भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

यात्रा इलातको -उमा सुवेदी

सम्प्रेषक : umasubedi.blogspot.com Monday, June 25, 2012
umasubedi.blogspot.com
----



मेरो इजरायल बसाइको अन्तिम घडी नजिकिँदै गर्दा यो देशलार्इ बाइबाइ गर्नु अघि कुनै अविष्मरणीय यात्रानुभव त सँगाल्नै पर्छ भन्ने लागिरहेको थियो ।यत्तिकैमा २०६८ सालको आगमनलार्इ स्वागत गर्न नेपाली केयरगिभरहरूको ठूलो समूहले इलात सहरलार्इ रोजेका छन् भनेर नेपाल कामदार मञ्चकी अध्यक्ष रितु गिरीले जानकारी गराउनु भयो ।इजरायलको दक्षिणी सीमामा अवस्थित प्रसिद्ध नगरी इलात देशी विदेशी पर्यटकहरूको रोज्जा गन्तव्य स्थल हो ।त्यसैले मैले पनि इलात यात्राका लागि खुट्टो उचालेँ ।

भ्रमणमा निस्किनु अघि सविखाको हेरचाहका लागि मैले राधिकालार्इ उनीसँग बस्ने व्यवस्था मिलाइदिएकी थिएँ ।घरमा आफ्नो विकल्प तयार भएपछि अब म फुक्का भएँ र अप्रिल पन्ध्र शुक्रबार बेलुका आ ठ बजे होलोनबाट तेलभिवतर्फ प्रस्थान गरेँ ।इजरायली हरूको सब्बाथ (रमाइलो शुक्रवार ) सुरू भइसकेको थियो ।सार्वजनिक यातायतका साधनहरू ग्यारेजमा थन्किसकेकाले सडकहरू सुनसान देखिन्थे । ।अब मैले ट्याक्सीमा जानु पर्ने भयो ।सवारी अभावको फाइदा उठाउँदै ट्याक्सी ड्राइभरले सात मिनेटको बाटाका लागि ५० सेकेल (१०००ने. रू. ) ठटायो । तेलभिव पुग्ने बित्तिकै मैले सरिता दिदीलार्इ फोन गरेँ। वहाँ एडभान्स् मनि ट्रान्फरमा बस्नु भएको रहेछ । सरासर उतै गएँ ।त्यहाँ पुगेपछि थाहा पाएँ इलात यात्राका लागि चार अोटा वस रिजर्भ गरिएको रहेछ । एउटा बस नेपालइजरायल डट नेटको ,अर्को तेन्जिङ जीको टोली ,अर्को तमु समाजको र म जानु पर्ने चाहिँ चिरञ्जीवी पाण्डे जी अगुवा रहेको टोली थियो । यात्रा सुरू हुनु अघि लिभिन्सी पार्कमा जम्मा भएका साथीहरूसँग भलाकुसारी गरेर केही समय बिताइयो ।

बेलुका ९:३० बजे तिर अ. ने .सा .स. इजरायल च्याप्टरका उपाध्यक्ष कुमार जी र सल्लाहकार सुमन जीसँग मणी दाइको पसल अगाडि भेट भयो ।मैले मेरो यात्राको टोलीनायक चिरञ्जीवी पाण्डे जीलार्इ प्रत्यक्ष भेटेकी थिइनँ ।कुमार जीकै सहयोगमा चिरञ्जीवी जीसँग परिचय भयो । मणि दाइकै पसल अगाडि केही बेर हाम्रो भलाकुसारी भयो ।गीत संगीतमा र साहित्यका बारेमा गफगाफ भए ।सुमन जीले चाँढै एउटा गीति एल्वम निकाल्दै हुनुहुँदो रहेछ, थाहा पाएर खुसी लाग्यो ।११ बज्नै लाग्दा लिभिन्स्की पार्कको पश्चिमतर्फ हाम्रो यात्राको बस देखा परेपछि साथीहरूसँगै म पनि त्यसतर्फ लागेँ । तालिका अनुसार ११ बजे छुट्नु पर्ने बस हाइफाबाट एक दम्पति आउन ढिला भएकाले अरू १ घण्टा त्यहीँ रोकिनु पर्यो ।रातको १२ बजे बल्ल यात्राको साइत जुर्यो । तेलभिवबाट होलोन सहरको दोबोज, होलोन सिमेटरी ,रिसोन्ले चियोन , मोदिइन सहर हुँदै हाम्रो बस हाइवेतिर बढ्यो । लामो प्रतीक्षापछि बल्लतल्ल गुडेको बसयात्राको सुख राम्ररी अनुभव गर्न नपाउँदै एउटी छ महिने शिशुको शास्त्रीय रोदन रागले बस नै जुरूक्कै उचालियो । ती बच्चीका आमाबाका अनुसार मध्य रात्रीको सन्नाटालार्इ चिर्दै उच्च विटमा रोदन राग अलाप्नु तिनको नियमित साधना रहेछ ।जन्मेदेखि आजपर्यन्त तिनले एकै रात पनि यो नियमित अभ्यास टुटाएकी छैनन् भन्ने सुन्दा साह्रै अचम्म लाग्यो ।यो अचम्मलार्इ फिका बनाउँदै यात्रालार्इ नै मादक तुल्याउने गरी अर्को लीला सुरू भयो ।नेपाली दिदी र इजरायली भिनाजुको एक जोडीले हिन्दी गानाको तालमा च्वाक्क च्वाक्क म्वाइ खाँदै कसिलो अँगालोमा बेरिँदा कता कता अङ्ग्रेजी फिलिमकै झझल्को आउँथ्यो । इजरायली भिनाजु त आफ्नै दुनियाँमा थिए तर नेपाली दिदी सारा माइतीकै सामुन्ने वेपर्बाह लठारिएको देख्दा हे दैव !भनेर जिब्रो टोक्ने म मात्र थिइनँ ।

आहा! इजरायलको सक्कली अनुहार त सहर बाहिर निस्केपछि पो देखिने रहेछ ।दोस्रो विश्वयुद्दताका हिटलरको नृशंस दमनमा परी साठी लाख यहुदीले ज्यान गुमाएका थिए रे ।त्यो त्रासदीले झन्डै सत्तरी वर्ष टेक्नै लाग्दा आज संसारकै एकमात्र यहुदी राज्य इजरायलमा बसोवास गर्ने जनताको सङ्ख्या पनि सत्तरी लाख पुगनपुग छ । यो रमाइलो संयोजनका पछाडि संसारबाट लखेटिएका यहुदीहरूले सङ्घर्ष र लगनको कस्तो कीर्तिमान बनाएका छन् त्यो हेर्न एकपटक इजरायलका गाउँ बस्ती चाहार्नै पर्ने रहेछ ।देश सानै भए पनि भूगोलका अनुपातमा जनसङ्या थोरै भएकाले सहरी क्षेत्र र कृषि फारम बाहेक अन्यत्र उराठ लाग्दो बालुवाको विस्कुन मात्र देख्न पाइन्छ । निष्प्राण शव जस्तो डङ्ग्रङ्ग पल्टेको विशाल मरूभूमिको छातीमाथि हामी निकै बेरसम्म गुडिरह्यैँ ।
तेलभिवबाट ९८किलोमिटर छिचोलेपछि रातको ३ बजे हामी उत्तरी मृत सागरमा पुग्यौ ।इलात जाँदा बाटामा पर्ने त्यो नुनिलो सागरमा नुहाउने योजना अनुरूप हामी दुर्इ घण्टाका लागि रोकियौँ । विश्वकै सर्वाधिक उचाइमा रहेको सगरमाथाका बासिन्दाका लागि संसारकै सर्वाधिक गहिरो सागरमा डुबुल्की मार्ने अवसर साँच्चिकै दुर्लभ संयोग थियो ।मृत सागरमा नूनको मात्रा बढी भएकाले पानी नबगी एकै ठाउँ जमे जस्तो भएर बसेको हुँदो रहेछ र त्यसले मानिसलार्इ नडुबाउने रहेछ ।मैले यसअघि पनि एक पल्ट मृत सागरको यात्रा गर्ने अवसर पाएकी थिएँ ।त्यतिखेर दिउँसो भएकाले पानीमाथि बसेर आनन्द लिइरहेका इजरायलीहरूलार्इ देखेकी थिएँ ।यस पालि राती भएकाले त्यस्तो दृष्य हेर्ने सौभाग्य पाइनँ ।भन्नु मात्र राती ,समुद्र किनारमा रहेका भव्य होटल र होटल अगाडि पछाडिका ठूला ठूला पार्कमा रहेका बत्तीले मध्य दिउँसोको घामझैँ झलमल्ल उज्यालो थियो ।बाहिरको बातावरण केही चिसो भए पनि नुनिलो पानी तातो हुनाले केही साथीहरू रमाइ रमाइ पानीमा खेल्न थाले ।मलार्इ भने किन किन पानीमा पस्न मन लागेन र केही साथीहरू सहित वरिपरिको दृष्यावलोकनमा भुलेँ ।खास खास ठाउँको फोटो र भिडियो खिँचेँ ।एउटा सानो पार्कमा बसेर केही खाने कुरा खाइ सकेपछि करिव ५ बजे विहान हामी त्यहाँबाट अगाडि बढ्यौ ।इजरायल आएदेखि नै मैले नेगेभ मरूभूमि बारे सुनेकी थिएँ तर भ्रमणको मै।का जुरेको थिएन ।निक्कै दूरीमा बढो मुस्किलले फाट्टफुट्ट देखा पर्ने बयरका रूखा बुट्यानहरू र घुम्तीघरहरूले मात्र यो धर्तीकै कुनै भूभाग होला भन्न कर लाग्थ्यो नत्र त चराचुरूङ्गी समेत बसोबास नगर्ने त्यो बालुवाको साम्राज्य आठै दिशा परपरसम्म फैलिएर क्षितिजपारि आकाशमै जोडिएको जस्तो देखिन्थ्यो ।त्यसमाथि सब्बाथ (शनिबार)को बिहानी भएकाले सुनसान बाटाभरि हाम्रै बसको एकछत्र राज थियो ।त्यो मरूभूमिमाथि निकै बेरसम्म गाडी गुडिरहँदा मैले काठमाडाबाट झापा जाँदाको लामो यात्रामा देखेको जचाततै हरियाली , जङ्गलैजङ्गल र कन्चन पानी बग्ने खोलानालाहरूको मनोरम दृष्यलार्इ झल्झली सम्झिरहेँ ।

जीवनको यो अभूतपूर्व मरूभूमि यात्रा रोमान्चक मात्र नभएर पीडादायी पनि थियो ।त्यहाँको विकास निर्माण देख्ने बित्तिकै नेपालको याद आउँथ्यो र त्यतिखेर पीडा मात्र बाँकी रहन्थ्यो ।त्यहाँको चमकदमकमा एक छिन भुले पनि तुरून्तै मन हुत्तिएर आफनो धरातलमा ठोक्किन अ।इ पुग्दा साह्रै नमज्जा लाग्थ्यो ।हैन ,एक थोपो पानीका लागि तड्पिनु पर्ने यो बन्जर भूमिमा यहुदीहरूले हरिया नोट फलाए तर जताततै रहियाली र पानीका अजस्र स्रोत भएका हामी अँध्यारा गाउँ सहरमा काकाकुल जिन्दगी बाँच्न अभिशप्त छाँ ।नेपाल इजरायल भन्दा उन्नत राष्ट्र हुनका लागि एउटा कुराको मात्र कमी छ त्यो हो जाँगर र एकता ।यहुदीबाट नेपालीले यति मात्र कुरा सिक्ने हो भने हाम्रा सन्ततिले रोजगारीका लागि बिदेसिनु पर्दैन ।सोचाइको यो शृङ्खला गाडीको ब्रेक सँगै घ्याच्च रोकियो ।इलात सहरको रोयल विच अगाडि पुगेर गाडी रोकिँदा बिहानको नौ बजेको रहेछ ।

बिहानको घमाइलो समुद्री किनारमा उभिएर मैले चारैतिर आँखा घुमाएँ । आकास सफा थियो र घामका तेजिला किरणहरू धर्तीमा ओर्लि सकेका थिए ।अप्रिल १५ तिरै यत्तिको गर्मी अनुभव हुने यस ठाउँमा अगस्टतिर कस्तो हुँदो हो भन्ने सम्झेँ ।हाम्रा टोली नायक चिरञ्जीवीले लाल सागरमा जहाज यात्राका लागि तयार हुन भन्नु भयो ।लाल सागर जोर्डन र इजरायलको सीमा रेखा रहेछ ।पारिपट्टि किनारामा जोर्डन सहर थपक्क बसेको देखिन्थ्यो ।सहर बिचमा रहेको सेतो टलक्क परेको अग्लो घरलार्इ साथीहरू औंलाले इसारा गर्दै चिनाइरहेका थिए ।त्यो जोर्डनका राजाको दरबार रहेछ ।तीन वर्षअघि भूमध्य सागरमा दुइ तले पानी जहाज चढेकी थिएँ ।एक बर्ष अघि हर्चेलिया विचमा सानो डुङ्गा चढ्दा डरले थररर कामेकी थिएँ तर ठूलो पानीजहाज चढ्दा त्यसरी डराउनु पर्दैन भनेर आफैँलार्इ सम्झाउँदै जहाजको भर्याङतर्फ निर्धक्क पाइला बढाएँ ।जहाजको दोस्रो तलामा बसेर यात्रा गर्दा खास रमाइलो पाइन्छ भन्ने सुनेकाले म सरासर दोस्रो तलामा उक्लेँ ।लगभग सय जना अटाउने त्यस तलाको बिचमा खाली ठाउँ र वरिपरि तिन लाइन कुर्सी राखिएका थिए ।अगाडि काउन्टर र त्यसअघि एउटा छुट्टै कोठा पनि थियो ।जहाजले बिस्तारै गति लियो , सँगसँगै हिब्रू गीतले पनि । इजरायलका लोकप्रिय गायक इयाल गोलानका गीतहरू नबुझे पनि साथीहरू कम्मर मर्काउन थाले ।गीतको घन्काइ र साथीहरूको झुमाइले वातावरणमा मादकता छायो । सरिता दिदी र म पालैपालो जहाजको बरन्डामा उभिएर समुद्रको टाढा टाढा र जोर्डन सहरको दृष्यलार्इ क्यामेरामा कैद गर्न थाल्यौँ ।

बिस्तारै जहाजको गति तेज हुँदै गयो ।किनारालार्इ छाडेर अलिक पर पुगेपछि डल्फिनहरू लडिबुडी गरेको देख्यौँ ।डल्फिनलार्इ आँखै अघि देख्न पाउँदा खुसीले फुरूङ्गै भएका हामीलर्इ काउन्टरमा बसेका इजरायली बाजेले नियालेर हेरे र तल्लो तलाबाट त समुद्रको पिँधै देख्न सकिन्छ भने । यो दुर्लभ दृष्य हेर्न साथीहरूसँगै म हतार हतार तल्लो तला तर्फ बढेँ ।त्यहाँ एक किसिमको लेन्सवाला सिसा राखिएको हुँदो रहेछ र त्यसबाट समुद्रको पिँध देखिँदो रहेछ ।निकै बेर पानी बगेको हेरेपछि समुद्री सतहमा साना साना राता पहेंला माछाहरू मै।रीको हुल झैँ भएर तीब्र गतिमा कुदेको दृष्यमा म एकछिन अल्मलिएँ मैले ती माछाहरूलार्इ क्यामरामा कैद गर्न खोजेँ तर सफल भइनँ ।फोटो अँध्यारो आयो । एकछिन पछि म फेरि माथ्लो तलामा फर्केँ ।एकातिर इलात सहरमा ठूला ठूला होटलहरू अर्को तर्फ जोर्डन सहर ,बिचबाट फिँजारिँदै गएको लाल सागर , आहा खै के वर्णन गरूँ म सँग ठीक ठीक शब्द नै छैनन् ।त्यसैले सम्झेर भावुक भै दिन्छु ।मेरो बुद्दि र शब्दको सीमा भन्द् धेरै माथि छ यो ।समुद्रको चिसो हावासँगै म भर्याङमा बसेर निलो पानीको संसार तिर ध्यान मग्न भएँ ।क्षितिजसम्म विस्तारित शान्त जलराशी मलार्इ मुग्ध तुल्याउन काफी थियो ।

दुइ घण्टे लाल सागर यात्रा पछि अबको हाम्रो गन्तव्य मेरिन पार्क थियो ।मध्यान्न तिर हामीले मेरिन पार्कको मेरिना रेस्टुन्टमा खाना खाइ कोरल हाउस तिर लाग्यौँ । बाहिरको चर्को घामले थोरै हिँड्दैमा थकित तुल्याउँथ्यो ।सँगै यात्रारत मिना जीलार्इ कोरल हाउस बारे जानकारी रहेछ। उहाँले कोरस संसारबारे केही जानकारी गराउनु भयो ।समुद्र बिचमा हाम्रो धरहरा जस्तै जुरूक्कै उठेको एउटा घर रहेछ ।जसमा पानीमाथि सात तला र पानी मुनी सात तला रहेछन् ।यो हाम्रा लागि एउटा अश्चार्य स्तम्भ थियो ।समुद्र किनारबाट एउटा पुल हुँदै त्यो घरमा पुगेर हामी सात तला तल झर्यौँ । मेरि बास्सै ! वाटर प्रुफ लेन्सवाला सिसाका झ्यालबाट बाहिर पट्टि त समुद्रको पिंध पो देखियो ।पिंधमा थपक्क बसेका जस्ता देखिने समुद्री जीवहरू कुनै सर्प आकृतिका ,कुनै रंगीचंगी फूल जस्ता ,कुनै लहरा जस्ता ,शंख जस्ता ,झ्याम्म परेको बरको रूख जस्ता, च्याउ जस्ता ,मलमलको कपडा जस्ता ,खेलाउना पसलमा सजाएर राखिएका चित्र विचित्रका सामान जस्ता समुद्री जीवहरू ।साथीहरू भन्दै थिए ,ती जीवहरूका सरीरमा ६८ % पानी हुन्छ रे । मलार्इ बीचैमा छोराको याद आयो ।यी सबै देख्न पाए उ कसरी चिच्याउँदै उफ्रिदो हो ।मैले ती सबै जीवहरूको फोटो खिचेँ र माथि आएँ ।तलमाथि गर्दा गर्दा गोडा फत्रक्क गलिसकेका थिए ।म इच्छा भएर पनि कोरल हाउसको टुप्पामा पुग्न सकिनँ ।

हामी थ्रिडी हल तर्फ लाग्यौँ । यो मेरो लागि एउटा नौलो अनुभव थियो ।यो सिनेमा घरमा जब चलचित्र या वृत्तचित्र सुरू हुन्छ त्यो घरै चल्दो रहेछ ।सिटहरू भुइँचालोले हल्लाए जस्तो हुने ।सिट वेल्ट बाँधेर नबसे लडिने सम्भावनै हुँदो रहेछ ।पर्दाका दृष्य र चित्रहरू आफ्नो छेउमै आए जस्तो हुँदा डर पनि लाग्ने । अत्यन्तै अ नौठो लोकमा पुर्याउँदो रहेछ यो थ्रिडीले ।

अबको हाम्रो यात्रा थियो किङ सिटीको तर त्यता लाग्नु अघि हामीले सँगै यात्रारत एक जोडीलार्इ खोज्नु पर्ने भो ।नेपाली दिदी र इजरायली भिनाजुको यो जोडी कहिले ओठ जोडी रहेका हुन्थे त कहिले कुटाकुट गरिरहेका हुन्थे ।इलात पुगेपछि प्रेमालापका लागि एकान्त खोज्दै जाँदा निकै परै पुगेछन् क्यार ३८ डिग्री तापक्रमको गर्मीमा हामीलार्इ लामो समय कुराए पछि नजिकको पार्कबाट तिनीहरू फुत्त निस्किए ।हिमाली भेगको मौसम जस्तो छिन छिनमा चेन्ज हुने तिनीहरूको दिलको तापक्रम देखेर हाम्रा कन्सिरी ताति सकेका थिए तर सबैले मौन रहनु उचित ठान्यौ।
मेरिन पार्कबाट करिव दस मिनेटमा हामी किङ सिटी पुग्यौँ । डेढ घण्टामा हामीले त्यो सहर घुमी सक्नु पर्थ्यो ।हामी सरासर किङ सलोमन वाटर फल्स तिर लाग्यौँ । जहाँ कृत्रिम खोला ,छाँगा र छहरामा डुंगा सुलुलु चिप्लिन्थ्यो ।त्यो एउटा विचित्रको बनावटी संसार थियो ।हामी छ जना एउटा सानो डुंगामा बस्यौँ । हेर्दाहेर्दै त्यो डुङ्गा एउटा महल भित्र छिर्यो र कुलामा तैरिँदै अँध्यारो कोठामा पस्यो ।एक्लै भए त सासै रोकिने त्यो अन्धकारमा छ जना भएकाले डरलार्इ हाँसेर पचाउने कोसिस गर्यौँ । भित्र छिरेपछि दुबैतिरबाट कोठा बन्द भयो र डुङ्गा लिफ्टबाट माथ्लो तलामा पुग्यो ।हामीसँग एउटै मात्र विकल्प थियो, निरन्तर चकित भै रहनु । हामीले त्यसै गर्यौँ । माथ्लो तलाको आकर्षण ? भो बयान नगरौँ । किनभने त्यो परम्परित शब्दको थुप्रो मात्र हुन जान्छ ।बाइबलका आधारमा तयार पारिएका पुतली वृत्तचित्रहरू, मानव सभ्यताका सुरूवाती दिनका दैनिक गतिविधिहरू, इजिप्सियनहरूका दिनचर्या ,रहन सहन , पहिरन ,खानपान आदि विशेषता झल्काउने ती श्रव्यदृश्य मानव आकृतिहरू साँच्चिकै बोलिरहेझैँ ,हिँडिरहेझैँ, काम गरिरहेझैँ लाग्थे ।कोही बजारमा सामान बेच्दै गरेका ,कोही चाडपर्व मनाइरहेका कोही बिहे गर्दै गरेका ती सबै यहुदी थिए ।यो कृत्रिम यहुदी बस्ती जस्तोमा एक फन्का लगाएपछि डुङ्गा एक छिन रोकियो । ।यो अध्याँरो गुफामा डुङ्गा रोकिँदा एक जना साथी निकै डराइन् तर तुरून्तै ढोका खुल्दा उज्यालो मोडिएको ठाउँ आयो ।अलिकति पर पुगेपछि डुङ्गा चिप्लेर तल झर्दा मनै झसङ्ग भयो ।केही महिना पहिले कृष्णा भाउजूले यही ठाउँको भ्रमणमा छाँगाबाट खस्दा साह्रै डर लागेको कुरा पटक पटक सुनाउनु भएको थियो । यति जाबो छाँगोमै डराउनु भएछ भन्ने सम्झेर म मनमनैउपहासको हाँसो हाँस्दै थिएँ, एक्कासि छाँगाबाट डुङ्गा खस्दा धन्न मेरो सास फुत्तै बाहिर निस्केन छ ।शरीर चिसो भइसकेको ,हात गोडा लगलग कामेको ,पहेंली भएर बोल्नै नसकेको, रक्तचाप न्युन भएर होस हवास उडिसकेको रहेछ ।मेरो शरीर सन्तुलनमा फर्किन केही समय लाग्यो ।

बाहिर निस्केपछि मलार्इ एकछिन चुपचाप बसिरहनु जस्तो लाग्यो तर सरिता दिदीको घुम्ने रहरलार्इ साथ दिन म लुरूलुरू दिदीको पछि लागेँ ।छाँगाबाट खस्दा झन्डै सास रोकिएकाले मैले जोखिम पूर्ण खेलहरू तर्फ रूचि देखाइनँ ।

चै।विस घण्टे इलात यात्राले पनि मेरो तिर्सना मेटिएन ।यो लाल सागर र यसको किनार यति दर्शनीय छ कि जति हेर्यो हेरूँ लाग्ने ,जति घुम्यो घुमूँ लाग्ने । फर्कँदा मैले धेरै पर पुगुन्जेलसम्म लाल सागरलार्इ पटक पटक फर्किँदै हेर्दै गरेँ ।अब यस ठाउँमा आउने मौका यस जुनीमा त अवस्यै जुर्दैन भन्ने निश्र्चय भएपछि भर्खरैको यात्राको सुखद अनुभूतिलार्इ नै बिर्साउने गरी मन खल्लो भएर आयो ।
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com