भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

पटक पटकको परिवर्तनले देश र जनतालाई के दियो ?

सम्प्रेषक : खांट्टी कुरा Tuesday, November 4, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
जनक मान डंगोल ।janakdangol@gmail.com

२०३६/३७ सालतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माले हालको एमालेको बिधार्थी संगठन ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन’मा लागेका बिधार्थीहरूले गाउँ गाउँमा सभा सम्मेलन गर्दै हिड्दा सभा सम्मेलनको बिचमा गीत संगीतबाट जनतालाई मनोरंजन प्रदान गर्ने गर्दथे ! त्यसो गर्नुको मुख्य कारण जनतालाई आफ्नो पार्टी प्रति आकर्षित गराउनु हो र त्यही चलन अहिले सबै राजनीतिक पार्टीहरूले सिकेका छन !
त्यो बेला अर्थात मेरो उमेर १४/१५ वर्षको हुँदा बिधार्थी फाँटका कलाकारहरूले गाउँदै नाच्दै गरेको गीतहरू मध्येको दुई गीतको शिर्षक मैले आजसम्म पनि भुलेको छैन ! गाउँका शोषित, पिडित नारीहरूलाई गीत संगीतको माध्यमबाट चेतना दिने उद्धेश्यले गाईएको गीत मध्ये ‘लौ उठ नारी अब एकजुट भई देउ, कति संधै दासी हुने’ भन्ने गीतले आजको ३५ वर्षमा आईपुग्दा के कति नारीहरूमा चेतना जाग्यो र त्यो चेतनाले घर, टोल समाज हुँदै देशमा के कति आमुल परिवर्तन भयो त्यो सबैले देखेकै भोगेकै छौ !

साउको ऋण तिर्न भनी गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरि फर्केन


गाउँको शोषक र सामन्तले गरेको अत्याचारको पृष्ठभूमिलाई आधार मानेर गाईएको त्यो गीतले गाउँ समाजमा के कस्तो सकारात्मक सन्देश दियो त्यो पनि प्रस्ट देखिएकै छ ! हिजो अर्थात मेरो बाबुको पालामा साउको ऋण तिर्न भारत अर्थात मुग्लान भासिने चलन थियो ! आज मेरो पालामा पनि साउको ऋण तिर्न खाडी मलेस्या भासिन बाध्य छौ भने नेपालमा २०२८ साल देखि कम्युनिस्टहरूले जगाएको राजनीति शिक्षा दीक्षाले को कसलाई के कति फाईदा पुग्यो त्यो गाउँ समाजको तस्बिरले प्रस्ट पार्ने हुँदा यो पंक्तिकारले बयान गर्नु जरुरि छैन !
आफ्नो राजनीतिक फाईदाको लागि हाम्रा कांग्रेस देखि कम्युनिस्टका नेताहरूले भाषण, प्रशिक्षण आदिको मद्धतले जोस भर्ने काम गरे खास गरी युवा युवतीहरूमा ! धर्म, जातपात मान्नु हुन्न भनेर हरेक कुरामा ‘जनवादी’ भन्ने सब्द राखेर दिइएको प्रशिक्षणले गर्दा यो ३५ वर्षमा देश कुनै पनि बेलामा जातीय आन्दोलनले सखाप हुने भय दिन प्रतिदिन बढ्दै छ !
धर्म मान्नु हुन्न भनेर जनतालाई उचाल्ने हाम्रा कम्युनिस्ट पार्टी खास गरी अहिलेको एमाले देखि मालेहरूले धर्म मान्छन कि मान्दैनन भन्ने कुरा दोश्रो पटक प्रजातन्त्र स्थापनाको २ वर्ष पछि जनताले महसुस गर्न थालिसकेका थिए ! भनाई र गराईमा आकास जमिनको फरक देखाउने नेपालको कम्युनिस्ट पार्टीहरूको चरित्र कोही कसैले विश्वास गर्न सक्दैन ३५ वर्षमा आफ्नै आँखाले देखिएको प्रत्यक्ष घटना हो यो !
हिजो मालेपछि एमालेहरूले जे जे गरे जुन जुन बाटोमा हिडे आज त्यसैको सतप्रतिसत नक्कल गर्दै माओवादी पार्टीहरू हिडेका छन ! माले एमाले देखि माओवादी हुँदै तीन दर्जनको हाराहारीमा रहेको नेपालको सबै कम्युनिस्ट पार्टीहरूको झण्डा, रंग देखि पहिचान एकै हो कि हैन ?

जनताको बीचमा जाँदा बडो आत्मियताको साथ मधुर बचनले बोलिने सब्दहरूमा केही भिन्नता छ ? अभिवादन सबैले ‘लाल सलाम’ देखि नामको अगाडि ‘कमरेड’ सबैले प्रयोग गर्छन भने नेपालमा कम्युनिस्ट पार्टी ३ दर्जन किन ?
कुनै पनि देशले सरकार चलाउन सुरुमा फौजको दरकार पर्छ र त्यस्ता फौजलाई पाल्नको निमित्त जनताले तिरेको कुत, तिरोको सदुपयोग गर्छन ! राजनीतिक पार्टीहरूको पनि आफ्नै फौज जस्तै संगठन छ भने त्यसलाई संचालन गर्न रकमको जरुरत पर्छ कि पर्दैन ?
गरिब जनताले सरकारलाई अनिवार्य कर तिर्नु पर्छ र कर तिर्नु नागरिकको दायित्व भित्र पनि पर्छ तर जनताले कर सरकार देखि राजनैतिक पार्टीहरूलाई ‘लेबी’ भन्दै सहयोगको तिर्दा तिर्दा लखतरान हुन्छन भने ती गरिब जनताको सन्तान ‘मुग्लान’ भासिन बाध्य हुन्छन कि हुन्नन ?
मुग्लान भासिन बाध्य बनाउने अनि ‘साउको ऋण तिर्न भनी गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरि फर्केन’ भनेर गीत गाउदै हिड्नु त्यो जस्तो हास्यापद अरु के हुन्छ ? ‘साउको ऋण तिर्न जाने हर्कजितेहरू’ मध्येको केहीलाई भए पनि हिजो कांग्रेस देखि कम्युनिस्टहरूले भन्ने गरेको निरंकुस एक दलीय पंचायती सरकारले रोजगार दिनलाई उधोग धन्दा खोलेको थियो कि थिएनन ?
त्यही उधोग धन्दाहरूलाई पनि बन्द गराउन दिनहु बन्द हड्ताल देखि तोडफोड गर्न हर्कजितेहरूलाई उक्साको कारणले गर्दा आज ती उधोग कलकारखानाहरू सही सलामत छन ? निजीकरणको नारा दिंदै सबै कल कारखाना स्वाहा बनाईए र पछि बिदेशीले खोलेका कल कारखानामा ठेकेदारी देखि हिजाज सबैमा ठेकेदारी प्रथा हुलेर नेता देखि तिनका आसेपासे मात्र मोटाउने तर हर्कजितेहरूलाई साउको ऋण तिर्न मुग्लान जान बाध्य बनाउने कांग्रेस कम्युनिस्टका नेताहरूले ‘साउको ऋण तिर्न भनी गाको मेरो छोरो, मेरो बाबा हर्कजित फेरि फर्केन’ भनेर गीत किन गाउन लगाए ?

हिजो साउको ऋण तिर्न नजिकको छिमेकी मुलुक भारतमा सयमा एक्कादुक्का जान्थे भने अहिले गाउँ टोलनै खालि हुने गरेर हर्कजिते जस्ता युवाहरू र तिनै हर्कजितेका दिदी बहिनी जस्ता युवतीहरू काम र मामको सिलसिलामा ऋण काढेर बिदेश जान बाध्य पारेका छन भने कांग्रेस तथा कम्युनिस्टहरूले जनता जगाएर गरेको परिवर्तनले आखिरमा देश र जनताले के पायो ?
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com