। आफ्नो अशक्तता र श्वासनिको कमाइमा बाँच्नुपरेको पीडाले उसलाई भित्रभित्रै गलाइरहेको थियो। काम सुरु नै गरेपनी निलाको तुलनामा उसको कमाइ निकै कम्ती नै हुने पक्का थियो। मुखले केही ब्यक्त नगरेपनी उसलाई श्वासनी भन्दा आफु तल परेको हिनताबोधले खाइरहेको थियो। त्यसैले रातभरी दलिन गनेपछी भोलिपल्टै निलालाई फोन गरेर आफु तैयार रहेको जानकारी दिलायो। निला खुशी र बिस्मातको भुमरीमा एकैपटक उचालिएर पछारिन पुगेकी थिई नबिनको जवाफ सुनेर। जोइपोइ मिलेर छिट्टै पैसो कमाउन सकिने, इजरायली जोडीझैँ कुमा जोडेर भुमध्य सागरको पानी निल्याल्ने कल्पनागर्दा खुशीको सगरमाथा टेक्थी त बाबु आमाले दुबैले पैसाका लागि छोड्नुपरेको अभागी बच्चासम्झिँदा यसो नगरुँ भन्दै आँखाको कोश पुच्छ्थी। आखिर उसले यो सब छिट्टै नै यो बनबास टुङ्याउनको लागि गर्दै थिई। नबिनको हिनताग्रस्त मनोबिज्ञानसँग त ऊ पूर्णत: बेखबर थिई। आखिर खबर होस् पनि कसरी ! त्यही लोग्ने जो बि यड पास गरेको छ। त्यही लोग्ने हो क्याम्पसे राजनीतिमा नारिहकहितको आवाज गुन्जाउँदै हिँड्थ्यो र कहीँ न कहीं नबिनको त्यही उदारपन्थी सोच र फराकिलो बैचारिक दायरा देखेर नै उसले नबिनसङ्गको बैबाहिक यात्रालाई शहर्ष स्विकारेकी थिई। त्यही माथि अभाबको लडाईं सँग जुध्धै कत्रो विश्वाश गरेर आफुलाई बैदेशिक रोजगारमा जाने चाँजोपाँजो मिलाएको थियो नबिनले नै! यस्तो उदार, यती आधुनिक बिचार राख्ने समसोची लोग्नेले श्वासनिको कमाइ र लोग्नेको कमाइ भनेर साँध्सिमाना लगाउला भन्ने उसले सोचोस् पनि कसरी! नित्तान्त पैसाकै निम्ती दुई लालाबालालाई चटक्कै बाउआमाले नै छोड्न मनले नमानेपनी कुन्निकहाँनिर आभाबले ममतालाई ओभरटेक गरिसकेछ। सल्लाह अनुरुप नबिन निला गएकै म्यानपावरको दैलो चिहाउन पुग्यो । लाग्नेजती पैसा निला ले अनी इजरायलबाट साथीसङ्गीहरुसङ रिन सापट गरेर पठाउने भई।


 अब मन निचरेर निर्णय नै गरिसकेपछी ढुक्कले नबिनको भिसा लाग्ने दिन गन्न थाली। कम्सेकम लोग्नेको सामिप्यता त पाइनेभयो। एक्लै ४ बर्ष दु:ख गर्नुको साटो दुइजना मिलेर दुई बर्ष मै गर्यो अनी मजाले घर फर्क्यो। उसैपनी यि इजरायलीलाई मुखभरीको जवाफ दिनपनी उसको नबिन आइपुग्नुपर्ने थियो। शारिरिक् सामिप्यता बिना माया प्रेम नै नहोला जस्तो यि नकच्चरा नकच्चरिहरु सोध्छन् बेलाबेलामा,"आत लेबाद? एन्लाख खाबेर?(तिमी एक्लै? ब्वाइफ्रेण्ड छैन?" एख लिस्तदेर लेबाद? बाला बे नेपाल ,,आत लो रोच्च्सा पो एखात खाबेर? कसरी म्यानेज गर्नु? श्रीमान नेपालमा! तिमी यहीँ एउटा ब्वाइफ्रेण्ड चाहँदिनौ?"? )नाता र सम्बन्धमा शारिरिक सामिप्यता बिना इमान्दारिता नै हुँदैन क्यारे यि बिदेशीहरुको त उफ्फ्फ! निला गर्बिलो जवाफ दिन्थी रबाफको साथ," ओद कामा खोदेस बाली याबो पो! आनाख्नु लो ओसिम काखा । मेखाकिम ले बाल! के(ही महिनामै मेरो लोग्ने यहीँ आउंदैछ। हामी यस्तो गर्दैनौँ आफ्नो लोग्नेलाई पर्खिन्छौँ!" )पखेस्न ! नबिन आएपछी यि पातरपातर्नीलाई कसरी देखाउँछु आँखैअगाडी म्वाइ खाएर भन्दै मुर्मुरिन्थी।


दिन बित्न के बेर लाग्छ र! समयको कुदाइमा हामी जोडीनुपर्दैन। उसैले लतार्दै लगिहाल्दोरहेछ। अन्तत: नबिनले पनि पाइला टेक्यो बेनगुरियन बिमानस्थल इजरायलमा एक झल्मलाउंदो रातमा। निर्धारित भन्दा २ घण्टा पहिल्यै एअरपोर्ट पुगेको निला अधिर भई अराइभल गेटको बाहिर उंघिरहेकी थिई। जसै नबिन देखापर्यो। निला स्तम्भित भई। उसका गोडा एकाएक जमेर कक्रक्क परे। खुब इजरायलैलाई मनमनै इख्याउँथी नबिन आएपछी आँखैअगाडी म्वाइ खान्छु भन्दै तर आँखैसामु नबिन उभिएको त्यस स्वर्णिम पलमा उसका हातगोडा कक्रिए। वास्तबमै संस्कार भनेको दुइचार बर्षको बिदेशी हावापानीले कहाँ पखालिनेरहेछ र! हर्षले मोतीका दाना गालाहुँदै छाती भिजाउन पुगे तर उसले सोचेजस्तो झम्टेर म्वाइ खान उसको त्यो गढेको संस्कारले ,सिकाइले,भोगाइले खोइ के ले दिएन। बरु नबिन नै नजिक आयो र बिस्तारै काँधमा हात राख्दै भनेको थियो," निली! मोटाइछौ राम्ररी!" आँखा पुछ्दै निहुरेर पोइका गोडा छोइ। त्यती परिमार्जन भएछ उसको संस्कारमा नत्र त झपक्क निधारले पोइका गोडा छुने गर्थी नेपालमा। त्यसरात जोइपोइ रोएरै रात काटे। भेटेको खुशीमा। त्यसबखत सम्म गुमाएको त्यो सामिप्यताको यादमा, छोडेर आएका साना नानीहरुको सम्झनामा र बाँकी सम्भाबित उज्यालो भबिस्यको कल्पनामा जोइपोइका चार आँखा गोल्भेँडा बनेका थिए बिहान सम्ममा। निलाकी इजरायलको कोही नजिकको साथी भनेकै सुलिना थिई। उसैलाई भेटाइ भोलिपल्टै नबिनलाई लगेर। निलाले स्याहर्ने बुढीआमैका सन्तानले नबिन आएको खुशीमा एक सांझ घरमै बार्बेक्यु पार्टी समेत आयोजना गरे। सबै खुशी थिए। निला खुशीले उछालिएकी थिई।


नबिनको इजरायल आगमनसङ्गै निलाको अनुहारमा गुलाफ फक्रिएको थियो भने ओठमा लालुपाते। निलाको काम देखी करिब दुइघन्टा दुरिमा नबिनले पनि एक अशक्त् इजरायली बाजे स्याहार्ने काम सुरुगर्यो। निलाको कल्पना जस्तै जोइपोइका कमाइ र सामिप्यताले दिन बित्तै गए। कसोकसो छोराछोरीका याद पनि नबिनकै अनुहार नियाल्दै मन बुझाउँथी । सुरुका केही महिना नबिन हरेक हप्ता निलाकोमा आउने गर्थ्यो। रातभरी रोएर हाँसेर बच्चाहरुका सम्झना गरेर खुशी हुन्थे दुइजना। नबिन असल थियो। इमान्दार लाग्थ्यो। हरेक महिनाको तलब निलाकै हातमा गनिदिन्थ्यो। एक्दिन नबिनले अबदेखी हरेक हप्ता नभेटिने कुरा गर्यो। उसका अनुसार कामको केही दुरीमा नबिनले ओभर्टाइम पाएको रहेछ अर्को एक जना बाजे कुर्नुपर्ने रे ,त्यस्बापत ५०$ दिनेरे। निलाले आनाकानी गर्दै थिई। नबिनले सम्झायो। "हेर त्यतिका समय हामी एक्लाएक्लाई थियौँ र त भएकै थियो भने अहिले हामी कम्सेकम महिनामा त भेटिन्छौँ नि! हातमा आउनलगेको लक्ष्मी किन लत्याउनु!" लोग्नेको कुरो मनासिब् लाग्यो निलालाई। त्यसबेला देखी नबिन महिनामा एक्पटक तलब र ३ हप्ताको ओभरटाइमको पैसा समेत सबै एक एक हिसाब गरेर निलाको हातमा राख्न आइपुग्थ्यो। त्यही एकरातको माधुर्यताले महिना गन्दै बस्नथाली निला। निला सोच्थी अब केही बर्ष हो यो कहर जिन्दगी अनी त दु:खका दिन सकिने भए!+++++++
नबिन आएदेखी निला र सुलिनाको भेट्घाट पनि पातलिएको थियो .एक झिस्मिसे बिहान घरपछाडीको माख्सान(स्टोर रुम) मा बाजेको खितुल (डाइपर) को प्याकेट झिक्न जाँदा पर झाङ्गनिरको जैतुनको रुखमा छायाजस्तो झल्यकझुलुक गरेको देखी सुलिनाले। के रहेछ भनी अलिक नजिक जाँदा त्यहा निला थिई। जैतुनको हाँगामा डोरी बाँधेर आफ्नो घाँटि कस्न ठीक परेकी निलालाई देख्नासाथ सुलिना झम्टेर पुगी र निलालाई रोकी। उमेरमा आमाछोरी जस्ता लाग्ने सुलिना र निलाको आँखा जुध्यो। निलाको आँखा चम्किला नभएर राता राता थियो। नाक पनि आँखैजस्ता थिए रातै। 'लेट मि डाइ सुलिना! माइ लाइफ इज ओभर! आइ कान्ट लिभ विद आउट नबिन! हि लेफ्ट मि एन्ड माइ किड्स! हि डिसिभ मि!" निला चिच्याउन थाली। सुलिना हक्कबक्क परी। एक थप्पड गालामा बजाएर अनेक पटक नबिनको बारेमा सोधेपछी बल्ल निलाले बताई।


 सुरुमा निलाका कुरा सुलिनाले एकरत्ती पत्त्याइन। पत्याओस पनि कसरी! सकेसम्म आन्तरिक कुरा धेर नखोल्ने निलाले जतिपनी कुरागर्थी नबिनको तारिफ मात्रै गर्थी। जब नबिन इजरायल आयो तब सुलिनाले यकिन गरी कि नबिन निलाको तारिफ भन्दा अझै माथिको रहेछ। बरु टोलाएर घण्टौँ आकाश नियाल्ने तर मनको बह हत्तपत्त नपोख्ने निला आज यसरी एकाएक चुपचाप यो परदेशमा जीवन टुङ्ग्याउन लागेको देख्दा सुलिना स्वयँ थामिन नसकेर घुँक्क घुँक्क गर्न थालि। निलालाई कुनै जोर्जुलुम गरिन बस् रुन दिई। भारी मनको आधा भार आँशुमा बगाएपछी बल्ल निलाको मुखबाट शब्द निस्किन थालयो। सुन्दा कुनै चलचित्रको काहानी जस्तो लाग्ने यथार्थ निलाको मुखबाट सुन्दा सुलिनाका मुख ह्वाङ्गै रहे निकैबेर सम्म अचम्म अचम्मले। त्यतिमाथी निलाले भगवान मान्ने नबिन आफु इजरायल आएको केही महिनामै ओभरटाइम पाएको बहानामा निलासङ्ग्ग टाढिएको त खास कारण एकदमै घ्रिणित रहेछ निलाको अनुसार। नबिनको ओभरटाइम कुनै अशक्त बाजे हेर्नु नभएर एउटी इण्डियन केटी रहिछे जो एक अन्धी बहिरी इजरायली बुढी स्याहार्दीरहिछे। निकै धनी बुढी स्याहार्ने इण्डियन केटी हेर्नमा पनि अत्यन्तै राम्री रहिछे बिबाहित भएर पनि निला भन्दा जवान पनि रहिछे। भगवान जानोस् नबिनले उसलाई फसायो या त्यो मेघना नाम गरेकी इण्डियनले नबिनलाई फसाइ तर दुबइ एकअर्कामा फसिसकेका रहेछन्। निलाको विश्वाश कायम राख्न र मेघनाको बैंशालु भोक टार्न नबिन र मेघना दुबै मिलेर नबिनले बिताएको हप्तान्तमा ओभरटाइम मुताबिक को ५०$ मेघनाले दिने र त्यही पैसा नबिनले निलाको हातमा राखिदिने गर्दारहेछन जुन घ्रिणित सत्यसँग निला महिनौँ बेखबर थिई।


 हिसाब कत्ती तलमाथी नगरि ओभरटाइम समेतको पैसा एक एक हातमा राखिदिने नबिन सुरुसुरुमा त महिनाको एकपटक आउँदा निकै थाकेको हुन्थ्यो। बिचरा कामले गलेको होला भन्दै निला राती अबेर सम्म जैतुनको तेलले नबिनको गोडा मालिस गर्थी तर हरेकपटक जसो महिनान्तमा आउँदा पछीपछी निलाले केही फरक पन आउंदै थिई। बिशेष गरी शारिरिक सम्बन्धमा नबिनको रुची ठ्याम्मै हराएको थियो। कहिलेकाहीँ संका आएपनी बिचरा कामले भुतुक्क थाकेको छ। यस्तो सोच्दापनी मलाई पाप लाग्छ भन्दै बस्थी तर लोग्ने मान्छे न हो। बैदेशिक रोजगारमा भासिएपछी कसैका लोग्नेले ढोका दिएको त कसैका श्वासनीले जहाज डुबाएको। लोग्ने बिदेशमा श्वासनी नेपालमा मस्तिमा धुत।श्वासनी बिदेशमा त लोग्ने अर्कैसँग मस्त हुनेगरेका घटना त प्रसस्तै सुनिन्थ्यो तर लोग्नेश्वासनी दुइटै सँगैहुने अवशर पाएका, चित्त बुझ्दो कमाइ गरिरहेका र कुनै धोखाधडी व्यबहार नदेखिएको यस्तो अवस्थामा आफ्नै लोग्ने त्यसरी गिर्ला या कुनै केटी मान्छे शारिरिक भोक मेटाउनकै लागि कोही विवाहित लोग्नेमान्छेलाई ज्याला तिरेर अपनाउली भन्ने कुरा त निलाले सपनामा समेत सोचेकी थिइन। पहिले पहिले श्रीमान बिदेसिन्थे धेर र लोग्नेको पसिना घरमा बसिबसि परपुरुषमाथी उडाउने स्वास्नीहरुको बयान समाजका सबै भलाद्मीको मुखको मन्त्र थियो। अहिले श्रीमतीहरु पनि कमाउन निस्किन्छन र घरको लोग्नेलाई थाङ्नामा सुताएर ब्वाइफ्रेण्डसङ्ग झुत्तीने श्वासनीहरुको समाचार(चाहे त्यो कुन हद सम्म बधाईँचढाइ गरिएकै किन नओस्) प्रचार गरेर स्वाद लिनेको कमी छैन चाहे ति अनपढ गंवार जमात हुन् या बौद्दिक वर्ग! तर श्रीमतिकै नाकमुनी कसैसँग ज्यालामा सुतेर परिवार तथा समाजकै आँखामा छारोहल्ने नबिनहरुको खबर कस्ले राख्नु! चर्चा कस्ले गर्नु र किन गर्नु?? आखिर नबिन नबिन हो र यो समाजको लोग्ने मान्छे हो । त्यै काम निलाबाट हुँदो हो त यो समाज जिब्रो फड्कारी फड्कारी बडो स्वादले उक्त खबर डकार्थ्यो । +++++++++++



आखिर जिन्दगी न हो कुन मोडमा कस्तो तमासा देख्नु र भोग्नुपर्ने हो भन्ने कस्लाई थाहा! मान्छेको इमान्दारिता न त निधारमा खोपिएको हुन्छ न त व्यबहारमै झल्किनेरहेछ। आखिर बिपत्ती ढोल नबजाइ नै आउँदोरहेछ हठात् हठात्! जतिनै थाकेपनी महिनामा एकरात श्रीमती भेट्दा किन यस्तो उपेक्षा!! केही त पक्कै छ भनेर जासुसी गर्दा निलाले नबिनको त्यो पर्दाभित्रको ओभरटाइम उदाङ्गो पारीछे। पहिले त नबिन र मेघनाले आनकानी गरेछन् तर नखुस्किनु धोती खुस्किसकेपछी अन्तमा नबिन र मेघनाले एकसाथ घोषणा गरेछन् अब उप्रान्त उसले नबिन पाउँदिन। उसको लोग्ने पाउंदिन र पाउँदिन उसका लालाबालाको पिता!! त्यसबिहान निला यती रोइकी सुलिनाले उसका आँशु टिपेर राखेकी भए त्यसका सामु लालसागर सानो हुँदोहो। आफ्नी छोरी समानकी एउटी सफा मनकी केटी त्यसरी निरिह बनेर आफ्नै छातीमा टाउको जोतेर रोइरहंदा रोमानियामा जन्मेकी सुलिनाको मन कसैगरी थामिएन। दुबै अङ्गालो मारेर निकैबेर रोइरहे। लामो सुंकसुंक पछी निलाले आफुलाई केही हलुको पाइ। सँगइ मर्ने जिउने कसम खाएर जिन्दगी अगाडि बढाएको लोग्ने जसलाई ऊ भगवान मान्थी।जसले उसका गर्भमा बिज रोपेर दुई सन्तान जन्माउने सौभाग्य दिएको थियो त्यस्तो मान्छेको धोकामा आज कोही नित्तान्त पराइ कहाँकहाँ एउटी परदेशी जो सँग हिजो भेट भएको हो र शायद फेरी कहिल्यै नहोलापनी। उसैका छातीमा आडलगेर त्यसरी रुंदा आफुलाई निकै बिचरी निकै एक्ली पाइ।


टाउको उठाएर भनी," सुलिना! म अब बाँच्न सक्दिन! नबिन बिनाको जीवन म कुनै धनसम्पतीमा जोख्न सक्दिन। बाबुबाट त्यागिएका बच्चाहरुको उदास अनुहार म कसैगरी नियाल्न सक्दिन। म बाट ठुलो भूल भयो कि मैले नबिनलाई इजरायल ल्याएँ। म अब बाँच्दिन। मैले बच्चाहरुबाट उनका बाबु छिनेँ।," सुलिनाले मायाले मुसार्नुको साटो यसपाली एक गतिलो थप्पड निलाको गालामा बजाइ। निला उसैपनी केही सोच्न नसक्ने अवस्थामा थिई। यसबखत ति रोमानियन महिला एक भगवान बराबर भएर उभीईन निलाको अगाडि। सुलिनाले निकैबेर सम्झाइन् अझै भनुँ निलाका आँखा खोलिदीईन्। जिन्दगीको सत्य उद्घाटन गरिदीईन्। सही मानेमा बाँच्न सिकाइन्। जुन सत्य आज सम्म निलाले महसुस समेत गरेकी थिईन त्यो सत्य आज ति रोमानियनले आँखा अगाडि राखीदीईन्। निकै लामो सम्भाषपछी अन्तमा सुलिनाले भनिन्," हेर निला! जिन्दगीको अर्थ मर्नु होइन। मर्नु त सिद्दिनु हो, समाप्त हुनु हो। तिमी आज जीवनमा छौ। जो तिम्रा इच्छा र हातले चलाऊने र पाउने कुरो होइन। त्यसलाई भगवानको कृपा मानेर सदुपयोग गर। कोही आफ्नो जिम्मेवारी बाट भाग्यो भनेर तिमी पनि भाग्ने? कोही स्वार्थी भयो भनेर तिमी पनि हुने? कम्सेकम ति साना नानीहरुलाई सम्झ। यती राम्रो घरबार, परिवार छोडेर त्यस्तो स्वार्थी हुन सक्ने नबिनले तिम्रो समाप्तिपछी ति बच्चालाई हेर्छ? नहेरेको अवस्थामा तिनका हालत के होला, तिमी अनुमान गर्न सक्छौ? सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महान शब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ! नबिन गयो तिम्रो जिन्दगीबाट तर अरु सबै बाँकी छ। तिमी बाँकिछौ।"

 --------अरु के के भन्दै थिई सुलिना तर निलाको कानमा "...सन्तानको सवालमा सारा दुनियाँले आमालाई महान मानेको छ निला! त्यो महानशब्दको कदर गर र त्यो जिम्मेवारी निभाउ!" मात्रै गुन्जिरह्यो। झम्टेर सुलिनालाई अङालो मारी र निकै बेर गाला जोरेर अडिएपछी भनी," सुलिना! आज म प्रण गर्छु कि म अब गलत गर्नेछैन। म आफुमाथिको सबै जिम्मेवारी निभाउने प्रयास गरिरहनेछु। र सत्य सत्य! नबिनलाई बिर्सिनेछैन। म उसको प्रेम हुन सकिन । ऊ मेरो जिन्दगी हुनसकेन तर सत्य यही हो कि मेरा बच्चाको बाबु उही हो। मैले माया गरेको मान्छे उही हो। म भन्न सक्दिन कि जीवनको कुनै मोडमा नबिन फर्केर म कहाँ आउला । हो म अत्यन्तै क्रुद्द छु नबिनको यो निर्णयप्रती तर उसलाई घ्रिणा गर्न सक्दिन सुलिना! गाह्रोगारो छ म मेरो नबिनलाई म कोहिअरुसँग रमाएको हेरुँ तर कम्सेकम नबिन खुशी छ कतै। तिमी सही छौ! जिन्दगी यतिमै सकिएको छैन न त मेरो जिम्मेवारी टुङ्गिएको छ। तिम्रो यो गुण म् कहिल्यै भुल्नेछैन सुलिना! तिमी मेरी आमा हौ आमा! जसले जीवन दिन्छ । तिमीले आज मलाई मात्र बचाएकी छैनौ कि मेरा दुई साना नानीहरुलाई आमा दिएकी छौ। उनिहरुलाई भबिस्य दिएकी छौ र सहारा दिएकी छौ। धन्यवाद सुनिला! यतिबेला म सँग धेरथोर पैसा छ। गतिलो काम छ र शायद असरल्ल जिन्दगी छ तर मेरा बच्चा छैनन् साथमा। नबिन हुँदा सम्म म एक्लै छु भन्ने आभास थिएन शायद त्यही स्वार्थमा मैले बच्चाहरुलाई भुलेछु। या त कम्ती याद गरेछु। अब एक्लै भएं तिनका याद बेस्सरी आयो। म अर्को हप्ता नै नेपाल फर्किन्छु । तिम्रो यो गुन म तिमीलाई सँधै याद गरेर तिर्नेछु सुनिला!" यती भनेर निला साहसी अनुहार लिएर फर्की । सुलिना निला गएको हेरिरही।


अगी निलाले बांधेको र झण्डैझण्डै निलाको जीवन समाप्त गर्न तम्सेको डोरी जैतुनको हाँगामा हल्लिरहेको थियो चिसो बतासको झोँकासङ्गै। सुलिना मुस्कुराइ; अन्तत: निला जिउँदै फर्की-……निला बाकसमा होइन जिउँदो सरिरमा नेपाल जाँदैछे। सुलिनाले डोरी एक झट्कामा तानी र पर हुत्त्याइदीई। पूर्व क्षितिजमा सुनौलो घाम मुस्कुराउने तर्खरमा थियो जसले निस्पट्ट अंधेरो रात छिचोलेरैपनी उज्यालोको अर्को अध्याय सुरुवात गरिसकेको थियो।

दिप्स शाह
deepssanu@gmail.com
ब्लग चौतारी

किनाराको मन (कथा)

ब्लग सम्प्रेषक : भगवती वस्नेत
किनाराको मन  (कथा)


अभावका  ढाकर बोकेर मृतसागरको किनारमा जिन्दगीका जिजिविषा दुखाउँदै  एकुरियमका माछहरु जस्तै छट्पटिमा बितेका छन् मेरा कैयौ दिन अनि रातहरु ।
आज पनि बिहानको खान खाएर कोठामा पसेकी छु कपबोर्डमा   भएका कितावहरु घुरेर हेरिरहेका छन्।धेरै भयो खोल्ने फुर्सद पाएकी छैन यी मेरा एकान्तका सारथीहरु ।
मेरो ल्याटपले मलाई कर्के नजरले हेरिरहे झैँ लाग्यो ।  उसलाई मायाले सुम्सुमाएँ, छातीमा बेस्मारी टाँसे उसो त मेरो प्रिय मान्छेको उपहार हो यो ।

यसैमा मैले मेरा सबै दु:ख सुख अनि गुनसा, जिज्ञासाहारु पोख्ने गरेको हुन्छु । यसैले मेरो बेचैनीलाई, एक्लोपनलाई दूर गर्ने काम गरेको हुन्छ । यस्लाई खोलेँ, मुसुँक्क मस्करायो उस्लाई हेरेर म पनि मनै देखि मुस्कुराएँ। हिजो तराइको बगरमा भैंसी चराउँदै  भैसीको आङमाथि बसेर गीत गाउदै हिंड्ने म आज सात समुन्द्रपारी एउटा कोठामा बसेर संसारलाई नियाली रहेछु । अब नयाँपुस्ताले समयानुसार हिंड्न सक्यौ भने  नयाँयुग भेट्न कति नै समय लाग्ने रहेनछ। धुलैधुलो र माटै माटोमा रमाउँदै,धूलोमा नै औलाले कखरा सिकेको मान्छे आज तिनै औंलाहरू किबोर्मा नचाइरहेको छु। त्यो धुलो माटोको जीवनदेखि शुरू भएको यो दुरुहयात्राले  आजको यो भब्य र सभ्य शहरको रङ्रगीन दुनियाँमा बाँच्न र नाँच्न सिकाएको छ । गतिशील समय, प्रगतिशील समाज, विचारशील दुनियाँसँग हातमा हात र साथमा साथ मिलाएर बामे सर्न खोजेको मेरो चुनौतिपूर्ण जीन्दगीका पाइलाहरू कष्टकर छन् तर मैले यसलाइ सहजै लिएकी छु।

  वास्तबमा यो भर्चुअल दुनियाँ पनि  कति विचित्रको छ , त्यसमाथि चमत्कारी अनि  सम्पन्न मानव वस्तीहरु !!

आफ्नो दैनिक कार्य ब्यस्तताबाट बचेँको समयमा मलाई मनोरन्जन दिने म भुल्ने भनेको यही ल्याटपमा हो । वाइफाइ कनेक्सन गर्‍यो बिभिन्न वेब  साइटमा समाचार पढ्यो । मुहारपुस्तिकामा विश्वभरिका मानिसहरुको धर्म संस्कृति र बिचारहरु पढ्यो । कैले मायालुका यादभित्र  गुडुल्किदैँ त कैले मेलोडियस संगीत गुञ्जाउँदै आफ्नो दिनचर्या गुजारी रहेकी छु ! धेरै समयपछि  फेरि यसै दुनियाँ मार्फत मेरो बाल्यकालको साथीसँग भेट भएको छ ।  उमेर परिपक्क  भएपछिको भेट, बिपरित लिङ्गी प्रतिको आकर्षणले  पनि होला  उसका भावना बिचारले आजकाल उसैतिर आकर्षित हुदैँछु । उसैको   भावना अनि बिचारको आडमा आफू निर्धक्क फक्रिरहेको अनुभव गरिरहेकी छु । समय र परिस्थितीको कठघरामा उभिएर आफ्नो भबिष्यको गन्तब्य पहिल्याउन आफ्नो मातृभूमिबाट टाढा भिन्न भूगोल अनि परिवेशमा परिश्रम गर्न वाध्य छौँ हामीहरू।

सधैंको निरासापन, प्रवाशको उच्छ्वाशका नरमाइला क्षणहरू, आफन्तको सम्झनाले भिजाएका परेली, मनमा लागेका घाउहरुलाई भित्री मनको कठ्घरामामा छुपाएर अथाह वेदनाको खजानाले पुर्दै, कुण्ठित रहर अनि चाहनालाई दबाएर बनावटी  मुस्कान छर्दै जिउनै पर्ने बिबशतामा उसको साथले केहि राहत मिलेको छ।

आजभोलि लाग्छ उ नै हो मलाई बुझ्ने यो संसारमा । जब जब म उनका आँखामा आफूलाई हेर्छु, एकदम गहिरो आत्मियता पाउँछु । लाग्छ ती आँखामा सधैँ हराइरहुँ । सागरभित्रको मोति झै डुबेर । यी आँखामा चमचमाउँदा चमक, उत्साह उमङ्ग सबै  उसको नै देन हो । मेरो आशा, भरोसाहरूमा अझ बढी विश्वास थपिएको छ ।  आश भरिरहने यी नयनमा अझ धेरै विश्वास अनि नयाँ नयाँ रहरका रेशाहरू सल्बलाएका छन् ।  धेरै बर्षपछिको अन्तरालमा केहि महिना मात्र भएको छ भेट भएको तर उसले अथाह प्रेम बर्षाएर होला उसका आवाजहरू शुन्यतामा पनि  मीठो धून  बनेर मनमस्तिष्कमा गुन्जिरहन्छन् ।"

थाहा छैन उसका हरेक बोलाई हेराई वा विचार के कुराले मलाई उसै प्रति आकर्षित  गरिरहेछ !   उस्को बोलाई  हेराइ बिचार  सबैको भन्दा भिन्न लाग्छ ।  बाल्यकालमा रोपिएको हाम्रो प्रेमको मुना फेरि पलाउन  झाँगिन थालेका छ, उसको मायाले यसमा मलजल गरिरहेको छ।  धन्य छ यो प्रबिधी जस्ले मेरो प्रथम प्रेमसँग, साइबर स्पेशमै किन नहोस, साक्षात्कार गराइदिएको छ । नोस्टाल्जियामा होला मेरो चुलबुले पना फिरेको छ । लाग्दैछ उ नै मेरो आत्माले खोजेको सच्चा प्रेमी  हो । प्रेममा आत्माले आत्मालाई चिन्नु पर्छ मनले मनको  पवित्र एवंम निश्चल भावनालाई  महसुस गर्न सक्नुपर्छ । वास्तवमा प्रेम बिचार  अनि भावनाको समागम हो ! प्रेम स्वच्छन्द अनि स्वेच्छाले अन्त:स्करणबाट स्वत:स्फूर्त प्रकट हुने  स्वच्छ भावनाको  मीठो अनुभूति हो । यो  प्राकृत, ब्याप्त र गतिशील हुन्छ । संसारका सम्पूर्ण जिवात्माहरुलाई एकापसमा बाँध्ने  कडी  प्रेम नै हो । जुन हामी दुईको आत्ममा अजम्बरी भएर रहेको छ।
मलाई लाग्छ जीवनमा महत्व पनि उसैलाई दिनुपर्छ जसले आफ्नो भावनालाई सम्मान र महसुस गर्छ । आजकल उसका हरेक बोलाई अनि बिचारहरुमा जीवनका दर्शन पाउछु ! मेरा हरेक शब्द अनि व्यबहारमा उसको सम्मान पाउँछु ! जहाँ माया हुन्छ त्यहा सबैकुरा हुने रहेछ । एक  व्यक्ति सबै मानिसको लागि बनेको हुदैंन । म सोच्दै छु । उ मेरो लागि बनेका हो उसको  निकटता र आफ्नोपनले मैले यही महसुस गराएको छ। सिमसिम पानी परेको छ । जाडोले गर्द लुगलुग काम्दैँ झ्यालबाट बाहिर चियाउन मन लाग्छ पानीसँगै फुसफुस हिँउ पनि खसिरहेको छ । नजिकै देखिने सानो पोखरी हिउँ भरिएर एकैछिनमा पुरिन्छ नजिकै हिमानी झार लत्रिएर पनि सौन्दर्य दिइरहेको छ । त्यही  झारलाइ हेर्दै परिस्थिती जस्तो आए पनि उसले मेरो साथ दिन्छ भन्ने कुरामा म ढुक्क छु।


दिन बित्दै गयो हामी जति टाढा भए पनि हाम्रो माया उतिनै गाढा हुँदैँ गयो !! नेपालमा बिदामा जाने र भेटघाट गर्ने योजना बनायौँ।
जहाज  अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा  ओर्लियो । जब मेरा पाउहरूले जन्मभूमिको माटोको स्पर्श गरे मेरो मन खुशीले झुम्न थाल्यो । जहाजबाट ओर्लँदा एक किसिमको रमाइलो अनुभूति भयो । आफ्नो माटोमा टेक्न पाउँदाको अपूर्व  खुशी र मुस्कानको उमङ्ग अहा !
जहाजबाट ओर्लिएर विमानस्थलको सामान लिने ठाउँमा गए । हतार हतार समान लिएर बाहिरिएँ।  लामो समय पछि मातृभूमिको   चिरपरिचित  तर नूतन सुगन्धले त्यसै त्यसै मख्ख परेर मातेको , मदहोसी आभास भइरहेको थियो । अझ आफन्त र उसको मिलनको उमङ्ले म  भित्र भित्र बतासिएकी थिएँ ! उसलाई हेर्न आँखाहरु लालायित थिए । आँखा चारैतिर दौडाएँ  तर  उ कतै देखा परेन । आमा र भाई बाहिर मेरै प्रतिक्षामा बसिरहेका थिए । धेरै समय पछि छोरीलाई देखेर आमाले खुशीले हर्षाआँशु बगाउँदै  अंगालेर धेरैबेर चुम्बन गरिरहनु भयो । हामीले लामो अन्तरालमा   एकआपसमा आफ्नो माया साटिरह्यौं । धेरै बेर उसको प्रतिक्षामा बस्यौं लामो समय सम्मको प्रतीक्षा निरर्थक भएपछि   अन्तत:  ट्याक्सी लिएर आफ्नो बासस्थानतिर  हुइकिँयौ । बाटोभरि  उ  किन आएन भनेर मनमा कुरा खेलिरह्यो  पछि  मात्र थाहा भयो ऊ कुनै महत्वपूर्ण काममा फसेको रहेछ ।  भोलि भेटेर घुम्न जाने भन्दै फोन आयो !
 उसले “भोली  बिहान् १० बजे चोभारको गेटमा भेटौँ ,अनि दक्षिणकाली घुम्न जाउँला” भन्यो ।

कहिले बिहान होला भनेर बसिरहेँ, सानैमा देखेको कस्तो भयो होला भन्ने मनमा उत्सुकता जागेको थियो रातभरी खुल्ला झ्यालबाट झिलिमिली ताराहरु नियाल्दै उसैसँग भबिष्यको  योजना बनाउँदै, उसैको कल्पनामा कोल्टे  फेर्दा फेर्दै  रात बित्यो !
बिहान  सबेरै उठेँ उसलाई भेट्न आतुर मनहरू छटपटिदै थियो उसले भने अनुसारको ठाउँमा भेट भयौँ ।
उसलाई देख्नासाथ  आँखाले आँखा संगभलाकुसारी गर्न लागे ओठले मधुर मुस्कान फाल्दै थिए । वरिपरी लहरै सल्ला र धूपीका बोटहरु अनि अग्लो होचा पहाडहरु  हामीलाइ टुलुटुलु हेर्दै थिए । सिरिसिरी बतासले मौसम अझ मदहोस पारिरहेको थियो। दक्षिण कालीको मन्दिरमा गएर पूजा गर्यौ अनि  नजिकैको पार्कतिर लाग्यौ ऊ सँगको प्रत्यक्ष भेटमा म ज्यादै प्रसन्न थिएँ उ पनि निक्कै खुशी देखिन्थ्यो । हामी  पार्कमा बसेर त्यहाँका हरियाली रंगीबिरङ्गी फूलबारीको मनमोहक दृष्यावलोकनमा आफैँलाइ घण्टौ हराइरह्यौं। दिनभरि भलाकुसारी गर्दै प्रकृतिको मनोरम दृष्यहरू क्यामरामा कैद गर्न पनि भ्यायौं । अनि  हाम्रा सुन्दर भविष्यका  सुनौला  र अनुपम सपनाहरु कोरल्यौं । फेरि भेट्ने बाचामा छुटियौँ ।
अर्को चोटी हामीले  घर नजिकैको पार्कमा भेट्ने योजना बनायौ !
आज उ  भावुक , कौतुहल र उत्सुक देखिन्थ्यो । केहि समय मौन बसेर
उसले भन्यो:
“आज मेरो जिन्दगीको महत्वपूर्ण निर्णय तिमीलाई  सुनाउनु छ तिमीले त्यस्मा मलाई सहयोग गर्नु पर्छ !”
मैले उत्सुक हुदै सोधे: के हो त्यस्तो निर्णय ? मैले सके र जानेसम्म अवश्य सहयोग गर्छु ।
“मेरो परिवारले मेरो विवाहको सोच राख्नु भएको रहेछ !” उसले भन्यो ।
राम्रै हो नि ! समय भयो जुनसुकै बाबाको  सपना हुन्छ छोराको बिहे गर्नु बुहारी  भित्र्याउनु ! अनि तिमीले के उत्तर दियौ त ? म प्रति प्रश्न गर्छु ।
उ अधीर हुदैँ भन्छ:" म त तिमीलाई नै विवाह गर्न चाहन्छु" तिमीले मलाई साथ दियौ भने मेरो चाहना पूरा हुनुको साथै हाम्रो प्रेम पनि अमर हुनेछ अनि मेरो मेरा बाबा आमाको सपना पनि !!"

यसरी अचानक उसको विवाहको प्रस्तावले   सृजना गरेको हर्ष र खुशीले  मेरा परेली कतिबेला रसाइसकेछन् । मेरो ठूलो सौभाग्य हो तिम्रो अर्धाङ्गिनी हुन पाउनु, जसलाइ मैले माया गरेको छु उसैलाई जिन्दगीभर मेरो बनाउन पाउनु ! तर म कति अभागी छु ! तिम्रो यत्रो विश्वाश अनि मायाले गरेको प्रस्तावलाई अहिले सहर्ष स्वीकार गर्न असमर्थ छु  ! म अहिले विवाह गर्न सक्दिन । मेरा आफ्नै बाध्यता अनि बिवशताहरू छन् जो तिमीले पनि बुझेका छौ ।
तिमीलाई अवगत नै छ मेरो बाबाको स्वर्गारोहण पश्चात मैले मेरो घरको सम्पूर्ण जिम्मेवारी बहन गरिरहेको छु । मेरी बूढी आमा र नाबालक भाइ बहिनीको रेखदेख गर्नै पर्छ । उनीहरूलाई  ब्यवस्थित गर्ने जिम्मा मेरो काँधमा छ ।
मेरा भाई बहिनीहरुको जिन्दगी अनि भविश्य मेरै हातमा छ मैले मेरो मायाको स्वार्थमा  उनीहरुको भविष्य   लथालिङ्ग  पार्नु हुँदैन । यस्तो धृष्टता म कसरी गर्न सक्छु ? तिमी नै भन न  ?
मलाई तिमी प्रति पूर्ण विश्वाश अनि भरोशा छ ।  तिमीले मलाई अनि  मेरो बाध्यता  र मजबुरीलाई बुझ्ने छौ ।

"प्रेममा नै परेर मान्छेले ताज महल खडा गरिदिन्छन् । प्रेमले मानिसको सोच र लक्ष्य बदलिदिन्छ। मेरो सोच र लक्ष्य पनि तिमीले बदली दिएकी छौ । भित्री आँखाले देख्ने जति सुन्दरता अनि भोग्ने जति निश्चलता, पवित्रता बाहिरी आँखाले कहिले पनि अनुभव अनि अनुभूति गर्न सकिदैँन अरुले दिएको बस्तुले प्रदान हुने सबै खुशीहरु क्षणिक हुन् ।आफ्नो मनले स्वेच्छाले, स्वविवेकले गरिने प्रत्येक कामले मात्र मानिसलाई सुख र आनन्द प्रदान गर्न सक्छ । "म तिम्रो स्वकीय फैसलामा सहमत छु । म तिम्रो अवस्थासँग  पनि परिचित छु । मैले तिम्रो भावना नबुझिदिए अरू कस्ले पो बुझ्छ र ? तिम्रो भावना अनि निर्णयको सम्मान पनि गर्छु !"

उसको साकारात्मक  निर्णयले म बेहद खुशी भएँ, । उसले मेरो भावना र अवस्थालाई सहजै बुझिदियो । आफ्नो प्रेम प्रति आँफैलाई गर्व लाग्यो।'

  गोधूलीसाँझमा पर पर क्षितिजमा बादलका रङ्गीन धब्बाहरु  चलायमान  भइरहेका छन् । चराचुरुङीहरु आकाशमा स्वतन्त्र उडिरहेका छन् । आफ्नो गन्तब्यमा पुगेर आ–आफ्नो बासस्थान फर्किरहेका छन् । बर्षासँगै सडक वरिपरिका गुलाफहरू ढकम्क्क फुलेका छन् । वातावरण एकदमै रोमाञ्चक देखिन्छ, तर मेरो अनुहारमा असन्तुष्टीका आभाहरु छचल्किएका छन् । उसको बिछोडमा....
बिछोडको बेदना, पीडा कति नमिठो हुँदोरहेछ नचाहेर पनि भोगिरहनुपर्ने । जुनीजुनीसँगै बाँच्ने बाचा- कसम हुँदा हुँदै पनि मिलनका कसमहरु पूरा गर्न नसक्दा  यो बिछोडको पलमा तड्पिरहनुको बिकल्प भेट्न निक्कै  कठीन हुनेरहेछ । जब समय र परिस्थितिले अनौठो बिवशता, अप्ठेराहरु अगाडि तेर्साउँछ अनि चुपचाप सहेर धैर्य गर्दै हिडन सक्नुपर्ने रहेछ । सधैँ सँगै बस्ने  वाचा हुँदा पनि  बाध्यताबस हाम्रो साथ छुट्यो  कुनै पनि कुराको सुनियोजित आरम्भ र अन्त्य नहुने रहेछ । हाम्रो मिलन बिछोडको कथा पनि यस्तै भइदियो ।

 फेरि उहि आफ्नै  पुरानो काममा फर्किए उही निरासा उही सुन्यता एक्लोपनमा तर उसको  निस्सिम मायाले  जिन्दगीमा नयाँपनको आभास , हौसला र प्रेरणाले  म जगमगाइरहेको अनुभूति गर्दै थिएँ ।  दिनहुँ डिजिटल्ली हाम्रो भेटघाट भईरहन्थ्यो र भावनाहरुको सटासाट भईरहन्थ्यो । लगभग ६ महिनासम्म निरन्तर यहि प्रकृया चलिरह्यो । तर अनपेक्षाकृतरुपमा  एकाएक म भित्रको घाम सदा झै उदाउन छोडिदियो । अनेकौ तर्कनाको आँधिहुरी म भित्र चल्न थाल्यो । म आश्चर्य  चकित भएँ, म फेरि तडपिएँ फेरि छटपटिएँ मैले कारण बुझ्न धेरै कोशिश गरेँ  ! धेरै खोज तलास अनि लामो  प्रयास पछि उसको एउटा  मित्रबाट थाहा पाएँ  उसले आफ्नै संसार बनाइसकेछ आफ्नो घरजम गरिसकेछ  !

मायाप्रेम भौतिक शरीरको प्राप्ति र  विवाहको लागि  मात्र होइन भन्ने थाहा हुँदाहुँदै पनि थोरै समय त पागल झैँ भएँ रोएँ, कराएँ, बेहोस् झैँ भएर बर्बराउदै हिंडे, किनभने मैले  त आफ्नो श्रद्धा, आदर्श, प्रेम, भक्ति, अनि सम्पूर्ण जीवन उसैमा समर्पित गरिसकेकी थिएँ।
 हरेक कुराको औषधी समय नै रहेछ । संसारलाई हेरेर धेरै समयपछि आफैले आफूलाई सझाएँ । यो संसारमा स्थायी रुपमा कोही कसैको हुन सक्दैन भन्ने महसुस गरेँ । जीवनमा कोहीसँग भेटिनु र छुट्टिनु त यौटा संयोगमात्र हो । जे जस्तो भए पनि उस्ले मलाई बिर्सन नसक्ने प्रेम दिएर गयो । म जति बिर्सन खोज्छु उसको याद उति नै मीठो बनेर मनमस्तिष्कमा सल्बलाउँछ । मैले सदैव माया गरेको मान्छेको जीवन सधैं सुखी र खुशी रहोस् म सँधै यही कामना गर्छु अनि म पनि  एउटा नयाँ उमङ्ग बोकेर जिउनेछु, एउटा अर्कै  नयाँ जीवन ।

आज "भ्यालेनटाइन्स डे "अर्थात प्रेम दिवस ! बर्सौ  देखि मनमा थाँती  राखेका मनका भावनाहरु एकर्कामा साट्न  सबै आतुर देखिन्छन् । जताततै प्रेमकै चर्चा छ । यो भ्यालेनटाइनको प्रेममय उत्सबमा टेलिभिजन, सञ्चार माध्यम सबैतिर   राता गुलाफका गुच्छा अनि रङिबिरङी  पोष्टकार्डरुका उपहार,  अनि प्रेमी प्रेमिकाको चहलपहल देखिन्छ। पटकाका उल्लासमय धुनहरु सुन्दा, हेर्दा आँफैलाई प्रश्न गर्छु, " के  सबैले प्रेमदिवस मनाउँदा म चाँहि प्रेम दिवस मनाउँन  नालायक अनि असमर्थ छु र ? "अहँ म नालायक छैन ।
मैले पनि त  कसैसँग प्रेम गरेको थिएँ, छु र गरिरहने छु । मेरो हृदयमा उसकैलागि मायाको भेल बगिरहेछ । समय बदलिए पनि परिस्थिति जे जस्तोसुकै  भए पनि  उसको  माया  मेरो मुटुमा अझै छचल्किरहेको छ।   म  चाहन्छु उ जहाँ भए पनि जस्तोसुकै अवस्थामा भएपनि उसको भौतिक शरीर मैले  नपाए पनि उसँगै सारा जीवन काट्न नपाए  पनि   मेरो हृदयमा मायाको सागर सधैँ उर्लिरहेकोछ सिर्फ उसैको लागि ! माया कुनै बस्त्र होइन नयाँ छँदा लगायो पुरानो भएपछि फाल्यो । माया त आइसियुमा दिने  अक्सिजन जस्तै हो जसले मानिसको प्रतिकुल, कठोर एवं पीडादायी क्षणमा समेत खुशी र जीवन प्रदान गरिरहेको हुन्छ ! म उसको मायालाइ सदैव अटल राख्नेछु । मेरो मंगलमय कामनाले उसको जीवन  सधै फुलोस फलोस ! उसको आशा  अनि रहरहरू  अजम्बरी बनेर नमुर्झाउने गरी  सँधै फक्रिरहोस युगौं युगसम्म ।सँधै मैले माया गरिरहेको नायक  उही मेरो  असिम हो !

उसको जीवन  निरन्तर बहिरहोस् भनेर कामना गर्ने किनाराको मन उर्फ म अदी  !




भगवति बस्नेत
इजरायल
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com