भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

ह्याप्पी भ्यालेन्टाइन डे रे !

सम्प्रेषक : खांट्टी कुरा Monday, February 17, 2014
खांट्टी कुरा
----
बिषयक्रम :
हाम्रो बाजे बराजुले के डे मनाए त्यो यो बबुरोलाई थाहा नाइँ ! मलाइ जन्म दिने बाले चैँ हाम्लाई पाल्न पढाउन र लेखाउन ‘गधा जोताई डे’ मज्जैले मनाम्नु भाको यो आँखाले उल्कै संग देखेको थियो ! त्यसैको असरले होला हाम्ले पनि मज्जाले सानै देखि घाँस काटने, भकारो सोर्ने, गोठालो जाने देखि लिएर घट्टा आफु भन्दा ठुलो धोक्रो बोकेर कोदो मकै पिन्न समेत गईयेकै थियो !
यी सबै तपसिलका कुरा हुँदाहुँदै पनि पढ्न र लेख्न पाइएको थियो ! ब्यान ९ नबज्दै एक डल्लो ढेडो हांग्राले पांग्रा निलेको स्टाइलमा निलेर नेपालको प्रख्यात धावक बैकुण्ठ मानन्धर स्टाइला नकुदे माड्साबको सिर्कनो उपहार पाइने डरले भए पनि समयमै स्कुल पुग्नु पर्ने बाध्यता छदै थियो ! दिउसो १ बजे पाले दाइले ट्याङ्ग ट्याङ्ग पारेसी कुवामा गएर टन्न अजुली भरि टिफिन खाइन्थ्यो !
तर,
हिजो आज अर्थात २०४६ साल पछी नेपाला नयाँ नयाँ तौर तरिका भित्रियो ! सरकारी स्कुला भुराभुरी पढायो भने कुलको नाक काटिन्छ, प्रेस्टिज जान्छरे भन्दै प्राइभेट लिमिटेड स्कुला भुराभुरी भर्ति गर्ने प्रतियोगिता चलेको छ ! पैले पाउ कस्ट गर्ने बाउ आमाका भुराभुरिले घटीमा पनि टेम्पो/रिक्साको यात्रा अनि टिफिना बाइबाइ चाउचाउ देखि टोस्ट पाउरोटी फाल्फुल हुनु पर्ने रे !
जस्तो सिकायो त्यस्तै हुन्छ भन्ने मान्यता हुन्च्च भन्छन ! बाले काले अंगारे काठा सिलौटो बोके, हाम्ले किताप,कापी कलम  बोक्याथ्यु तर अहिलेकाले बुक कपी पेन बोक्न थाले ! हाम्ले ढोग गरे बा आमा भन्थ्यौ अहिलेकाले ब्यानै गुड मार्निंग रे भन्न थाले ! हाइ गुड मार्निंग ड्याड/मोम भन्दा देखिस हाम्रा भुराले औरेजी कस्ता जानेका भनेर बा आमाको नाक घिरौला जत्रो पार्नुको मज्जै बेग्लै !
बाजेले बज्यै बे गर्दा लाजले १ महिना सम्म बोल्नु भयनरे बज्यै सित ! बा ले चैँ बे गर्नेमा केटि हेर्न जाने चलन बसी सकेको रैछ ! हाम्ले पनि पर बाट केटि हेरेर बे गरेउ तर अहिलेका ले जुँगाको रेखी नबस्दै ‘हाइ आइ लभ यु’ ‘आइ मिस यु’ भन्न सिकेछन ! छोरा छोरी संसरबार बिहानै छिट्टो उठेर मन्दिर गयो भनेर के मक्ख पर्नु मन्दिरमै अघिल्लो दिना डेटिङ फिक्स भै सकेको हुँदो रैछ !
बैसाख १ गते नेपाली ह्याप्पी न्यु इएर बाट सुरु हुने ईयेर चैते दसैँ मा आएर स्टप हुन्छ भने ह्याप्पी फ्रेन्ससिप डे, ह्याप्पी रोज डे, ह्याप्पी फादर डे, मदर डे देखि भ्यालेन्टाइन डे रे पनि छदैछ ! अनि यो भ्यालेन्टाइन डे भन्ने चैँ उहिले गोरा हो कि कुइर्या देसा लभर र लभरनीको सम्झना गर्दै मनाको रे भनेर हाम्रो नयाँ नेपाला पनि इम्पोर्ट गरेर ल्याकारे !
यो चौबिस बर्षा नयाँ नेपाला के के बिकास भो त्यो म जाबोले के बयान गराई भो र ! प्रभुको कृपा र हाम्रा महान पार्टीका महान नेताज्युह्रुको कृपाले नेपालको मुसे जाज चढेर खाडी मलेस्या आम्न पाइयो ! यता हामि पनि ह्याप्पी ह्याप्पी छम कि अन ह्याप्पी छम त्यो त उनै भगवान,गड देखि अल्लाह सम्म लाइ थाहा होला तर हाम्रा भुरा भुरीहरु ह्याप्पी बर्थडे, रोज डे देखि भ्यालेन्टाइन डे मनाम्दै छन ! नयाँ गणतन्त्रे नेपाला हाम्रो लागी यो भन्दा ठुलो उपलब्धि अरु के हुन्छ र ?


.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com