भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

एघारलाई विदा गर्दै बाह्रको स्वागतमा बिताईएको त्यो रात

सम्प्रेषक : Unknown Thursday, July 12, 2012
Unknown
----

सँस्मरण/डायरीबाट
 
तेत्तिस सय वाटको विजुलीको करेन्टले भोकल कर्डबाट निस्केको सानो ध्वनिलाई जब स्टेजभरि छरप्रष्ट पारिदिन्छ, तब हजारौँ माइल्ससम्म त्यसको कप्पनले असर गर्छ । सूचना प्रविधिको नयाँ आविस्कार वा एक्काईसौँ शताब्दीको चरमोत्कर्ष प्रविधि मोबाइल फोनमा न तेत्तिस सय वाटको करेन्ट चाहिन्छ न अन्य केहि । वास्तवमा यस्तै थियो त्यो पहिलो ध्वनि प्रवाह, जुन मेरो मोबाइलबाट सिधै कुमार दाईको मोवाइलमा पुग्यो ।  
  
काम विशेषको कारण यसरी पुगेको ध्वनि प्रवाह, कुमारदाईको मोबाइलबाट गुञ्जनासाथ सुमनजी र श्रीराम भाइ कालीको पसलमा भएको खबर मेरो कानमा प्रतिध्वनित भयो । अचम्म परेँ पनि र परिन पनि । किनकी हिजो रातभरि कार्यक्रममा साथै भएका हामी चारै जना लगभग दिनभरि नै सम्पर्कविहिन थियौँ । कुमार दाई काममा जानुभएको थियो भने म दिनभरि नविननेपाल डटकम को मिटिङ अनि जानेसिकेका कुराहरू आदानप्रदानमा करीव दिनको एक वितिसकेको थियो । त्यसपछि माया बहिनीको अपार्टमा खाना, अनि करीव बेलुकी ६ बजेसम्म तेलअभिवको लेवेन्स्की पार्को बसाइ । 
 
यति धेरै पार्कको बसाइमा हामी चारै जनाको भेट भएको थिएन र फोन सम्पर्क पनि नभएकाहरू, बेलुकि फेरि एक्कासी एक कल मोबाइल ध्वनिप्रतिध्वनिले जमघट बनाउने भो । म अपार्टमै साथीहरूसँग बसेर हरियो बोत्तलमा थिएँ । पछि वहाँहरूको खबरले बोत्तल नै छाडेर बाहिर निस्के । अपार्टबाट बाहिरिँदा एकपटक लाग्यो आज पक्कै हिउँ खसिरहेछ । नेपालमा भए पूर्व मेचीदेखि पश्चिममहाकालीसम्म फैलिएको सेताम्मे हिमाल सम्झे पुग्थ्यो । यहाँ त त्यहि एउटा पहाड छ बर्षैभरि लगभग खाली रहन्छ र यहि जाडोको समयमा कहिलकाँहि सेताम्मे बनेर दृर्शकहरू बटुल्ने गर्छ । 
 
फेरि म त्यो खरमोनको नजिक पनि त थिइन । इजरायलको तेलअभिवको हार्चियोन स्ट्रिटबाट पुरानो वसपार्क जादै थिए । उतै कतै थिए तिनै जना साथीहरू । र पनि त्यति टाढाको चिसो मेरो शरीरलार्इ चुम्न आउनु असम्भव थियो । होइन यो इजरायल हो । चारैतिर खुल्ला आकाश छ, मेडिटर्नियन समुन्द्रले कोरेलेका कति जोडी चिसा सिरेटोहरू मैले यहि बसेर अनुभव गरिसकेको छु र त यो रात पनि गर्दैछु । 
 
कुमार दाई, श्रीराम भाइ र सुमनजी तीनै जना भेटेपछि खुशी एकातिर लाग्यो भने कुमारजीले त्यहाँ एकछिन जानुछ गएर फर्कौला भन्नुभो अलि अत्तालिएँ किनकी मसँग धेरै समय नै थिएन । मैले नाम हेक्का राखिरहेको रहेनछु । पछि निरजजीसँगको सम्पर्कमा थाहा पाएँ । वहाँ हामीलार्इ लिन हार्चियोन स्ट्रिटमै आउनुभो । वहाँ पनि मेरो हृदयले जितेको र मनभरि सजाएको साथी । 
 
निरजजीले सिधै वहाँकै अपार्टमा लिएर जानुभो । हामी चार जना वहाँकै पछि पछि लुरू लुरू लागिरह्यौ ।  
 
इजरायलको कोलाहलले भरिएको शहर मानिने तेलअभिव, तेलअभिवको अति भीडभाडले भरिएको स्थान केन्द्रिय बसपर्क र यसका छेउछाउ, झण्डै नेपालको रत्नपार्कभन्दा फरक हुदैन । रत्नपार्कमा सरकारको ध्यान जादैन र फोहर थुप्रिएर हिमाल बनेको हुन्छ तर यहाँ सधैभरि नगरपालिकाले फोहोर उठाइदिन्छ र केहि कम हुन्छ । तर यसो छलिने भित्तो वा कुना काप्चा भने धेरथोर अरू देशका बाहेक दक्षिणी अफ्रिकन काले भनाउँदाहरूको रोजाईमा पर्छ सु गर्ने क्षेत्र । 
 
हार्चियोन स्ट्रिट छाडेर दाहिने मोडियौ । निरजजी भन्दै हुनुहुन्थ्यो यहि हो नजिकै छ । हार्चियोन स्ट्रिटको थोरै पनि कोलाहल यो गल्लीमा पसेपछि अनुभव गर्न पाईएको होइन । पूर्णतः शान्त जस्तै थियो त्यो रात, त्यो गल्ली अनि निरजजीको अपार्ट वरपर पनि ।  
  
कार्यक्रममा सहभागीहरू
तेलअभिवको बस तखाना वरपर सबै देशका कामदारहरू बस्न सजिलो भन्दा पनि काममा जानका लागि गाडि समात्न सजिलो हुने हुनाले यसैका वरपरका गल्लीहरूमा बनेका सय बर्ष पुराना ३, ४ वा कतै कतै ५ तल्ले घरहरूमा बसिन्छ । पछिल्लो पटक आएका हामीहरूको अपार्ट झण्डै झण्डै माथिल्लो तलामा नै हुन्छ । प्रायः तेलअभिवमा नेपालीहरूको अपार्ट भनेपछि चौथो तल्लामै छ भन्ने अनुमान लगाए हुन्छ । कहिलेकाँही कामबाट थाकेर आउँदा भर्याङ्ग चढ्दै गर्दा सिँढीमा आराम गर्नुपर्ने स्थिति आउँछ । इजरायल भनेर के गर्नु सय बर्ष पुरान घरहरू छन् । न लिफ्ट छ, न चिसोतातो फाल्ने मेशिन छ । कति त झ्यालका त्रिसहरू समेत भाँचिएर ह्वाङ्गै देखिन्छन् । गर्मीका लागि एसी (एयर कन्डिसन), जाडोका लागि डिसी (डिफिकल्ट सर्कम्टेन्सेस्) । 
 
निरजजी पछाडि फर्कदै हामीहरूलाई गन्दै हुनुहुन्थ्यो जस्तै लाग्थ्यो । घरको बाहिरको गेट खोल्दै भित्र पस्ने अनुमति दिनुभो । अनि २ खुड्किलाको सिढी चढेपछि दायाँपट्टिको ढोका देखाउँदै भित्र पस्न आग्रह गर्नुभो । मतलब एकदमै पहिलोपटक त नभनुँ  जे होस विरलै मात्रै नेपालीहरूको अपार्ट यसरी पहिलो तल्लामा पाइन्छ,ले खुशी भएँ । किनकी फेरि ४ तलाको भर्याङ्ग चढ्न नपर्ने भयो । 
 
एक–एक भित्र पसियो । भित्रको माहौल थोरै तात्दै थियो । एकातिर चिसो सिरेटो छलेर भित्र पसिनु थियो भने अर्को भित्र दिदी बहिनीहरूले खाना बनाउँदै रूम टेम्पेरचर हिट बनाउनु भएको थियो । माने टेबलमा अलि अलि सजिएका खानपीनका सरजमहरूले मन यसै तातिएको थियो सायद । निरजजीको मेडम लगायत अरू २ जना बहिनीहरू खाना बनाउँमा व्यस्त हुनुहुन्थ्यो भने  हजुरी दिदी पनि साथ दिदै हुनुहुन्थ्यो सायद । सबैसँगको जम्का भेटपछि हजुरी दिदीसँग बेलुकि पख भेटिएको पुरानो खबर साटासाट गरेँ । 
 
समयले मानिसलाई पर्खदैन र हामी पनि समयलाई पर्खनेवाला थिएनौ । तर बाध्यता यस्तै हुँदोरहेछ, नजिककै चिनजानका साथीभाइहरू भए पनि पहिलोपटक छिरिएको अपार्टमा अलकति अप्ठेरो महशुष भने हुँदोरहेछ नै । 
 
यता सूर्य भाई पनि हामीसँगै उपस्थितिमा आमन्त्रित रहेछन् । फोनमा कुरा हुँदा चाल पाएँ । केहि छिनको बातचीतपछि भाई आउने भएकाले निरजजी बाहिर लिन जानुभो । केहि समयको अन्तरालमै लिएर भित्रिनुभो । अनि नयाँ मैले पहिलोपटक देखेको नयाँ भाई र वहाँसँगै अर्की एकजना बहिनी पनि हाम्रो यस रमाइलो साँझमा साथ दिन आइपुग्नुभएको थियो । 
 
आजको यो चिसो रातका लागि आमन्त्रित साथीहरूको नेमलिष्टबाट बाँकी कोहि थिएनन् क्यारे अब । भूलचुक भएका कोहि भएपनि अब कुरिने वाला पनि थिएन । किनकी यतिबेला टेवलमा सलादका प्लेट र फ्राई गरिएका चिकेनका राता डल्लाहरू लडिसकेका थिए । त्यतिले मात्रै त किन हुन्थ्यो र विशेष त उहि ह्वस्कीको बोटल विर्को खेलेर हाम्रो स्वागतमा ठिङ् उभिईसकेको थियो । ह्व्स्कीको बोत्तल अगाडि छ, टेबलमा प्लेटभरि खानेकुरा सजिएका छन् भनेपछि कुन चाहि मूर्खको मुखबाट पानी बर्सदैन होला !  
 
समय फेरि आफ्नै गतिमा अगाडि बढिरहेको थियो । हामी पनि आफ्नै तरिकाले मौजमस्ती गफिएका थियौ । तै पनि साथीहरूको साथ, रमझमले भरिएको रात, यसो उसो समयले हामीलाई पछारिरहेकै थियो । समय जस्तो बलियो हाम्रो गर्मिलो साथ पनि नहुँदोरहेछ । करीव घडिले २०११ सालको अन्तिम रातलाई बीट मार्न थालिसकेको थियो । यसैको अवसरमा हामीले पनि यो साललाई विदा गरेर नयाँ सालको स्वागतमा गिलासभरि ह्व्स्कीको पेग उठाएर स्वागत गर्न तम्तैयार थियौ । 
  
यसो भनुँ नयाँ साल शुरू भएपछि पिउँने भनेका चैँ होइन, हामीले अगाडिदेखि नै पिउन शुरू गरिसकेका थियौ । अगाडि भरिएको खानाको परिकार, भरिएको ह्व्स्कीको बोत्तल राखेर कोहि पनि बस्न सक्दैन । सबै जनाले गिलास भरिएको पेग हात हातमा समातिसकेका थियौ । सूर्य भाई र एक जना बहिनी चैँ अलि अछुतो परेछन् क्यारे, पब्लिक रिलायवल जुस चलेन त्यतिबेला । हजुरी दिदी र अर्कि एकजना बहिनी चैँ अँगुरको सेलेक्टेड बाक्लो झोलतिर मात्रै लाग्नुभो । नेपालीमा जाँडै भनिन्छ क्यार, अँग्रेजीमा वाइन रे! हामी बाँकी भने अँग्रजी ह्व्स्की, नेपाली रातो रक्सी, अरू भाषामा खै के के हो मज्जाले पिइन्छ । पछाडि के हुन्छ बालै भएन नि ! 
 
त्यसो त पुरानो बर्षलाई पखालेर नयाँ बर्ष भित्र्याउनु थियो । अब फेरि फेरि यो पुरानो सालको अन्तिम दिन, अन्तिम रात, अन्तिम पल, भविष्यमा कहिल्यै नफर्किने गरेर जादै थियो । हजारौँ २३.५९हरू फर्केलान, सयौँ शनिवारको बेलुकीहरू फर्केलान् । सयौँ ३१हरू फर्केलान, पचासौँ डिसेम्बरहरू पनि फर्केलान तर विडम्वना अब हाम्रो जिवनमा २०११ कहिल्यै फर्कनेवाला छैन । तर, वास्तवमै हाम्रो त्यो डिसेम्बर ३१, २०११, शनिवार बेलुकीको २३.५९ कहिल्यै नफर्कने भैसकेको थियो । 
  
ह्व्स्कीको चुस्किले जब भित्रको इन्जिन तात्न थाल्छ, अनि होल बडिमा तरङ्ग उब्जाउँछ । अनि यसले एक खालको नजानिँदो इनर्जी पैदा गर्छ र ज्ञानेन्द्रियहरूले छिटो छिटो काम गर्न थाल्छ । त्यसैले होला अरू भन्दा जिव्रो र हातहरू हल्लिन थालिसकेका थिए । शुरूमै टेस्ट लिएको जिव्रो ह्व्स्कीको स्वाद खै कस्तो हो कुन्नि? थाहा पाउँदैन र जिन्दगीभर नपाएरै जानेभो । बाँकी तातो पिरो अमिलो नुनिलो सबै मनमौजी हसुरेपछि खाना समातिदिने सय आमाको पोल्टा भरिएछ क्यारे, साँच्चै इनर्जी आइहाल्यो । सुनेको छु र देखेको पनि, यस्ता इनर्जीहरूले आफुलाई ठुलो र अरूलाई धुलो मात्रै देख्छन् भन्ने तर मेरो इनर्जी यसरि खेर फाल्ने वाला नै होइन म । मेरो इनर्जी साथीहरूलाई बाँड्न चहान्थे सधैभरि र चहान्छु अहिले पनि। त्यसैले म यो समयको उपयोगमा साथीभाइहरूलाई मनोरञ्जन दिने कुरामा मनाउन थालेँ । 
 
एकपटक हजुरी दिदीको स्वर पाँच अपाङ्गहरूको कार्यक्रममा सुनेको थिएँ, हररात तिम्रो यादहरूले...... यस्तै मिठो स्वर पुनः सुन्न अनुरोध सहित सबैसाथीहरूले पालै पालो गीत गाउनै पर्ने कुरा अगाडि सारेँ । अब यो आकस्मिक इनर्जी बढेको बेलामा सबै गाउन तैयार नभए पनि गायककार श्रीराम भाइ नै थिए, सुमनजी पनि काम चलाउ गाउने मान्छे, कुमार दाई आफै गाउँदै, मोबाइलमा रेकर्ड गर्दै अनि सुन्दै बाटोभरि गुन्गुनाउँदै हिड्ने मान्छे, अरू त खै थाहा भएन म चैँ रहरै रहरमा गीत गाउन बाँचेको मान्छे । स्वर सुनेपछि भाग्छन् सबै । तर अलि अलि गीत र गजलहरू लेख्ने मान्छे ।  
  
साँच्चै गायनको शुरूवात भो हजुरी दिदीबाटै । मैले नारायणगोपालको चाँदनी शाहप्रति समर्पित गीत गाउन अनुरोध गरेँ तर धेरै बेरको सोचाई पछि पनि ठ्याक्कै यहि गीत भन्ने याद हुनै सकेन । सायद हामीलाई त्यतिबेला बढ्यौली लागिसकेको थियो कि ह्व्स्की लागिसकेको थियो । जे होस् जुनसुकै भएपनि गीत गायन कार्यक्रम शुरू भो । सूर्य भाइ नगाउने रे! श्रीभाई गायककार मिठो स्वरमा ह्व्स्की परेपछि अलि नमिठो हुँदोरहेछ । मेरो पालोमा सुनिलजीले सँगीत गर्छु भन्दै धाक दिदै यसो जोडगाँस गरेको सँगीतमा पलपल यादमा मर्छु हजुर नै हो जहाँ पनि । अनि कुमारदाईको पनि रेकर्ड हुदै गरेको भनिएको गजल अनि सुमनजी देव चौधरीले बजारमा ल्याएको आफ्नै गीत । यसरी सबैले मिठो नमिठो गीत गाउँदा त्यो माहौल साँच्चै तातिएछ भन्ने लाग्यो जतिबेला सूर्य भाइ पनि गीत गाउने भए । त्यतिबेला मलाई एकदमै खुशी लाग्यो जतिबेला कोहलपुरे ठिटो सूर्य भाईले दोहोरी भाकाको कोहलपुरैमा मिठो गीत गाउन शुरू गरे । 
   
दुःखको कुरा हजुरी दिदीलाई पढाउनुहुने सर, प्यारालाईलेस भएर उपचारको क्रममा दुखित जिवन विताइरहनु भएको रहेछ । यो खुशीयालीको माहौलमा यसरी एकजना हजारौ बालबालिकाहरूको भविष्य कोर्ने युगपुरूषको हालतले मन स्तव्ध भयो सबैको । अनि सबैले सल्लाह गरेर सकेजति सहयोग गर्ने निर्णय सहित यो कुरालाई टुङ्गो लगाईयो । 
  
यस्तै हो जिन्दगीका पलहरू, कहिले हाँसो कहिले रोदन । हजारौँ आँशु पिएर विताएका पलहरूलार्इ एकादुई खुशी लिएर बितेका पलहरूले धकेल्नै पर्दोरहेछ र पर्छ । हिमालबाट बगेको नदिको अस्तित्व समुन्द्रमा गएर लोप हुन्छ । हिमालभरि राताम्मे फुलेका लालीगुँरास बर्षातसँगै ओइलिएर झरेपछि उजाड देखिन्छ । जिन्दगी पनि यस्तै यस्तै कहिले फूल बनेर फक्रिन्छ, फुल्छ । कहिले नदि बनेर खोल्सा खहरे थर्काउँदै हजार कुईनेटोहरूमा ठोक्किएर अगाडि बढिरहन्छ । अनन्त केहि छैन सायद यो सँसारमा । हजारौ बर्ष ठिङ्ग उभिएर रहेका पहाडहरूले काँजुली फेर्छन् । भूगर्भमा रहेका खनिजहरू बाफिएर विस्फोट हुन्छन् । यस्तै यस्तै चिसिएका र तातिएका मनहरू लिएर बाँचिएको एक टुक्रा जिन्दगी हो रहेछ सँसारमा । त्यसैले जसोतसो बाँच्नु नै पर्दोरहेछ । 
  
भेटिनु त छुट्टिनुका लागि त हो नि! होइन भने त बिछोड शब्दको आविस्कार नै हुदैन थियो । जस्ले सँसारमा लाखौँ मानिसको ज्यान लिएको छ, त्यस्तो बलियो शब्दसँग हामी पनि कहाँ बाहिरिएर बस्न सक्थ्यौँ र! त्यसरी जोडिएका सबै आफन्तको घेराबन्दीमा बाँधिएको मन, दुखाएरै भए पनि छुटाउनै थियो । सम्झना विर्सनाका लागि सबै जना मिलेर फोटो खिच्ने काम भो । अन्ततः २०१२ सालको पहिलो प्रहरमा सबैजना साथीहरूसँग विदा हुनै थियो । सबैसँग सविनय गल्ती भएमा माफी माग्दै, त्यो गर्मिलो साँझको व्यवस्थापक निरजी र हजुरी दिज्यूलाई धन्यवाद । अनि त्यो रातमा दुःख कष्टका साथ पसिना बगाउँदै खाना तैयार गरिदिनुहुने निरजजीको मेडम र बाँकी दुई बहिनीहरूलाई अन्तरहृदयदेखि नै धन्यवाद ।  
 
अन्ततः २०१२ सालको पहिलो प्रहरमा सबैजना साथीहरूसँग विदा हुनै थियो, कति नमज्जा हुदोरहेछ यसरी विदा भएर बाटो लाग्न । शरीर टाढिदै गए पनि मनले भने बाटोभरि पनि मुन्टो उतै फर्किएर साथीहरू खोजिरहन्थ्यो ।
  
नोटः मिठो मिठो खाना बनाएर खुवाउनुहुने २ जना बहिनीहरूको नाम थाहा नभएकाले क्षमाप्रार्थी छु ।
   
हरि मानन्धर"विवश"
क्याक्मी ९, स्याङ्ग्जा
हाल इजरायल

.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com