चकमन्न रात तन्किरहेछ,
आधा खुल्ला
आधा बन्द आँखाको बिचमा
इनर्सियाको धङ्धङी जस्तो
बुद्दको सपना प्रतिबिम्बित हुँदैछ,
सपना?!
बुद्दको सपना कि
सपनाको बुद्द??
बादल बोकाइएका आँखाहरु
सपनाको गर्भाधान् कसरी गरुन्!
यहाँ सम्भावित सुनौलो सपना समेत तुहिँदोछ\
त्रासदी ओतमुनी
चार भित्ता उदाङ्गिरहेछ,
थोरै ह्वाङ्गै
थोरै छोपछापको बिचमा
काल्पनिक आकृति जस्तो
टाउको ओतिन खोजिरहेछ,
ओत् ?!
टाउकोको ओत् कि
ओतको टाउको??
उडाइएको छानोमुनी
टाउकाहरु कसरी ओतिन्छन्!
यहाँ मनकै छानो समेत चुहिँदोछ \
संक्रमणको चपेटामा
सबैखाले खेती चौपट नाशिइरहेछ,
थोरै आशा
धेरै खतराको दोधारमा
नियतिले खेल्ने जूवाजस्तो
किसान बिउ छरिरहेछ,
बिउ?!
उम्रिने बिउ कि
कुहिने बिउ??
बिषादी मिसाइएको माटोमा
बिउ कसरी उम्रन्छन्!
यहाँ भरोसा कै बिउ कुहिँदोछ ।
के निर्दोष आँखाहरु
बबुरा टाउकाहरु
भ्वाङ्ग नपरेको छानोमुनी
ओत लागेर,
बुद्दशान्ती सपना देख्दै
मलिलो करेसामा
सकुशल बेर्ना उमार्न पाउन्नन्??
बर्बादिका प्रस्तरले
टेकेका पैतालामुनी
बिस्तारै ,,बिस्तारै
जमीनको टुक्रा खस्क्याइनुपर्छ
बिस्तारै ....
छातीमा दृढताको पर्खाल उभ्याइनुपर्छ
बिध्वँसको घाउ
बिध्वंसिलाई चर्क्याइनुपर्छ
त्यो एैतिहासिक सुरुवात
किसानहरुबाटै हुनुपर्छ
त्यो दिन...
बिचारका
सपनाका
सम्भावनाका
युगिन अक्षरका
बिउहरु हरएक
किसानका करेसामा
निर्धक्क उम्रेर टाउको उठाउँछन्
त्यो दिन...
आँखामा बादल हुँदैन
सपना तुहिन्नन्
त्यो दिन..
*****




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
