
म इश्वर नदेखेको मान्छे.
बलदेव भट्ट "बिहानी"
डडेल्धुरा, नेपाल
हुँडारहरु लाइ निर्धक्क गोठालो छोडेर
म संग मान्छेका किंवदन्तिमा रगतको कथा लेख्ने रहर छैन,
म इश्वर नदेखेको मान्छे यहि वस्तीको कटुस छायाँमा
चर्को घामले सुकाएका हरिया पातहरु को भाग्य लेख्दै छु!
धानखेतमा धान र पसिना मुर्च्छाएर एक भएका छन
भोको मङ्सिरलाइ उत्खननका नलीहाड दिएर दयावान बन्ने रहर म संग छैन,
म इश्वर नदेखेको मान्छे चन्द्र कुमारीको टारीखेते डिलमा बसी
रोग बोकेर लह-लहाएका बालिहरु को भाग्य लेख्दैछु !!
विफरले डसेको फुलको कुरूप अनुहार बोकेर
म संग बिश्वासको किंवदन्तिमा सौन्दर्य चेतना बोक्ने रहर छैन,
म इश्वर नदेखेको मान्छे प्रतिशोधको तुसारो बोकी
मालीबस्ति संगै मुर्दावादको सम्झौता पत्रमा हस्ताक्षर गर्दैछु !!
अब महापर्बत को उपमा दिएर उकालो चढ्न छोड्ने हौसला दिन बन्द गरौँ
ओइलिएर झरेका गुँरासहरु ले यो वस्तीमा रंगिन बिजयोत्सव मनाउछन भने,
म इश्वर नदेखेको मान्छे लेकहरु मा चैते अभियान बोकी
मेरो प्रितको भूगोल बाट गुराँसे लेक लाइ हिड्न लगाउछु !!




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
