![]() |
| रविन्द्र समीर |
" जीवनमा केही उपलब्धिमूलक काम गर्न सकिएन .......सबैतिर असफताबाहेक हात लाग्यो शून्य " ब्राम्हण पण्डित नारायणहरिले लोकल ठर्रासँग बूढो राँगोको सेकुवा चपाउँदै निरासा व्यक्त गरे।
ईश्वरको वरदान भनेर सन्तानको ...बाबु हुँदा पनि उनीसँग दुईजना छोरीमात्र बाँकी रहेका थिए, शेष अल्पायुमै यमराजको संसारमा पुगिसकेका थिए।
मनबहादुर विश्वकर्मा पनि त्यही होटेलमा दूधको सुर्को तान्दै पण्डितलाई सम्झाउन थाले " आ पण्डितजी पनि ......चौरासी पूजा गरेको चार वर्ष भइसक्यो, केको असफलता नि ? "
" हजुरको एउटा पुत्र सर्पले टोकेर मर्यो, दोस्रो भीरबाट खसेर, तेस्रो सडक दूर्घटनामा परेर, चौथो विषमज्वरको सिकार भएर, पाँचौ लागूपदार्थले कुहिएर, छैठौँ डाँकाहरूले छप्काएर, सातौँ छोरी प्रसव वेदनाले छट्पटिएर, आठौँ दोहोरो भिडन्तमा ढाल भएर, नवौँ हिँड्दाहिँड्दै हृदयघात भएर, दसौँ विद्रोही भएर, एघारौँ सुरक्षा फौज भएर ......! गर्भमा बीजारोपण भएदेखि प्रत्येक पल मृत्युका खुडि्कलाहरू पार गर्दै बूढो होउञ्जेल बाँच्न पाउनु सानो सफलता हो? "
पण्डितजीलाई मनबहादुरको तर्क बेजोड लाग्यो। प्रत्येक पल करोडौँ भवितव्यहरू पार गरेर आजको युगमा पनि " बूढो " हुन पाएकोमा पण्डितजीको नाक घिरौँला जत्रो भयो।
https://www.facebook.com/sameer.rabindra





ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
