ब्लग चौतारी
साहित्यिक खबर
ब्लगिङ/ डायरी
पछिल्ला ब्लग पोस्टहरु :
मेरो इजरायल बसाइको अन्तिम घडी नजिकिँदै गर्दा यो देशलार्इ बाइबाइ गर्नु अघि कुनै अविष्मरणीय यात्रानुभव त सँगाल्नै पर्छ भन्ने लागिरहेको थियो ।यत्तिकैमा २०६८ सालको आगमनलार्इ स्वागत गर्न नेपाली केयरगिभरहरूको ठूलो समूहले इलात सहरलार्इ रोजेका छन् भनेर नेपाल कामदार मञ्चकी अध्यक्ष रितु गिरीले जानकारी गराउनु भयो ।इजरायलको दक्षिणी सीमामा अवस्थित प्रसिद्ध नगरी इलात देशी विदेशी पर्यटकहरूको रोज्जा गन्तव्य स्थल हो ।त्यसैले मैले पनि इलात यात्राका लागि खुट्टो उचालेँ ।
भ्रमणमा निस्किनु अघि सविखाको हेरचाहका लागि मैले राधिकालार्इ उनीसँग बस्ने व्यवस्था मिलाइदिएकी थिएँ ।घरमा आफ्नो विकल्प तयार भएपछि अब म फुक्का भएँ र अप्रिल पन्ध्र शुक्रबार बेलुका आ ठ बजे होलोनबाट तेलभिवतर्फ प्रस्थान गरेँ ।इजरायली हरूको सब्बाथ (रमाइलो शुक्रवार ) सुरू भइसकेको थियो ।सार्वजनिक यातायतका साधनहरू ग्यारेजमा थन्किसकेकाले सडकहरू सुनसान देखिन्थे । ।अब मैले ट्याक्सीमा जानु पर्ने भयो ।सवारी अभावको फाइदा उठाउँदै ट्याक्सी ड्राइभरले सात मिनेटको बाटाका लागि ५० सेकेल (१०००ने. रू. ) ठटायो । तेलभिव पुग्ने बित्तिकै मैले सरिता दिदीलार्इ फोन गरेँ। वहाँ एडभान्स् मनि ट्रान्फरमा बस्नु भएको रहेछ । सरासर उतै गएँ ।त्यहाँ पुगेपछि थाहा पाएँ इलात यात्राका लागि चार अोटा वस रिजर्भ गरिएको रहेछ । एउटा बस नेपालइजरायल डट नेटको ,अर्को तेन्जिङ जीको टोली ,अर्को तमु समाजको र म जानु पर्ने चाहिँ चिरञ्जीवी पाण्डे जी अगुवा रहेको टोली थियो । यात्रा सुरू हुनु अघि लिभिन्सी पार्कमा जम्मा भएका साथीहरूसँग भलाकुसारी गरेर केही समय बिताइयो ।

बेलुका ९:३० बजे तिर अ. ने .सा .स. इजरायल च्याप्टरका उपाध्यक्ष कुमार जी र सल्लाहकार सुमन जीसँग मणी दाइको पसल अगाडि भेट भयो ।मैले मेरो यात्राको टोलीनायक चिरञ्जीवी पाण्डे जीलार्इ प्रत्यक्ष भेटेकी थिइनँ ।कुमार जीकै सहयोगमा चिरञ्जीवी जीसँग परिचय भयो । मणि दाइकै पसल अगाडि केही बेर हाम्रो भलाकुसारी भयो ।गीत संगीतमा र साहित्यका बारेमा गफगाफ भए ।सुमन जीले चाँढै एउटा गीति एल्वम निकाल्दै हुनुहुँदो रहेछ, थाहा पाएर खुसी लाग्यो ।११ बज्नै लाग्दा लिभिन्स्की पार्कको पश्चिमतर्फ हाम्रो यात्राको बस देखा परेपछि साथीहरूसँगै म पनि त्यसतर्फ लागेँ । तालिका अनुसार ११ बजे छुट्नु पर्ने बस हाइफाबाट एक दम्पति आउन ढिला भएकाले अरू १ घण्टा त्यहीँ रोकिनु पर्यो ।रातको १२ बजे बल्ल यात्राको साइत जुर्यो । तेलभिवबाट होलोन सहरको दोबोज, होलोन सिमेटरी ,रिसोन्ले चियोन , मोदिइन सहर हुँदै हाम्रो बस हाइवेतिर बढ्यो । लामो प्रतीक्षापछि बल्लतल्ल गुडेको बसयात्राको सुख राम्ररी अनुभव गर्न नपाउँदै एउटी छ महिने शिशुको शास्त्रीय रोदन रागले बस नै जुरूक्कै उचालियो । ती बच्चीका आमाबाका अनुसार मध्य रात्रीको सन्नाटालार्इ चिर्दै उच्च विटमा रोदन राग अलाप्नु तिनको नियमित साधना रहेछ ।जन्मेदेखि आजपर्यन्त तिनले एकै रात पनि यो नियमित अभ्यास टुटाएकी छैनन् भन्ने सुन्दा साह्रै अचम्म लाग्यो ।यो अचम्मलार्इ फिका बनाउँदै यात्रालार्इ नै मादक तुल्याउने गरी अर्को लीला सुरू भयो ।नेपाली दिदी र इजरायली भिनाजुको एक जोडीले हिन्दी गानाको तालमा च्वाक्क च्वाक्क म्वाइ खाँदै कसिलो अँगालोमा बेरिँदा कता कता अङ्ग्रेजी फिलिमकै झझल्को आउँथ्यो । इजरायली भिनाजु त आफ्नै दुनियाँमा थिए तर नेपाली दिदी सारा माइतीकै सामुन्ने वेपर्बाह लठारिएको देख्दा हे दैव !भनेर जिब्रो टोक्ने म मात्र थिइनँ ।
आहा! इजरायलको सक्कली अनुहार त सहर बाहिर निस्केपछि पो देखिने रहेछ ।दोस्रो विश्वयुद्दताका हिटलरको नृशंस दमनमा परी साठी लाख यहुदीले ज्यान गुमाएका थिए रे ।त्यो त्रासदीले झन्डै सत्तरी वर्ष टेक्नै लाग्दा आज संसारकै एकमात्र यहुदी राज्य इजरायलमा बसोवास गर्ने जनताको सङ्ख्या पनि सत्तरी लाख पुगनपुग छ । यो रमाइलो संयोजनका पछाडि संसारबाट लखेटिएका यहुदीहरूले सङ्घर्ष र लगनको कस्तो कीर्तिमान बनाएका छन् त्यो हेर्न एकपटक इजरायलका गाउँ बस्ती चाहार्नै पर्ने रहेछ ।देश सानै भए पनि भूगोलका अनुपातमा जनसङ्या थोरै भएकाले सहरी क्षेत्र र कृषि फारम बाहेक अन्यत्र उराठ लाग्दो बालुवाको विस्कुन मात्र देख्न पाइन्छ । निष्प्राण शव जस्तो डङ्ग्रङ्ग पल्टेको विशाल मरूभूमिको छातीमाथि हामी निकै बेरसम्म गुडिरह्यैँ ।
तेलभिवबाट ९८किलोमिटर छिचोलेपछि रातको ३ बजे हामी उत्तरी मृत सागरमा पुग्यौ ।इलात जाँदा बाटामा पर्ने त्यो नुनिलो सागरमा नुहाउने योजना अनुरूप हामी दुर्इ घण्टाका लागि रोकियौँ । विश्वकै सर्वाधिक उचाइमा रहेको सगरमाथाका बासिन्दाका लागि संसारकै सर्वाधिक गहिरो सागरमा डुबुल्की मार्ने अवसर साँच्चिकै दुर्लभ संयोग थियो ।मृत सागरमा नूनको मात्रा बढी भएकाले पानी नबगी एकै ठाउँ जमे जस्तो भएर बसेको हुँदो रहेछ र त्यसले मानिसलार्इ नडुबाउने रहेछ ।मैले यसअघि पनि एक पल्ट मृत सागरको यात्रा गर्ने अवसर पाएकी थिएँ ।त्यतिखेर दिउँसो भएकाले पानीमाथि बसेर आनन्द लिइरहेका इजरायलीहरूलार्इ देखेकी थिएँ ।यस पालि राती भएकाले त्यस्तो दृष्य हेर्ने सौभाग्य पाइनँ ।भन्नु मात्र राती ,समुद्र किनारमा रहेका भव्य होटल र होटल अगाडि पछाडिका ठूला ठूला पार्कमा रहेका बत्तीले मध्य दिउँसोको घामझैँ झलमल्ल उज्यालो थियो ।बाहिरको बातावरण केही चिसो भए पनि नुनिलो पानी तातो हुनाले केही साथीहरू रमाइ रमाइ पानीमा खेल्न थाले ।मलार्इ भने किन किन पानीमा पस्न मन लागेन र केही साथीहरू सहित वरिपरिको दृष्यावलोकनमा भुलेँ ।खास खास ठाउँको फोटो र भिडियो खिँचेँ ।एउटा सानो पार्कमा बसेर केही खाने कुरा खाइ सकेपछि करिव ५ बजे विहान हामी त्यहाँबाट अगाडि बढ्यौ ।इजरायल आएदेखि नै मैले नेगेभ मरूभूमि बारे सुनेकी थिएँ तर भ्रमणको मै।का जुरेको थिएन ।निक्कै दूरीमा बढो मुस्किलले फाट्टफुट्ट देखा पर्ने बयरका रूखा बुट्यानहरू र घुम्तीघरहरूले मात्र यो धर्तीकै कुनै भूभाग होला भन्न कर लाग्थ्यो नत्र त चराचुरूङ्गी समेत बसोबास नगर्ने त्यो बालुवाको साम्राज्य आठै दिशा परपरसम्म फैलिएर क्षितिजपारि आकाशमै जोडिएको जस्तो देखिन्थ्यो ।त्यसमाथि सब्बाथ (शनिबार)को बिहानी भएकाले सुनसान बाटाभरि हाम्रै बसको एकछत्र राज थियो ।त्यो मरूभूमिमाथि निकै बेरसम्म गाडी गुडिरहँदा मैले काठमाडाबाट झापा जाँदाको लामो यात्रामा देखेको जचाततै हरियाली , जङ्गलैजङ्गल र कन्चन पानी बग्ने खोलानालाहरूको मनोरम दृष्यलार्इ झल्झली सम्झिरहेँ ।
जीवनको यो अभूतपूर्व मरूभूमि यात्रा रोमान्चक मात्र नभएर पीडादायी पनि थियो ।त्यहाँको विकास निर्माण देख्ने बित्तिकै नेपालको याद आउँथ्यो र त्यतिखेर पीडा मात्र बाँकी रहन्थ्यो ।त्यहाँको चमकदमकमा एक छिन भुले पनि तुरून्तै मन हुत्तिएर आफनो धरातलमा ठोक्किन अ।इ पुग्दा साह्रै नमज्जा लाग्थ्यो ।हैन ,एक थोपो पानीका लागि तड्पिनु पर्ने यो बन्जर भूमिमा यहुदीहरूले हरिया नोट फलाए तर जताततै रहियाली र पानीका अजस्र स्रोत भएका हामी अँध्यारा गाउँ सहरमा काकाकुल जिन्दगी बाँच्न अभिशप्त छाँ ।नेपाल इजरायल भन्दा उन्नत राष्ट्र हुनका लागि एउटा कुराको मात्र कमी छ त्यो हो जाँगर र एकता ।यहुदीबाट नेपालीले यति मात्र कुरा सिक्ने हो भने हाम्रा सन्ततिले रोजगारीका लागि बिदेसिनु पर्दैन ।सोचाइको यो शृङ्खला गाडीको ब्रेक सँगै घ्याच्च रोकियो ।इलात सहरको रोयल विच अगाडि पुगेर गाडी रोकिँदा बिहानको नौ बजेको रहेछ ।
बिहानको घमाइलो समुद्री किनारमा उभिएर मैले चारैतिर आँखा घुमाएँ । आकास सफा थियो र घामका तेजिला किरणहरू धर्तीमा ओर्लि सकेका थिए ।अप्रिल १५ तिरै यत्तिको गर्मी अनुभव हुने यस ठाउँमा अगस्टतिर कस्तो हुँदो हो भन्ने सम्झेँ ।हाम्रा टोली नायक चिरञ्जीवीले लाल सागरमा जहाज यात्राका लागि तयार हुन भन्नु भयो ।लाल सागर जोर्डन र इजरायलको सीमा रेखा रहेछ ।पारिपट्टि किनारामा जोर्डन सहर थपक्क बसेको देखिन्थ्यो ।सहर बिचमा रहेको सेतो टलक्क परेको अग्लो घरलार्इ साथीहरू औंलाले इसारा गर्दै चिनाइरहेका थिए ।त्यो जोर्डनका राजाको दरबार रहेछ ।तीन वर्षअघि भूमध्य सागरमा दुइ तले पानी जहाज चढेकी थिएँ ।एक बर्ष अघि हर्चेलिया विचमा सानो डुङ्गा चढ्दा डरले थररर कामेकी थिएँ तर ठूलो पानीजहाज चढ्दा त्यसरी डराउनु पर्दैन भनेर आफैँलार्इ सम्झाउँदै जहाजको भर्याङतर्फ निर्धक्क पाइला बढाएँ ।जहाजको दोस्रो तलामा बसेर यात्रा गर्दा खास रमाइलो पाइन्छ भन्ने सुनेकाले म सरासर दोस्रो तलामा उक्लेँ ।लगभग सय जना अटाउने त्यस तलाको बिचमा खाली ठाउँ र वरिपरि तिन लाइन कुर्सी राखिएका थिए ।अगाडि काउन्टर र त्यसअघि एउटा छुट्टै कोठा पनि थियो ।जहाजले बिस्तारै गति लियो , सँगसँगै हिब्रू गीतले पनि । इजरायलका लोकप्रिय गायक इयाल गोलानका गीतहरू नबुझे पनि साथीहरू कम्मर मर्काउन थाले ।गीतको घन्काइ र साथीहरूको झुमाइले वातावरणमा मादकता छायो । सरिता दिदी र म पालैपालो जहाजको बरन्डामा उभिएर समुद्रको टाढा टाढा र जोर्डन सहरको दृष्यलार्इ क्यामेरामा कैद गर्न थाल्यौँ ।
बिस्तारै जहाजको गति तेज हुँदै गयो ।किनारालार्इ छाडेर अलिक पर पुगेपछि डल्फिनहरू लडिबुडी गरेको देख्यौँ ।डल्फिनलार्इ आँखै अघि देख्न पाउँदा खुसीले फुरूङ्गै भएका हामीलर्इ काउन्टरमा बसेका इजरायली बाजेले नियालेर हेरे र तल्लो तलाबाट त समुद्रको पिँधै देख्न सकिन्छ भने । यो दुर्लभ दृष्य हेर्न साथीहरूसँगै म हतार हतार तल्लो तला तर्फ बढेँ ।त्यहाँ एक किसिमको लेन्सवाला सिसा राखिएको हुँदो रहेछ र त्यसबाट समुद्रको पिँध देखिँदो रहेछ ।निकै बेर पानी बगेको हेरेपछि समुद्री सतहमा साना साना राता पहेंला माछाहरू मै।रीको हुल झैँ भएर तीब्र गतिमा कुदेको दृष्यमा म एकछिन अल्मलिएँ मैले ती माछाहरूलार्इ क्यामरामा कैद गर्न खोजेँ तर सफल भइनँ ।फोटो अँध्यारो आयो । एकछिन पछि म फेरि माथ्लो तलामा फर्केँ ।एकातिर इलात सहरमा ठूला ठूला होटलहरू अर्को तर्फ जोर्डन सहर ,बिचबाट फिँजारिँदै गएको लाल सागर , आहा खै के वर्णन गरूँ म सँग ठीक ठीक शब्द नै छैनन् ।त्यसैले सम्झेर भावुक भै दिन्छु ।मेरो बुद्दि र शब्दको सीमा भन्द् धेरै माथि छ यो ।समुद्रको चिसो हावासँगै म भर्याङमा बसेर निलो पानीको संसार तिर ध्यान मग्न भएँ ।क्षितिजसम्म विस्तारित शान्त जलराशी मलार्इ मुग्ध तुल्याउन काफी थियो ।
दुइ घण्टे लाल सागर यात्रा पछि अबको हाम्रो गन्तव्य मेरिन पार्क थियो ।मध्यान्न तिर हामीले मेरिन पार्कको मेरिना रेस्टुन्टमा खाना खाइ कोरल हाउस तिर लाग्यौँ । बाहिरको चर्को घामले थोरै हिँड्दैमा थकित तुल्याउँथ्यो ।सँगै यात्रारत मिना जीलार्इ कोरल हाउस बारे जानकारी रहेछ। उहाँले कोरस संसारबारे केही जानकारी गराउनु भयो ।समुद्र बिचमा हाम्रो धरहरा जस्तै जुरूक्कै उठेको एउटा घर रहेछ ।जसमा पानीमाथि सात तला र पानी मुनी सात तला रहेछन् ।यो हाम्रा लागि एउटा अश्चार्य स्तम्भ थियो ।समुद्र किनारबाट एउटा पुल हुँदै त्यो घरमा पुगेर हामी सात तला तल झर्यौँ । मेरि बास्सै ! वाटर प्रुफ लेन्सवाला सिसाका झ्यालबाट बाहिर पट्टि त समुद्रको पिंध पो देखियो ।पिंधमा थपक्क बसेका जस्ता देखिने समुद्री जीवहरू कुनै सर्प आकृतिका ,कुनै रंगीचंगी फूल जस्ता ,कुनै लहरा जस्ता ,शंख जस्ता ,झ्याम्म परेको बरको रूख जस्ता, च्याउ जस्ता ,मलमलको कपडा जस्ता ,खेलाउना पसलमा सजाएर राखिएका चित्र विचित्रका सामान जस्ता समुद्री जीवहरू ।साथीहरू भन्दै थिए ,ती जीवहरूका सरीरमा ६८ % पानी हुन्छ रे । मलार्इ बीचैमा छोराको याद आयो ।यी सबै देख्न पाए उ कसरी चिच्याउँदै उफ्रिदो हो ।मैले ती सबै जीवहरूको फोटो खिचेँ र माथि आएँ ।तलमाथि गर्दा गर्दा गोडा फत्रक्क गलिसकेका थिए ।म इच्छा भएर पनि कोरल हाउसको टुप्पामा पुग्न सकिनँ ।
हामी थ्रिडी हल तर्फ लाग्यौँ । यो मेरो लागि एउटा नौलो अनुभव थियो ।यो सिनेमा घरमा जब चलचित्र या वृत्तचित्र सुरू हुन्छ त्यो घरै चल्दो रहेछ ।सिटहरू भुइँचालोले हल्लाए जस्तो हुने ।सिट वेल्ट बाँधेर नबसे लडिने सम्भावनै हुँदो रहेछ ।पर्दाका दृष्य र चित्रहरू आफ्नो छेउमै आए जस्तो हुँदा डर पनि लाग्ने । अत्यन्तै अ नौठो लोकमा पुर्याउँदो रहेछ यो थ्रिडीले ।
अबको हाम्रो यात्रा थियो किङ सिटीको तर त्यता लाग्नु अघि हामीले सँगै यात्रारत एक जोडीलार्इ खोज्नु पर्ने भो ।नेपाली दिदी र इजरायली भिनाजुको यो जोडी कहिले ओठ जोडी रहेका हुन्थे त कहिले कुटाकुट गरिरहेका हुन्थे ।इलात पुगेपछि प्रेमालापका लागि एकान्त खोज्दै जाँदा निकै परै पुगेछन् क्यार ३८ डिग्री तापक्रमको गर्मीमा हामीलार्इ लामो समय कुराए पछि नजिकको पार्कबाट तिनीहरू फुत्त निस्किए ।हिमाली भेगको मौसम जस्तो छिन छिनमा चेन्ज हुने तिनीहरूको दिलको तापक्रम देखेर हाम्रा कन्सिरी ताति सकेका थिए तर सबैले मौन रहनु उचित ठान्यौ।
मेरिन पार्कबाट करिव दस मिनेटमा हामी किङ सिटी पुग्यौँ । डेढ घण्टामा हामीले त्यो सहर घुमी सक्नु पर्थ्यो ।हामी सरासर किङ सलोमन वाटर फल्स तिर लाग्यौँ । जहाँ कृत्रिम खोला ,छाँगा र छहरामा डुंगा सुलुलु चिप्लिन्थ्यो ।त्यो एउटा विचित्रको बनावटी संसार थियो ।हामी छ जना एउटा सानो डुंगामा बस्यौँ । हेर्दाहेर्दै त्यो डुङ्गा एउटा महल भित्र छिर्यो र कुलामा तैरिँदै अँध्यारो कोठामा पस्यो ।एक्लै भए त सासै रोकिने त्यो अन्धकारमा छ जना भएकाले डरलार्इ हाँसेर पचाउने कोसिस गर्यौँ । भित्र छिरेपछि दुबैतिरबाट कोठा बन्द भयो र डुङ्गा लिफ्टबाट माथ्लो तलामा पुग्यो ।हामीसँग एउटै मात्र विकल्प थियो, निरन्तर चकित भै रहनु । हामीले त्यसै गर्यौँ । माथ्लो तलाको आकर्षण ? भो बयान नगरौँ । किनभने त्यो परम्परित शब्दको थुप्रो मात्र हुन जान्छ ।बाइबलका आधारमा तयार पारिएका पुतली वृत्तचित्रहरू, मानव सभ्यताका सुरूवाती दिनका दैनिक गतिविधिहरू, इजिप्सियनहरूका दिनचर्या ,रहन सहन , पहिरन ,खानपान आदि विशेषता झल्काउने ती श्रव्यदृश्य मानव आकृतिहरू साँच्चिकै बोलिरहेझैँ ,हिँडिरहेझैँ, काम गरिरहेझैँ लाग्थे ।कोही बजारमा सामान बेच्दै गरेका ,कोही चाडपर्व मनाइरहेका कोही बिहे गर्दै गरेका ती सबै यहुदी थिए ।यो कृत्रिम यहुदी बस्ती जस्तोमा एक फन्का लगाएपछि डुङ्गा एक छिन रोकियो । ।यो अध्याँरो गुफामा डुङ्गा रोकिँदा एक जना साथी निकै डराइन् तर तुरून्तै ढोका खुल्दा उज्यालो मोडिएको ठाउँ आयो ।अलिकति पर पुगेपछि डुङ्गा चिप्लेर तल झर्दा मनै झसङ्ग भयो ।केही महिना पहिले कृष्णा भाउजूले यही ठाउँको भ्रमणमा छाँगाबाट खस्दा साह्रै डर लागेको कुरा पटक पटक सुनाउनु भएको थियो । यति जाबो छाँगोमै डराउनु भएछ भन्ने सम्झेर म मनमनैउपहासको हाँसो हाँस्दै थिएँ, एक्कासि छाँगाबाट डुङ्गा खस्दा धन्न मेरो सास फुत्तै बाहिर निस्केन छ ।शरीर चिसो भइसकेको ,हात गोडा लगलग कामेको ,पहेंली भएर बोल्नै नसकेको, रक्तचाप न्युन भएर होस हवास उडिसकेको रहेछ ।मेरो शरीर सन्तुलनमा फर्किन केही समय लाग्यो ।
बाहिर निस्केपछि मलार्इ एकछिन चुपचाप बसिरहनु जस्तो लाग्यो तर सरिता दिदीको घुम्ने रहरलार्इ साथ दिन म लुरूलुरू दिदीको पछि लागेँ ।छाँगाबाट खस्दा झन्डै सास रोकिएकाले मैले जोखिम पूर्ण खेलहरू तर्फ रूचि देखाइनँ ।
चै।विस घण्टे इलात यात्राले पनि मेरो तिर्सना मेटिएन ।यो लाल सागर र यसको किनार यति दर्शनीय छ कि जति हेर्यो हेरूँ लाग्ने ,जति घुम्यो घुमूँ लाग्ने । फर्कँदा मैले धेरै पर पुगुन्जेलसम्म लाल सागरलार्इ पटक पटक फर्किँदै हेर्दै गरेँ ।अब यस ठाउँमा आउने मौका यस जुनीमा त अवस्यै जुर्दैन भन्ने निश्र्चय भएपछि भर्खरैको यात्राको सुखद अनुभूतिलार्इ नै बिर्साउने गरी मन खल्लो भएर आयो ।
इजरायलको 'हुला लेक' र बर्थडे सर्प्राइज --यात्रा संस्मरण
Deeps Shah
कामको एकरसतालाई बदल्ने यो मेरो एक चतुर्याइँ हो। केही दिन सम्मको घरमै बसाइ भएपछी म झक्झक्याउँछु मेरी अन्नदाता 'चिपोरा' लाई! जसको घरेलु नाम 'चिता' । "चिता! डन्ट यु थिङ्क उइ नट गोइङ एनिहोएर फर लङ् टाइम? आई गेस उइ ह्याभ टु बि फ्रेस लिटिल बिट!" कहिले तुरुन्तै गन्तब्यको चाँजो मिलाउन लाग्छिन भने कहिले टार्छिन उसै। तर बेलाबेलामा आएआँप गए झटारो गर्न भने म छोड्दिन।
एक बिहानको मेरो चतुर्याइँले रङ्ग देखायो। हामी लाग्यौँ एक सुन्दर घमाइलो बिहानीलाई जिस्क्याउँदै एकदिनको घुमघाममा। मेरो जन्मदिनको उपहार स्वरुप भनेर चिपोराले मिलाइन् इजरायलको एक असाध्य सुन्दर स्थान' हुला लेक' को घुमघाम। अक्टोबरको सुन्दर बिहानिलाई सजाएको थियो कलिलो घामले। इजरायली आकाश सफा निलो थियो ठ्याक्कै मेरो नेपाली आकाश जस्तो। छरितो स्कर्ट र टि शर्ट शरीरमा उनेर चिपोरालाई थन्क्याएँ कारमा। मेरो ब्याग पहिलेबाटै तयार थियो सानो डायरि, पेन, पानीको बोतल, सनग्लास, मेरो पुन्टे क्यामेरा, एकपोको टिस्यु पेपर यिनै खिच्रिङ्ग मिच्रिङ्ग आदी ले। घरको मूलढोका ताला मार्दै थिएँ उता चिपोरको भतिजा ले कार स्टार्ट गरिहाल्यो। संधै झैँ पछील्लो सिटमा बसेँ। बिहानको कलिलो घाममा चकिलो बातावरणलाई नियालेर मलाई कहिल्यै पुग्दैन। छहराको पानीमा भर्खर नुहाएर डिलमा गोडा खसालेर बसेकी षोडषी झैँ लाग्ने प्रकृतिको बिहानी सौन्दर्य हेरेर अघाउने कुन मान्छे होला र संसारमा!! कारको हुइँक्याइसङ्गै बाहिरको स्निग्धता नियाल्न भनेर सन्ग्लासलाई पनि टाउकोमा टस्काएँ। कारले गती लीन थाल्यो। संधै झैँ चिपोराका काका भतिज गफिन थाले। बिहानी समय, स्कुल, अफिस, कामकाजी मान्छेको चाप रहने हुँदा सडक खचाखच थियो। निकैबेर पछी याद गरेँ हाम्रो कार मुल सडक बाट अन्तै मोडीइसकेछ। निकै बेर देखी याद गर्दै थिएँ। यो हाँगे सडक अगिको सडक भन्दा शान्त छ, ट्राफिक बत्ती एउटा पनि छैन र ठाउठाउमा सडक माथि लम्बेतन फलामे ह्याङ्गरमा के के झुन्डिएका छन् क्यामेरा जस्ता लाग्ने। निकैबेर त्यो देखेपछी मैले चिपोरालाई सोधेँ ,यो सडक यती शान्त कसरी ?? किन ट्राफिक बत्ती पनि छैन र यो ठाउठाउमा माथि झुण्ड्याइएको के हो?? चिपोराको उत्तर थियो," दिस इज पेएबल रोड,एण्ड दोज ह्याङिङ थिङ्स आर क्यामेरा।" उनका अनुसार त्यसबेला हामी बत्तिँदैगरेको सडक पैसा तिर्नुपर्ने सडक रे। जहाँ कुनै ट्राफिक क्रसिङ्ग र बत्ती छैन। छोटो र सिधा हुनेहुँदा हतारो हुनेहरु यही सडक प्रयोग गर्दारहेछन्। प्राइभेट सडक भनेपनी हुने त्यो सडकको ठाउँठाउमा मुल सडक छोडेर बाहिरिने हाँगे सडक थिए। त्यो सडक प्रयोगकर्ताले किलोमिटरको हिसाबले बिल तिर्नुपर्दो रहेछ। ति ठौठाउमा माथि झुण्ड्याइएका क्यामेराले गाडीको नबरप्लेटको फोटो सहित गूडेको किलोमिटरको गणना र हिसाबकिताब् रेकर्ड गर्दो रहेछ। र पछी बिल पठाउँदोरहेछ। कुरो सुनेर मलाई अचम्म लाग्यो। सडकमा गूडेको पनि पैसा तिर्नपर्ने?? सबैतिर त नपर्ने ,के छ यो सडकमा त्यस्तो खास्?? यि सबै सोधाईको जवाफ पाएपछी भने चित्त बुझ्यो मेरो। कुरो कस्तो रहेछ भने जनताको आवश्यकता र सुबिधा अनी पुँजी को लगानिको उचित तालमेललाई हेर्दै ठुलाठुला ज्वाइन्ट कम्पनीहरुले यस्तो बाटो निर्माण गर्दारहेछन् सरकारसङको निस्चित शर्त र मापदण्डमा । जुन बिना ट्राफिक झन्झट सजिलै र छिट्टै गन्तब्यमा पुग्न सकिने हुनाले हतारमा रहेकाहरु यही सडकबाट गूड्दा रहेछन र पैसा तिर्दारहेछन्। आजको यान्त्रिक समयका मान्छे न हुन् कस्लाई हतारो हुँदैन र? त्यसो र यस्ता सडक प्रयोगकर्ताको खाँचो हुने कुरै भएन। यसरी सडक निर्माण गरेपछी निर्माणकर्ता कम्पनिले उद्घाटनको २५ बर्ष सम्म प्रयोगकर्ताहरुबाट पैसा उठाउँदोरहेछ। र २५ बर्ष पछी उक्त सडक स्वत:: सरकारी सम्पत्ति हुनेरहेछ। क्या गज्जब! मलाई यस्तो तरिका मन पर्योि।
यसो गरिँदा १:पुँजिवालाहरुको पुंजिको उचित लगानी र सन्चालन,२: जनताले निस्चित रकम तिरेर बढी सुबिधा प्राप्त गर्न सक्ने, ३:देशको निर्माण कार्यमा टेवा पुग्दै दिर्घकालिन उपलब्धी पनि हुने।
खैर हामीमा यो पद्दती, लगानिको सुरक्षित बातावरण , दिर्घकालिन सोच र सरकारी संयन्त्रको चुस्त परिचालन् खासै भइनसकेको मुलुकमा यो त्यती प्रभाबकारी नहोला पनि। मेरो सोचको भुल्को भुल्किंदैगर्दा कारले हामीलाई हुला लेकको छेउमा पुर्याइसकेछ। कार पार्किङ गरेर टिकट किनिसकेपछी एउटा कभर्ड वागन (हेर्दा गल्फ कार जस्तो देखिने साधन) मा बसेर लाग्यौँ हुला लेकको सुन्दरता नियाल्न। टिकट काउन्टरबाट एउटा टि.भी रिमोट कन्ट्रोल जस्तो उपकरण पनि थमाइएको थियो हामीलाई.
हुला लेक उत्तरी इजरायलमा अवस्थित एक अती महत्वपूर्ण स्थान हो। जुन स्थान बिसौँ शताब्दीको सुरुवात तिर सम्म एक उपेक्षित ठाउँ थियो बिकराल मलेरियाको कारण। त्यसपछी सरकारी तवरबाट हुला लेक लाई पूर्णत: सुकाएर बिबिध औषधी किटनासक रसायनहरुको प्रयोगपछी मलेरिया मुक्त घोषित गरी सर्बसाधारणको लागि खुल्ल गरिएको अती मनोरम प्राकृतिक चित्ताकर्षक स्थल बनेको रहेछ। मलेरिया मुक्त घोषणापछी खेर्मोन को हिउँपहाडबाट पानी ल्याएर पुन: भरेपछी अहिले माइक्रो सिस्टम अनुसार लेक भित्र पानी जीबजनाबर, चराचुरुङ्गि , फ्लोरा-फाउना जस्ता स्थान बिशेषमा पाइने जीब-बनस्पतीका निमित्त पनि एक स्वर्ग बनेको रहेछ । समग्रमा हुला भ्याली भनेर चिनिने त्यो ठाउँ बिशेषगरी जाडो मौसमको सुरुवात सङ्गै जाडो छल्नका लागि युरोपबाट बथानका बथान चराहरु यहाँ आइपुग्दा रहेछन् र केही महिना यहीँ रहँदा रहेछन्। त्यसरी भेला भएका हजारौँ लाखौं चराहरुको बथानले कृषिबालिमा नोक्सान नपुर्याउन भनेर इजरायली सरकारले हजारौँ टन दाना गेडागूडी त्यहीँ भ्याली भित्रै उपलब्ध गराउनेरहेछ र त्यही मौकाको सदुपयोग गर्दै धेरै भन्दा धेरै प्रजाती चराहरुको एकमुस्ठ बसाइको अदभूत प्रदर्शनमा देशी बिदेशी पर्यटक पनि भित्र्याउँदोरहेछ। आफु त संसारकै सुन्दर प्राकृतिक हरियालिदेश बाट आएको न परेँ , प्रकृतिक सुन्दरता भनेपछी खान पनि भुल्ने मान्छे। खुशीले फुरुङ्ग हुँदै कभर्ड वागनमा सवारी चलिरह्यो। अगी काउण्टरमा दिइएको रिमोट कन्ट्रोल जस्तो उपकरणको पनि निकै पो काम रहेछ। भ्यालिमा घुम्ने एउटा ब्यबस्थित नक्सा र निर्दिष्ट दिशा रहेछ। र ठाउँठाउँमा नम्बर लेखेर बोर्ड राखेको रहेछ। घुम्दै जाँदा जती नम्बर लेखेको बोर्ड नजिक पुगिन्छ त्यो उपकरणमा त्यतिनै नम्बर थिच्दा आफु उभिएको स्थान ओरिपरि के के जीब पाईन्छन् , कस्ता बनस्पती पाईन्छन् र केके का लागि उपयोगी हुन्छन् जस्ता अनेक जानकारी रेडियोले झैँ फरर भन्दोरहेछ।
अचम्मका पानी हांस, बिभिन्न प्रजातिका चराचुरुङ्गि, पानी भित्र रहने एकखालको मुसा प्रजातिको जीब, परपर सम्म टाउको उठाएर टिल्टिल हावामा हल्लिरहेका सुनौला फूलपातहरुको अदभूत सुन्दरता नियालेर लग्भग आधा दिन घर्केपछि हाम्रो फिर्ती यात्रा सुरुभयो गलिलिको बाटो हुँदै। यतिबेला सम्म घुमघामको मज्जा सङ्गै भोकले साम्राज्य फिँजाइसकेको थियो। बाटोमा पर्ने एक ऐतिहासिक रेस्टुरेन्ट जसको नाम रहेछ 'चिकेन इन बास्केट' मा दिउसोको खाना खाएर यात्रा सुचारु गर्ने सल्लाह बमोजिम हाम्रो कार मोडियो त्यतै। जुन रेस्टुरेन्ट लग्भग इजरायलको स्वतन्त्रताकै ताका दक्षिण अमेरिकाबाट बसाइँ आएको एक धनाढ्य याहूदीले सुरुगरेको इजरायलको एक प्रसिद्द रेस्टुरेन्ट र घोडा फार्म रहेछ र उहिल्यै जवानीका दिनमा कहिले सुटुक्क जोडी त कहिले पारिवारिक रमाइलोमा चिपोरा धेरैपटक पुगेको र रमाएको रेस्टुरेन्ट पनि रहेछ। टेबल घेरेर बसेपछी मेनु लिएर वेटर आइपुगुन्जेल यती भनिभ्याइन उनले। निकै सफा, आकर्षक र ब्यबस्थित अनी खचाखच त्यो रेस्टुरेन्टको नाम त्यहा पाइने एक खाध्यपदार्थ सङ्ग जोडीएको रहेछ। साना साना भुरा कुखुराको सबेटा खस्रो पिठोमा मलेर डीप फ्राइगरेपछी सानो चिटिक्कको बांसको टोकरीमा राखेर ल्याइँदोरहेछ र त्यसको नाम रहेछ 'चिकेन इन बास्केट' । त्यही नाम नै रेस्टुरेन्टको नाम पनि रहेछ। सुन्दा रमाइलो लाग्यो र हामी तिनैजानाले खानाको मेन आइटम सङ्गै एक एक चिकेन इन बास्केट पनि अर्डर गर्यौँ। भोकले थाल खानु कि भात भएको बेलामा खाना आइपुग्यो अगाडि। खाना हेरेपछी त हामी तिनछक! चिकेन इन बास्केट त चिकेन इन डोको जस्तो पो रहेछ! एकै भागले तीन जाना त्रिप्त हुने जस्तो रहेछ तर हामी तीन को अलगलग बास्केटले राम्रै हंसायो । अझै मैले चिपोरालाई भनेँ पनी तिम्रो जवानीको पानीपंधेरो रेस्टुरेन्टको परिकारको मात्रा तिमीलाई थाहा थिएन त? पहिलाई भनु पर्थ्यो नि! उनको जवाफ थियो," लङ टाइम आ'म् नट हियर , सो आइ फर्गोट।"
साह्रै रमाइलो बातावरणमा खाना खाइओरी म फ्रेस रुममा पसेको त फर्किँदा टेबुल घेरेर दुई तीन वेटर वेट्रेस एक सानो थालिमा झिर्झिरे मैनबत्ती सहित सानो केक बोकेर "ह्याप्पी बर्थ डे! ह्यापी बर्थ डे!" भन्दै मलाई पर्खिरहेका रहेछन्। म एकछिन नभएको मौकामा चिपोराले मेरोलागी त्यो सर्प्राइजको बन्दोबस्त गरीभ्याइछिन्। एक्छिन स्तब्ध बनेँ र सबैलाई धन्यवाद भनें बिशेष चिपोरालाई। आफ्नाहरुबाट टाढा दूरदेशमा रहँदा पराइले देखाएको यो आत्मियताले साच्चै नै आँखा सजल भए र परम्परा नभएपनी मेरो खुशीको ख्यालगरी जन्मदिनको खुशीयालिमा परको मिठाइ पसलदेखी सुटुक्क केक किनेर मुस्कुराउँदै घर आउने मेरो राजाको अनुहार झल्झली त्यही झिर्झिर गरिरहेको मैनबत्तिको शिखामा कल्पिँदै एकछिन निक्कै भाबुक बनेछु। केक काट्ने र खाने कार्यक्रमको समाप्ती सङ्गै हाम्रो कार हुइँकियो घर तिर। बाटाभरी अगिको पैसा तिर्नुपर्ने रोड, हुला लेकको अलौकिक सौन्दर्यता, चिकेन इन बास्केटको चिकेन इन डोको साइज र सर्प्राइज बर्थ्डे विशको दृष्या मनभरी झिकिलमिलिक गरिरहे। मनमनै अंकित गरेँ,"मेरा महत्वपूर्ण घुमडुलको डायरिमा आजको दिन पनि उध्रित हुनेछ।"
उसो त चिपोरा तलोर जसको म रेखदेख गर्छु धार्मिक प्रब्रित्तीकी होइनन् तर पनि चाडपर्व र छुट्टीको बेलामा घर देखी बाहिर कतै घुमेर मन बहलाउन सौखिन छिन्। उनको यो सौख मेरो लागि बरदान् साबित भएको छ। गत सोमबार यस्तै काकताली पर्यो मलाई फेरी, यहुदीहरुको धार्मिक पर्व 'सुकोत' को बहानामा चिपोरा सक्सकाइन् कतै घुम्न जाने भन्दै । मैले त्यही माथि तीन मुट्ठी तेल घस्दै उकासेँ कतै प्राकृतिक छटाभएको तिर डुल्न जाउँ न त भन्दै। आफ्नो जन्म पहाडमा भएर झ्याङ्ग-बुटाबुटीमा अल्झिँदै जिन्दगीको उकालो उक्लेको स्वाभाव न हो, हरियापरिया तिरै डुल्ने आदेश दिन्छ मनले यो अत्याधुनिक सुबिधा सम्पन्न संसारमा पनि!
झोलामा स्वभावत पुन्टे डायरि, कलम र क्यामेरा राखेर आँखामा त्यसको दुगुना बडेमानको कालो चश्मा भिरेपछी मेरो बाहिरको तयारी पुरा हुन्छ भनेर चिपोरालाई राम्रो थाहा छ । योजना मुताबिक लागियो इस्राएलकै बिशाल 'हरित गृह' तिर। घर देखी करिब् एक घण्टाको दुरी सकेपछी पुगियो गन्तब्यमा। सिङ्गो इस्राएलको लगभग मध्य भागमा निर्माण गरिएको यो मनमुग्ध स्थानमा प्रबेशको लागि जाडो र गर्मी यामको लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको रहेछ । जाडोमा बिहान साँढे आठ बजेपछी प्रबेश गरेर दिउँसो ५ बजेसम्म डुल्न पाइने रहेछ भने गर्मी याममा चाँहीँ सोही समयमा प्रबेश गरेर साँझ ६ बजेसम्म डुल्दा हुने रहेछ। साथमा पाल्तु जनावर्, साइकल ,बाहिरको खाध्यपदार्थ,खेलकुदका सामग्री लैजान निषेधित उक्त पार्कमा भित्रको अण्डाकार सुन्दर हलमा पार्टी ,सेमिनार समेत गर्न सकिने रहेछ एउटा बिशेष शान्त र सुन्दर हरियाली शितल बातावरणमा।
त्यो दिनको उध्धुम गर्मिलाई छलेर बिहानको १० बजेतिरै हामी भित्र घुस्यौँ। पस्दापस्दै प्रबेशद्वार भन्दा अगाडि एउटा बडेमानको टेलिभिजन फत्फताइरहेको रहेछ हिब्रुमा सर्सर्ती पार्कको बारेमा पूर्व जानकारी बारे ,,मैले आधाआधी बुझें बाँकी बुझे जस्तो गरेँ । प्राकृतिक नै नभएपनी हरियालिको दर्शन पाइने लोभमा म त्यसै फुलेल थिएँ। हातमा क्यामेरा लिएर पहिले स्वागत ढोकामा टल्किरहेको बोर्डमा हेरें सुन्दर अक्षरमा हिब्रु र अङ्ग्रेजी दुबैमा लेखिएको थियो "युटोपिया अर्किड पार्कमा यहाँलाई स्वागत छ!"
सानो हुँदा गाउँमा घर छेउको देबीथानको पिपलको गजधम्मे रुखका हाँगा बाट उँधोमुन्टिएर लहराइरहने सुनाखरी टिप्दा घाम डुबेको पत्तो नपाउने म,, मेरो मानस्पटलमा उही देबिथाने छिर्बिरे मसिना सुनाखरी मात्र नाच्तथ्यो यदाकदा सम्झिदा। पछी कुन्नी कती कक्षामा पुगेपछी थाहा भयो ति कोमल सुनाखरिलाई अङ्ग्रेजिमा अर्किड भनिदो रहेछ। समय संगै जीवनमा कैयन उतारचढाब त आयो नै ,ती मायालु सुनाखरी बिर्साउने कैयौँ तिखा काँडे खुड्किला पनि आए। धेरै समय भैसकेको रहेछ मैले देबीथानको त्यो पिपल ,ती सेताम्य सुनाखरी र ति दिन पनि पो सम्झिएको रहेनछु।
अहिले एक्कासी यो बिरानो मुलुकमा अर्कैको भाषामा लेखिएको अर्किडले मलाई चुपचाप ति छिर्बिरे सुनाखरी र चिर्बिरे बालवयमा धकेलिदिएछ । म त गाउँको देबीथान मा बुर्कुसिँदै थिएँ "दीप्स!"चिपोरा चिच्याइन् । अहँ म त इस्राएलको सबैभन्दा ठुलो हरित गृहको युटोपिया अर्किड पार्कमा पो रहेछु। स्वर्गको कथा सबैले कथ्छन् कहन्छन् देखेको कसले छ र? मैले त्यो हरित गृहभित्रको सुन्दरता नियाल्दै सोचेँ 'स्वर्ग भनेको यतिकै मनमोहक होला!' साँच्चै नै विश्वासै गर्न नसकिने यो कल्पनाको लोक जस्तो सुन्दर ठाउँलाई कती बुझेर जानेर यि इस्राएलिले सुहाउँदो नाम राखेछन्, "युटोपिया अर्किड पार्क" ।
एउटै छानो मुनी मान्छे ले प्रक्रिती बनाएको! मैले आँफैलाई बडो भाग्यमानी ठानेँ यसरी पहिलोपटक संसारकै एकमात्र यस्तो बिचित्रको थलो जहाँ संसारै भरी पाइने सुनाखरीका अनेक जात,ससाना किटपतंग लाई आफ्नो अंखोरे चेपोमा पारेर मार्ने एकखालको बनस्पती (कार्निभोरोअस),बिभिन्न प्रजातका पंक्षिहरु, माछा,जलबनस्पतिहरु र बर्षातको पानीमा हुर्किने बिबिध चमत्कारी बनस्पतिहरु एकैसाथ एउटा अलग्गै शान बोकी हामीलाई पर्खिरहेको देखेर।
मलाई पटक्कै आभास भएन कि त्यो बनाइएको प्रक्रिती हो ,,जहाँ उम्रेर फक्रेर मुस्कुराइरहेका हरेक बनस्पती, खेली रमाइरहेका हरेक पंक्षी बिरुवा मान्छेको हात औलाले स्याहारिएको हो। ति प्रत्यकमा मेहनती मान्छेको औँलाले स्पर्श गरेको छ । आफ्नो दुइबित्ते करेसा बारीको मकैको बोट गोड्न अल्छिले चार बित्ते नखरा देखाउने बानी परेको 'म' लाई मान्छेकै औँलाको स्पर्शमा यतिका चमत्कार देखिँदा अचम्मको घनले हान्नु पनि त अचम्म थिएन।
लगभग ४०,००० स्क्वाएर मिटरको लम्बेचौडे छातीमा पसारिएको अकल्पनिय पार्कमा पर्यटकहरुका सुबिधा खातिर ठाउँठाउँमा राखिएका सम्बातनयन्त्रले चिसा हावाका झोँका मै तिर फ्याँक्दा फेरी मैले आफ्नै गाउँको उधुम गर्मी सम्झेँ 'कठै! मेरी आमा प्रचन्ड घाममा सेकिँदै बारीको डिलमा पसिनाले नुहाउँदै होलिन्! यो मन पनि कती कमलो! उसैमाथिको परेदेशमा त झन भएभरको मन जती नौनिनै पो हुन्छ कि भन्छु म। एसो केही राम्रा चिजबिज देख्यो कि झलक्क घरै सम्झिने, एउटा दाना अनार भेट्यो कि 'ओहो! मेरो छोरोले यो कती मिठो मान्थ्यो!' एउटा राम्रो खेलौना देख्यो कि' ओहो! यो मेरो छोरीले कती मन पराउँदी हो!' कतै सुन्दर दृष्य देखे,'ओहो! यो सुन्दरता उनले पनि देख्न पाएका भए! वा दुई आँखाले भन्दा चार आँखाले सँगै देख्न पाएको भए !' यस्तै यस्तै 'ओहो' को थुप्रो भित्र पुरिएरै जिन्दगी कती खेर नामेट होला नि! भन्न त सबैले भन्छन् 'यस्तो रमाइलो गरियो कि,सबथोक भुलेर हराइयो!' तर मलाई लाग्दैन संसारमा कुनै त्यस्तो मानव मुटु होला जो कुनै मनोरन्जन र खुशीको क्षणमा सबैलाई भुलेर मनदेखी एक्लै रमाओस्, खास गरी आफ्नो अती नजिककाहरुलाई पनि याद नगरि। बरु थोरैले ब्यक्त गर्छन्, धेरै मनमनै अमिलिएर कुँडिन्छन् तर गर्न चाँही सबैले हरेक खुशीको क्षणमा आफ्नाहरुलाई याद गर्छन् र कमिको महसुस गर्छन्\।यस्तै छ बिडम्बना अभाबमा पिल्सिने जिन्दगीहरुको,पैसा छ परिवार छैन परिवार छ पैसा छैन। ति दुई लाई सँगसँगै नार्ने रहरमा चार-चौरास भासिनुपर्छ । अन्तत: सुलुत्त जिन्दगी चिप्लिसक्छ आधाआधी रहरको कहरमा अल्झेर।
जीवनका यिनै हिसाबकिताब मनमनै गुन्दै त्यो चामत्कारीक सुन्दरताको खानिमा म बाहिर बाहिर सम्बातनिक चिसो पानीको कण मिस्रित हावाको को सिरेटोले चिसिँदै भित्र भित्र आफ्नाहरुको उताको हरिबिजोक सम्झेर भुट्भुटिँदै अगाडि बढ्दै गएँ।
एसो पछाडि फर्किएँ चिपोरा हातको ईशाराले मलाई बोलाँउदै रहिछन्। अनी सँगसँगै बरालिन थाल्यौँ अरु पर्यटकहरुको घुइँचोमा मिसिएर हामी पनि। अलिक अगाडि पुगेपछी एउटा ससानो मन्च जस्तो ठाउँ देखा पर्यो जहाँ घुमारो अर्धचन्द्राकार गरी बेन्चहरु राखिएको रहेछ सुन्दर र सफा गरी। चिपोराले त्यतै देखाउँदै त्यो ठाउँ पार्कको बारे आगन्तुकहरुलाई सामान्य जानकारी गराइनको लागि हो भनिन् र छेउको बेन्चमा थपक्क पिँध बिसाइन्। म फेरी छेउको सानो मनमोहक तलाउमा बेफिक्री मुस्कुराइरहेको कमलको पत्र स्पर्श गर्दै थिएँ एउटी पातली गोरी केटी ओठभरी म्रिदु मुस्कान बोकेर मै तिर आइन्। त्यतिन्जेल फुत्त फुत्त यताउताबाट मन्च भरिनै आगन्तुकहरु उत्सुकताभरी अनुहार लिएर उपस्थित भैसकेछन्।
मैले हात बढाउँदै आफ्नो परिचय दिएँ। अनी शरोन नाम गरेकी ति सुन्दर युवती छेउमै स्टुलमा राखिएका ससाना गमला उचाल्दै केही कर्नोभोरोअस जातका बनस्पतिको बारेमा बताउन थालिन्। मलाई गज्जब लाग्यो ति बनस्पती देखेर। एउटा रहेछ हाम्रो तिरको अलिक लामो घाँटी परेको पानी पिउने अंखोरा जस्तो अनी मास्लो पट्टी छाता जस्तो सानो पात भएको बनस्पती ,जहाँ साना किरा फटेङ्ग्रा अभाग्यबस् भित्र खसे भने त्यहा भित्र रहेको पानी र एकप्रकारको एसिड को कब्जामा परी बाहिर निस्किन नसकी त्यही भित्रै ज्यान गुमाउदा रहेछन् त्यसैले इस्राएली हरु ति खालका बनस्पतिलाई 'इटिङ्ग प्लान्ट' पनि भन्दा रहेछन्। बाहिरी प्राकृतिक बातावरणमा स्वतन्त्र फस्टाउन पाउंदा ति घैला जस्ता बनस्पतीले आधा मिटर सम्मको उचाइ लिन सक्छन रे! मैले सोचेँ त्यती अग्लो हुने भए त किरा मात्र के साना खरायो, बिराला ,चराहरु नै पनि परमधाम जान सक्दारहेछन् त्यहा भित्र। हुन पनि त्यस्तै हुन्छ रे। अनी अर्को रहेछ अलीक सानो काँठिको बनस्पती ,जो झट्ट हेर्दा सुन्दर अनुहारको बन्द परेली जस्ता। आँखाको ढकनी जस्तो दुइतिर साना पात अनी पातको माथिल्लो किनारामा हाम्रा आँखाको झिम्झिमे परेली जस्ता मसिना तर बलिया काँढा हुँदा रहेछन्। शान्त अवस्थामा ति परेली खुल्ला रहने अनी नजिकमा केही चाल् उत्पन्न भएपछी अकस्मात ति परेली बन्द हुँदा नजिकको किटपतंग च्यापिएर मर्दा रहेछन्। हेर्दा साना देखिएपनी ति परेलिरुपी काँढा अती तिखा र बिषालु पनि हुन्छन अरे। कती सम्म भने साना नानीहरुलाई औँल्याउदै ति सुन्दरिले सजग पनि गराइन् कि औंला राखेर परिक्षण नगरनु,, अन्यथा स्वास्थ्यकर्मीको सहायताले मात्र काँढा झिक्नुपर्ने पनि बताइन्।
केही मिनेटको जानकारी कार्यक्रम सकिएपछी हाम्रो लम्काइ अगाडि बढ्न थाल्यो त्यस्तै बिबिध अनौठा ,दुर्लभ र आकर्षक बनस्पतीहरुको अवलोकन गर्दै। सबै सबै दृष्य एक्सेएक लोभलाग्दा थिए। म चकित हुँदै ति मेहनती हातका कमाल हेर्दै अगाडि बढेँ। त्यहीँ एउटा छानो मुनी कताबाट कहाँ उकालेर घुमाएर दुरुस्तै प्राकृतिक लाग्ने कृतिम झरना झारेका छन्,त्यहीँ भित्रै आकर्षक आकाशे पुल छन त त्यहिनै भुंइभरी घासे मैदान जस्तो नरम गलैँचे घाँस उमारेका छन्। त्यहीँ तालतलैया छन् त्यहीँ कलात्मक सजावट डेन्ड्रोबियम सुनाखरी लहलहाएका छन्। परिश्रमी हातका यस्ता उपजले वातावरणिय सजगतामा पर्यावरणको जतन त भयो नै मुलुकको गहना पनि थपियो। अझै त्यो भन्दा अहम कुरो त्यहा कतिजनालाई रोजगारीको अवशर मिल्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तब्यस्थल् स्वरुप आयआर्जनको स्रोत पनि बन्यो।
त्यसपछी आउटडोर बगैचा तिर को बाटो निस्कियो। बाहिर उधुम घामको रापिलो किरणले साम्राज्य फैलाइरहेको थियो। केही मिटर लम्केपछी चिपोरा थाकिन् ,नथाकुन पनि किन! उता मेरी आमा पाँचौँ दशकमा हिँड्दै हुनुहुन्छ त बुढेशकालले गलिपत् भैसक्नुभयो । यि त झन्डै असीको दशकको पनि पुछारमा पुगिसकिन् त्यही पनि अझै घुमडुल, मनोरन्जन,शारीरिक् ब्यायाम गर्दैछिन् । यथार्थ त यस्तो हो ,,हामी नेपाली धनले,बिलासिताले र अवशरले त बन्चित भएर छिट्टै गल्छौँ नै, उमेरले हुनु कता हो कता सोचले हत्त र पत्त बुढीईहाल्छौँ। त्यो तुलनामा चिपोरा अझै तगडा भएपनी गर्मिमा भने हुर्मत जान्छ यिनको अनी श्वास फुलेर थलिन्छिन्। त्यसैले उनिलाई त्यतै एउटा बेन्चमा बसाएर म एक्लाई बाहिर को दृष्यपान गर्न थालेँ। आकर्षक छहरा, चुल्बुले मृगका बथान, पिँजडा बाहिरै स्वतन्त्र रङ्गिबिरङ्गी सुगा जसलाई हातैमा उचालेर खेल्दै लिन सकिने आनन्द,आकर्षक ढंगले स्याहारिएका कलात्मक बोटबिरुवाहरु, मचान् जस्तो माथिल्लो भागमा उक्लेर सर्बाङ्ग पार्क नियाल्दा बटुल्न सकिने खुशी, छुँदै र भाग्दै गरिरहेका पानीका फोकाहरुसँग रमाइरहेका कमलका पात र फूलहरुको इर्श्यालाग्दो दृष्य मनभरी भरी हेरिसकेर खोइ कतिबेला फर्किने बेला भयो ,,मैले त हेक्कै राखिनछु तर मान्छेको अतृप्तिलाई समयले पर्खिंदो हो त,,, सिँगो मानवसमुदाय जती निस्कृय जन्तु अरु कुनै हुँदैनथ्यो होला। समयको डाँडो कटाइ सँगै हामीले फर्किने बाटो ततायौं।
बाटैभरि एकतमासले देश र बिदेशको यो फरक बिशेषताले कोतरिरह्यो। घरि घरि नेपाल पुगिरहेँ सम्झनामा । केही महिना अघी घर जाँदा रत्नपार्क डुल्न निस्केको थिएँ, पहिलेको हरियो आकर्षक रत्नपार्क खुइलिएर धुलाम्य अवस्थामा लडिरहेको थियो बरखी बारेर बसेको कृयापुत्री जस्तो फुङ्ग रङबिहिन अवस्थामा जहाँ पहिलेको झैँ हरियो दुबोको नामोनिशाना थिएन एकैछिन टस्स पिँध टेकाउनको लागि समेत। त्यहा कुनै फूल फक्रिएर हाँस्ने साहस गर्दो हो त मेरा देशका नायकहरु(नालायकहरु)तिनका जरै उधिनेर कुनै 'प्रभू' को पाउमा चढाउँदा हुन्। कहाँ यो मरुस्थल जस्तो कन्क्रिटको देश जहाँ देखिने लग्भग सबै हरियो 'बनाइएका' हुन् ,कहाँ प्राकृतिले आँफैँ सिँगरिदिएको मेरो सुन्दर देश जहाँ संसारकै अग्लो चुचुरो जो छ वटै ऋतु चिसो हिउँ ओढेर विश्वलाई शितलता र सुन्दरता बाँडिरहन्छ। त्यही सुन्दरताको पर्याय मेरो देशको राजाधानिको मुटुको गनिने पार्क "रत्नपार्क" सम्झिँदै आहत भएँ । हाम्रो बिगार्ने गति भन्दा द्रुत यिनिहरुको बनाउने गति र मती लाइ सलाम गर्दै फर्किँदा बाटो भरी मेरो मनमा इस्राएलको त्यो अदभूत सुन्दर "युटोपिया अर्किड पार्क" र मेरो काठमाडौंको मुटुको पार्क "रत्नपार्क " को दृष्य झुत्तिखेल्दै दोहोरीईरहे पालैपालो ।
कृष्णपक्ष,
इजरायल
१. अधुरा सपना :
जीवन र मृत्यु बिचको दुरी छोटिदै मेटिदै गएको वा अझ समिपै आइरहेको सत्य देख्दा मान्छेको मनभित्र त्रासदीका भावहरु कति उद्वेलित हुँदा हुन् ? उसभित्र जीवनप्रतिको मोह र उसको जिजीविषाले कस्तो आकार लिदो हो ?आमाशयको क्यान्सर लागेर त्यस्तै भयमा बाँचिरहेका एकजना दाजुको लागि कार्यक्रममार्फत सहयोगको हात बढाउन अनुरोध सहित फेसबुकको इनबक्समा पत्रहरु भरिएका थिए ।
भरे सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै थियौं, कार्यक्रममा गरिने नाटक रिहर्सल र अन्य तयारीमा अनिदो थियो रात । सांस्कृतिक प्रेम र सामाजिक सन्देशको कुनै मिठो प्रेरणाले मोहित र अभिप्रेरित भएर म लगायत सहकर्मीहरु दिनेश प्रसाई, रुपा घिमिरे र ओम प्रसाई हिजो पनि राती तीन बजे मात्र निदायौं, र केहि दिनदेखि अहोरात्र यही प्रक्रिया चल्दै थियो। कार्यक्रमको मिठो कल्पना थपक्क आएर परेलीमा बसेपछि निन्द्राको बादल सबै पन्छिदो रहेछ । बिहानै पनि उत्तिकै फ्रेश थियौं, शायद यो अनुभव पहिलो पटक थियो ।
... तर घामको झुल्को झुल्किनु भन्दा अगाडी वाण जस्तो गरि आएको तितो खबरले अघि बुनेको स्फुर्तिको महल सबै भत्काइदियो एकै पलमा । खबर थियो, एउटी चेली गीता गुरुङ,जो सुन्दर भविस्यको सपना साँचेर परदेशमा संघर्ष गर्दा गर्दै बितिन । उनका सपनाहरु यहीं थाति रहे, यहि कतै अल्झिए यो बिरानो मुलुकमा । खुसीमा अनुवाद भएर साकार हुन अब कहिले नेपाल फर्कने छैन उनका रहरहरु - फर्कने छ त केवल एउटा निष्प्राण देह।
मैले व्यक्तिगत रुपमा उनलाई चिनेको थिए, इजरायल आएदेखि उनीसंग धेरै पटक भेट पनि भएको थियो, उनी मिलनसार थिईन । मृत्यु कति अपत्यारिलो सत्य? निमोनियाको बहाना पारेर चुडेर लग्यो उसको जीवन । उनको असामयिक निधन भयो ।
इश्वरले धेरै रहस्यको ज्ञानबाट वर्जित गरेको छ मान्छेलाई । त्यसमध्य एउटा हो मृत्यु, जो अनिवार्य जोडिएको हुन्छ जीवनसँग । यदि त्यस्तो थिएन भने अस्पतालको शैयामा गीता गुरुङले पक्कै भन्ने थिईनन् आफ्ना संगीहरु संग -
" म बिरामी हुदाको, यो मेशिनको, यो पाइप जोडिएको बेलाको राम्रो राम्रो फोटो खिचेर राख्नु है केटी हो, निको भएपछि हेर्नुपर्छ"
तर उनी यसरी निदाइन - अस्पतालका अन्तिम घडीका ती तस्वीरहरु अब उनले कहिलै हेर्न पाइनन् ।
२ परदेश र सांस्कृतिक तिर्सना
मध्यपूर्व इजरायलको मध्यभागमा अवस्थित यो शहर तेल अभिभ, अनि मेरोसंदेश सांस्कृतिक साँझको रमझम । हामीसंगै खुसि बाड्न चउरभरि भेला भएका छन परदेशी मनहरु ।
जुनको महिना, लेविन्सकी पार्कको फराक आँगनमा हामीले सांस्कृतिक र सन्देशमुलक कार्यक्रम गर्यौं । सुनौलो भविष्यको कल्पना सहित सधैं घर परिवार वालबच्चा सम्झिएर संघर्ष गरिरहेका ती हजारौं दीदीबहिनी र दाजु भाइहरुका कथा व्यथाहरु सुनायौं जो सधैं ओझेलमा परे, तिनका आवाजहरु उठायौं र प्रवासमा फैलिदै गएको अर्थहीन र विकृत राजनीति तथा विसंगति बिरुद्ध औंला पनि उठायौं ।
स्वदेशी गीत संगीत, नृत्य तथा कार्यक्रम हेर्न प्रवेश टिकटमा नै हजारौं रुपैयाँ खर्च गर्नु पर्ने बाध्यताको शिकार भएका नेपालीहरुलाई हामीले त्यही स्तरको कार्यक्रम यसपाली उदांगो र खुल्ला चौरमा देखायौं ।
दर्शकदीर्घामा जब हाँसो र तालीको गडगडाहट गुन्जन्थ्यो या नारीप्रधान वियोगान्त नाटक हेरेर आफ्नै भावना संग मेल खाएका धेरै दीदी बहिनीका आँखा रसिला हुन्थे, हामी कार्यक्रमको उद्देस्यमा सफल हुदै गएको अनुभुतिले द्रविभूत हुन्थ्यौं ।
धेरैले हार्दिक सहयोग गरे, उद्योग व्यवसायीहरुले आर्थिक सहायता गरे । कलाकार, टेक्निसियन, पत्रकार, फोटोग्राफर सबैले आ आफुले सकेको निस्वार्थ भावले सघाए । सबै भन्दा महत्वपूर्ण कुरा नेपाली समुदायको सद्भाव माया र हौसलाले हामीलाई नैतिक बल मिल्यो, कार्यक्रम सफलताका रहस्य तिनै थिए ।
इन्टरनेटमा देखाइने भिडियो कार्यक्रमका सन्दर्भमा हामीले अझ केही पनि गरेकै छैनौं । गर्नु पर्ने धेरै बिषय र कार्यहरु बाकी छन । प्राविधिक हिसाबले हेर्दा यो केवल ब्लग मात्र हो सामुहिक ब्लग, र यसको नाउमा कार्यक्रम गरिए पनि यो केवल हाम्रो उदेस्यको बहाना मात्र हो भन्ने मलाइ लाग्छ, सामाजिक सांस्कृतिक सन्देश र सचेतना हाम्रो मूल धेय हो र जसका लागि यस्ता कार्यक्रमहरु हामीले गर्दै रहनु पर्छ ।
नियालेर हेर्दा चिनेजस्ता लाग्ने झपक्क दारी जुँगा पालेका धतुरे बाजे इजरायल आएपछि २ दर्जन भन्दा धेरै संस्था खोलेर राजनीति गर्न पल्केका नेताप्रवृत्तिको अभिनयमा दुरुस्त उत्रिएका कलाकार श्याम रोक्कालाइ सम्झाउदै थिए,, हेर बाबै पितृले सराप्लान, मरे पछि पनि जाने ठाउँ राख । घरिघरि उनी दर्शकतिर फर्केर भन्थे दुइ दिनको रमझममा भुलेर सधै विदेश विदेश भनेर पनि हुदैन, अब घर फर्कनु पर्छ, आफ्नै देश फर्कनु पर्छ । यौवनको जोश जाँगर र सिपको लगानी अब देशकै माटोमा गर्नु पर्छ ।
मेरोसंदेश साँझमा प्रस्तुत नाटक गीत वा सङ्गीतहरु हाम्रै परिवेशका दृष्टान्तहरु थिए । बेरोजगारी र बिग्रदो अर्थतन्त्रको मारमा चेपिएर परदेश हानिएका किशोर किशोरीका विवशताहरु थिए । परदेश लागेपछि नारीलाई हेर्ने दृष्टिकोण र पुरुषवादी मानसिकता विरुद्धका अभिव्यक्ति पनि त्यहाँ पोखिएका थिए । र नेपाली प्रवासी समुदाय बिचमा आफै भित्र फैलिएको वेमेल र विसंगत अवस्थाको चित्रण थियो - मेरोसंदेश साँझ ।
३ भोट र इजरायल
लाक्पा दाइ र मदनका कथा
मुनामदनको कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरु टाल्न
मदनहरु खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरु ।
ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लालाबालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरु?
मुनामदन महाकाव्य र यसको कथानक दृश्य परिदृश्यहरु एक एक गर्दै सल्बलाउछ्न । त्यहाँ पुगेपछि, (जहाँ मदन ल्हासाबाट फर्कदा बाटोमा बिरामी परेका थिए) बारम्बार लागिरह्यो त्यस्तो नभई दिएको भए हुन्थ्यो । त्यही त मुल कारण थियो मुनामदनको कथा वियोगान्त हुनु ।
मदनको ठाउँमा उभिएका थिए संखुसभाका लाक्पा दाइ हामी माझ, २ बर्ष पनि पुगेको छैन, इजरायल आएको । त्यो निष्ठुरी दैवको आँखा लागे पछि कसको के लाग्छ ? उनको आमाशयमा क्यान्सर देखियो यतिखेर उनि जीवन र मृत्युको दोसाँधमा उभिएका छन । अझै २ वटा किमोथेरापी पश्चात मात्र चिकित्सक हरुले निर्क्यौल गर्ने छन उनको बाच्ने सम्भावना र आधार कति छ भनेर । त्यसैका लागि मेरोसंदेश साँझ मार्फत आवाज उठाइयो ।
ल्हासाको जंगलमा मदन बिरामी परेर थलिंदा उनका साथीहरुले एक्लै छोडेर गएपछि उनलाई कसैले नभेटेको भए, वा भेटेर पनि वास्ता नगरेको भए के हुन्थ्यो होला ?
हो कथाभित्रको त्यो निष्ठुर मन भएका मदनका साथीहरुको उदाहरण कुनै पनि परदेशीले बन्नु हुदैन । हामी मान्छे, वा भनु सामाजिक मान्छे भएर जिउँदा मात्र हाम्रो प्राप्ति र सन्तुष्टिले गहन अर्थ राख्नेछ । लाक्पा दाइको भावना बोलिदिने तेन्जिंग शेर्पा, ऋतु गिरी र खुशी विष्टले मेरोसंदेश मार्फत अरु मनहरु संग यसै भने ।
उनको उपचारार्थ कार्यक्रममा संकलित २४७५ डलर लाक्पा दाइलाई र १००० सेकेल साइकलमा विश्व घुम्न निस्केका यात्री धनेश्वर क्षेत्रीलाइ हस्तान्तरण गर्दा मेरोसंदेशले एउटा अर्को अर्थपूर्ण सामाजिक कार्य गरेको गर्वानुभुती पनि गर्यो । लाक्पा दाइको यो कथा सुखद घुम्ती भएर गुज्रियोस र फर्कियोस उनको मुहारमा मिठो मुस्कान, सबैसंग एउटै कामना थियो ।
तर यहाँ मन दुख्ने अरु धेरै अलिखित कथाहरु छन
एउटा कथा यो
४ "ढुंगाहरुको लश्कर"
शरणार्थी हुने नेपालीहरुको लाम देखिरहेछु केही दिन देखि यहाँ । युद्धै युद्धले भग्नावशेष जस्तो इतिहास बाँचेको यो इजरायलमा ।
हुनसक्छ देश अलिकति भत्किएको होला, बन्द भएको वा हड्ताल जुलुश अस्तव्यस्तता र सङ्कटग्रस्त अवस्थामा होला देश । तर पक्कै त्यस्तो अँध्यारो पनि छाएको छैन जहाँ बाच्ने आधारभूत आवश्यकता नै निभेको होस् ।
फेरी किन फर्कन चाहि रहेका छैनन् , कृषिमा काम गर्न आएका कामदार, अध्ययन गर्न आएका विद्यार्थी, वकील, पत्रकार वा कार्यक्रम देखाउन आएका कलाकार पनि । यो मरुभूमिमा आएर शरणार्थी हुन पाउदा किन औधि खुशी भै रहेछौ हामीहरु ?
तिनका आँखाहरुमा देखिने डर, त्रास आशा वा खुसीका असंख्य भावहरु एकैपटक पढ्दा मलाइ के लाग्न थालेको छ भने अभाव र बेरोजगारीको अत्यासबाट हुत्तिदै मान्छेले परदेशको बाटो समातेपछि शायद उसले आफ्नो अहम संग पुरै सम्झौता गरिसकेको हुन्छ । अनि उसभित्रको सप्पै आदर्श र स्वाभिमान कहाँ कतिखेर विचलित भैसकेको हुन्छ उसले पत्तै पाउदैन ।
सुखको सपनामा बन्दी भएर भौतारिनु कति दुख लाग्दो नियति ?
मान्छेको अहम्ले महत्व पाउने र गर्व गर्न सक्ने स्थिति विद्यमान भएको त्यो रेखा नाघेर बाहिरिए पछि उ आफु आफु नै हुदैन रहेछ, उ त केवल ढुंगा जस्तोमात्र हुदो रहेछ ।
आफ्नै परीचय बिर्सदै गएको बेला उसलाई कुन देश चाहियो कुन राष्ट्रियता चाहियो ? धेरैले यस्तै अस्पष्ट उत्तर दिए । यो बिचित्रको सम्झौता हो, जहाँ मान्छे आफ्नै मन संग पराजित् भएको हुन्छ, हारेको हुन्छ ।
होला, अलिकति विवशताका अंशहरु पनि होलान, ... तर जसले बाध्यताको परिभाषामा थुने पनि म यो अवस्थालाइ स्वप्नमोहकै संज्ञा दिन्छु अब । नेपाली हुँ भन्नासाथ एउटा कामदार मात्र ठान्ने इजरायलीको देशमा शरणार्थी हुन जाँदा हाम्रो आत्मसम्मानमा किन चोट नलागेको ? किन नदुखेको देश?
किनकि ढुंगालाई दुख्दैन, छुदैन र पोल्दैन । अहँ, ढुंगालाई केही पनि हुदैन ।
म चुपचाप स्थुल शरीरहरुको एउटा लामो लर्को र ढुंगामा अनुवाद भएका एक थुप्रा मनहरु हेरिरहेछु ।
नेपालीहरुले यसरी ढुंगा हुनु पर्ने दिनको अन्त्य कहिले होला?
.



ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
