कविहरु अक्करे हुन्छन। जसरी अक्करमा कोइ हिम्मत गर्न सक्दैनन वा जीबन देख्दैनन त्यहाँ कविहरु जीवन फुलाउँछन। जसरी स-साना पत्थरले ठाउँ छोड्छ अक्करबाट तर बिशाल अनि रुखो चट्टानले रुँघेको हुन्छ अक्कर। त्यहिं धुपीसल्ला उम्रन्छ आकाशलाई चुनौती दिदै या अक्करमा जसरी गुराँस उम्रन्छ हरियो भएर, अनि फुल्दछ रातो, निलो, सेतो अनि तिनै बिच त्यहि बिशाल चट्टानको कापमा सुनाखरीपनि जीवन खोज्दै टाँसिन्छ अनि बैशालु चराहरु त्यहिं अक्करे भीरमा बास बस्छन रमाउँछन। यसरी कविहरु उद्देश्य जहाँ पलायन हुन्छ त्यहिं उद्देश्य बनाउँदछन। जहाँ मृत्यु शुरु हुन्छ त्यहिं जन्मन्छन कविहरु। त्यसैले प्रायले कविलाई पागलको उपमा दिन्छन तर बिस्थापन लाई स्थापन गर्ने कहिले पागल हुदैनन। म एउटा पाठकको हैसियतले यति भन्ने मौका बिभिन्न कविका अदभुत काब्य संग्रहले प्रदान गर्यो। मैले जे भेंटे त्यहि लेख्छु, जति बुझ्छु त्यति लेख्छु। यसरी लेख्नु मेरो कुनै धृष्टता भने होईन किनकी म पढ्छु अनि फुरुङ्ग हुन्छु काब्यिक भावहरुले अनि उचालिएका मेरा पाठकिय मन हरु हुन। आज मलाई बक-बक गर्न यहाँ "लुङमारी मिथक" ले जोड गर्यो। तसर्थ दुई शब्द जोड्न हिम्मत गरें यदि मैले धेरै बोल्ने धृष्टता गरें भने क्षमा चाहन्छु।
कबि मनु लोहोरुङका लुङमारी मिथक भित्र ३४ वटा कबिता सरर बाचन पस्चात मलाई मौन धारण गर्न मनैले दिएन। कबि एक ब्रम्हाण्ड भन्दा ठुलो निराकार ब्यक्तित्व बोकेर बाँच्दो रहेछ भन्ने यो काब्य संग्रह बाट प्रष्ट पाएँ। मनु जी र मेरो भेट यहि अनुहार पुस्तिका मार्फतनै भएता पनि म साहित्य बिधा साह्रै हृदय देखी मन पराउने हुनाले उहाँ र मेरो यहि साहित्यिक भित्तो बाट कट्मेरो बिचारहरु सँग भेट भयौं। उहाँका खारिएका बिम्वहरुले मलाई कबिता सृजनामा धेरै नै उफार्थे। कबितात्मक चिन्तन फिलिङ्गो रुप लिएर अजमबरी फूलहरुमा फुल्दछ। बिचारको बूकि बागभित्र रमाउदै उत्कृष्टतामा उध्धुम मच्चाउँछ। बिचारको हावाले सबैलाई बाँच्न र हाँस्न अनि पल-पललाई राईट दाजुभाईको पहिलो उडान प्रक्षेपन झै बनाउँदछ। बिचार र चिन्तन आर्मस्ट्रङले चन्द्रमा टेकेर कृतिमान कायम जस्तो हुनुहुदैन, बिचार त याम याममा फुल्नु पर्छ र हुनुपर्छ। बिचार र चिन्तनका आयम कबिहरुलेनै फुलाउँछन, पारदर्शी होस या अपारदर्शी।
जीबन मात्र एउटा बिम्व हो एउटा बिम्वको माधुर्यतामा लाखौं बिम्व हुनुपर्छ। कबिका बिम्वहरु पुर्णतय बैचारिक अनि चिन्तनले भङ्गालो कसेका छन। जीबन सप्तकोशी झैं बग्नुमा मात्र हैन, एउटा सानो कुलो भएपनि प्रयोजनमा आउनु हो। किनकी प्रयोजन बिनाको सागर भन्दा प्रयोगको कुलोमानै धेरै चिन्तन हुन्छन। हुन त मेरो यो भनाई साँघुरो मनस्थितीको उपज सोंच्नुहोला साँघुरोले नै मान्छेलाई त्यो बस्तुहरुसँग अनुभव गराउँदछ, किनकी साँघुरो नदीमै मान्छेले पूल बनाउन सक्छ फैलावटलाई कसैले हेर्दैनन। कबिता पनि एउटा साँघु हो पुरातन बिचार बाट तर्नु पर्ने। तोरी चेप्टिँदा जसरी तेल आउँछ त्यसरीनै बिचार पनि चेप्टिनु पर्छ यसलाई निखार्न /
कबिका यसरी निखारिएको शाब्दिक बिम्व भित्र मैले भेटेको अस्तित्वबाद,प्रतीकबाद, बिसङ्गतिबाद र सान्निध्यता बादका निम्ती उध्धुम मचाएको भेटिन्छ। भाव वा बिचारगत मुर्तता भएको कबिको कबितामा बाह्य लयको स्वल्पता पाईन्छ। मनु लोहोरुङका कबिताहरुमा कविको पहिचान र ग्रहणशीलता ब्यापक झल्किन्छ। यो संग्रहले प्रष्ट पार्छकी कविको मुख्य पहिचान कविले लेखेको कबिताबाट मात्र बनिन सक्छ। मेरो छोटो बकाईलाई यहाँ सम्म ल्याएर कवि मनु लोहोरुङलाई धेरै धेरै शुभकामना सहित आउँदो संग्रहको पर्खाईमा बस्दै लुङमारी मिथक भित्रबाट एउटा कबिता यहाँहरु माझपनि तानेर निकाल्दैछु, कृपया स्वीकार्नुहोला। धन्यबाद!
\अनिदो रातमा युगको शिखादृष्टि/
मेरो अनिदो रात
भोको आधापेट
र आर्जेको अतृप्त प्यासहरु…
अनिगिन्ति ताराहरुको
टिलपिलसँगै हराउँछन्।
समयको परिणतिभित्र म !
जीवनको तेर्पाङ्गे पाटो
सेपिलो उष्णतामा,
कहिले बाफिलो भाव,
कतै बैचारिक रापको
उखुम चल्दा… जगमा,
जिन्दगी थाक्न खोज्छ।
जीवनमार्गको फलैंचामाथि म!
एउटै घाटमा जीवन
र मृत्युको अर्चना हुँदा
अनुष्ठानका पिण्डहरु
तितैबितर हुनुको बिरागमा
आत्मा चिरागहरु दन्दनी बल्दैनन्।
जिउँदा लासहरुको
बस्तीभित्र म!
निस्लोट अन्धकारभित्र
अनिद्रा प्रदेशहरुमा
मनोवाद छालहरु
तरङ्गित हुँदा जुरुक्क उठ्छ
एउटा अठोटको हिमाल।
लक्षको स्वप्निल संसारभित्र म!
मनको पोल्टोभरि
संभावनाका साहस बोकेर
रत्यौली रातहरु फुल्छन्
मौसमका टाँकी फूलझैं
थुङ्गाथुङ्गा पत्रदलमा
युगीन बत्तीको शिखा देख्छु।
उज्यालो आशातीत पलभित्र म!
दर्दनाक कथाको अध्याय
स्थगित यो पलसँगै
युद्दभुमिदेखी बिद्रोहको डबलीसम्म
सम्भाब्य अनुरागका पुष्पबेलीहरु
सबै देहभित्र अपलक देख्छु
सर्वोपरी समर्पित प्रणयलापभित्र म!
-बिजे "बिद्रोही"-
भोजपुर
हाल : इजरायल