सीता बराल
हालः लिस्वन, पोर्चुगल
रश्मीका आँखाबाट आँसु बगेर हातमा भएका कागजपत्रहरुमा पर्दछन । थाहा पाएर पनि उनले ति कागजहरुलाई अन्तै ठाँउमा राख्न खोजीनन न आँखाका आँसुहरु नै रोक्न सकिन । वितेका दिनका यादहरुले आँसु झन बर्बर झरिरहेका थिए । यति लामो समय सम्मको रश्मीका बाबाको लगानी र उनको मेहनतको फलस्वरुप प्राप्त गरेका चारित्रिक, योग्यता र अनुभवका प्रमाणपत्रहरुका चाङ्ग नै लागेका थिए । ति प्रमाणपत्रहरुले स्वदेशमा राम्रो अवसर नपाए पनि विदेशको लागी छिटै नै भिषा लगाउने काम गरेको थियो । विदेश आएपछि रश्मीका सपनाहरु चकनाचुर हुदै गए । उनले आर्जन गरेका त्यति धेरै प्रमाणपत्र भएर पनि ति अनुसारका काम नपाउदा साह्रै निसास थिइन । यसैले आज उनी आफ्ना विद्यार्थी जिवनभरिका परिश्रम आफ्नै आँसुले भिजेको थाहा पाएर पनि महत्वहिन कागज जस्तै भिज्न दिइरहिन ।
राम्रो पढाईको कारण समाजमा बाबाको गर्व बनेकी थिइन रश्मी । जसले गर्दा जति पैसा खर्च भए पनि छोरीलाई बिद्यार्थी भिषामा विदेश पठाएर उनको भविष्य उज्वल बनाउने उद्धेश्यले बेलायतको लागी प्रोसेस गर्न हौसाएका थिए उनका बाबाले । सोचेको समयमा नै रश्मीको भिषा लाग्यो । बाबाको हर्षको सिमा नै भएन । रश्मी वेलायत जानु केही दिन अघि गाउँभरिका ठूलाबडा, आफन्त र साथीहरुलाई बोलाएर ठूलै भोज खुवाए । विदेश गएर बाबाको इच्छा पुरा गर्ने बाचा गर्दै भोलीको उज्वल भविष्यको कल्पना मनभरि संगाल्दै रश्मी बेलायतको यात्रा गरिन । त्यहा विद्यार्थी भिषामा गएका धेरै साथीहरु संग भेट हुने क्रम बढ्दै गयो । उनीहरुका अनुभव र समस्याहरु सुन्दै जादा रश्मीलाई आफ्नो सपनाहरु सिसा जस्तै चकनाचुर हुदै गएको अनुभव हुन थाल्यो । लामो समय पछि धेरै जनासंग सम्पर्क गरेर पाएको कामले त्यहीको शैक्षिक शुल्क तिर्न पनि धौ धौ हुदै गएपछि दश बाह्र लाख खर्च गरेर विदेशिएका साथीहरु जस्तै उनको विचल्ली शुरु हुन थाल्यो ।
रश्मीलाई आफ्नै देशमा फर्केर केही गरौ की भन्ने सोचीरहेको बेलामा नेपाल छाड्ने बेला उनका बाबाले सुनाएका इच्छाहरु र आफ्ना सपनाहरु सम्झन्छिन । समाजको अगाडी केही गरेर देखाउने उद्धेश्यले हिडेकी रश्मी यसै फर्कन सकिनन् । वास्तवमा भन्नेहो भने परदेश लागेका मानिसहरु जति दुःख सहनु परेपनि सहन सक्छन तर आफ्नो सपनाहरु पुरा नहुने बेलासम्म देश फर्कन चाहदैनन् किनकी त्यहा उनीहरुको ठूलो कल्पनाको सपना पुरा हुने आस गरिएको हुन्छ । तिनै परदेशिहरुको जस्तै उज्यालो भविष्यको ठूलो कल्पना रश्मीमा पनि थियो । वेलायत सरकारले विद्यार्थी भिषामा आउनेहरुका लागी कामको समय घटाउने र अरु धेरै नै समस्याहरु दिन थाले पछि त्यहा भएका नेपाली साथीहरु बैधानिक रुपले बस्न पाउने कागज बनाउन सजिलो हुने भनि हल्ला गरिएको पोर्चुगल आउने तयारी गरे । अरु धेरै साथीहरुका साथमा रश्मी पनि वेलायत छाडेर पोर्चुगल आइन । यहाँ झनै खानबस्नको लागी ठूलो समस्या, भाषाको अज्ञानता र कामको दुर्लभताले गर्दा धेरै चुनौतीहरु खेप्दै दिन कटाइन । धेरै साथीहरुको सम्पर्कमा रहेपनि निकै लामो समय पछि मात्र उनले काम पाइन । आफ्नो देशमा राम्रो पढेर विदेशमा विद्यार्थी भिषामा आए पनि धेरै दुःख पछि पाएको आजको कामको नियुक्ति कोपेराको थियो । जुन काम पाएर रश्मीमा धेरै निरासा संगै परिस्थिीतिले पाएको राम्रो काम सम्झन बाध्य थिइन ।
ठूला सपनाहरु बोकेर परदेश लागेकी रश्मीलाई ठूलै चक्करमा परेजस्तो भईरहेको थियो । कामको ब्यस्तताले गर्दा उनले घरमा लामो समयसम्म फोन गर्न पाएकी थिइनन् । पोर्चुगलमा रहने बेरोजगारी साथीहरुको जस्तै उनमा पनि केही नयाँ खबर नहुनाले घरमा फोन गर्न आँट आएको थिएन । सधै उही समस्याहरु सुनाइरहनु भन्दा केही नयाँ आएपछि फोन गरौला भन्दा भन्दै महिनौ वितिसकेछ । आज त उनका बाबाले नै फोन गरेर उनले काम पाए नपाएको बारेमा सोधे । आज मात्र कोपेराको नियुक्ती पाएकी रश्मीले रुन्चे स्वर दबाउदै काम पाएको कुरा गरिन । काम कस्तो छ छोरी भनेर बाबाले सोधे । चिसोले फुलेको हात र लिसेवियाले छियाछिया भएका औलाहरु हेर्दै बाबा काम त चिठ्ठा परेको जस्तै हो भनेर छोटो उत्तर दिइन । विदेशमा चिठ्ठा परेको काम पाएको खवरले रश्मीका बाबाको छाती गर्वले फुल्यो उनी भने कोपेराको नियुक्ती हेर्दै आफ्नो शैक्षिक प्रमाणपत्रहरु आँशुले भिजाइरहिन ।
समाप्त