निस्सासिँदै फोहोरको थुप्रोबाट उम्केर
एक 'ठुलो' मान्छे,
सुकिलो मान्छे,
गर्बिलो मुस्कानकासाथ
डिटरजेन्ट साबुनफ्याक्ट्रीको उदघाटनमा
घाँटीको नसा फुलाउँछ
बिडम्बना! ऊ दुङ्दुङी गन्हाउन छोड्दैन
के गर्नु! नियतको मयल पखाल्ने साबुन बनेकै छैन!!
बिज्ञानको चमत्कारमा खुम्चिएको,
प्रबिधीको कब्जामा निस्सासिएको
एक पसर ब्रम्हाण्ड
खोकिलामा च्यापेर,
दुनियाँ दुरीबिहिन बाँचेको छ आज
बिडम्बना! आत्मा र भाबना मात्र दूर दूर भाग्दोछ
हृदय जोड्ने कुनै आबिस्कार भएकै छैन!!
सत्यको सपथमा
ज्ञानी गुरुहरु
ध्यानी धुरन्धरहरु
पारदर्शी लोकोपदेश प्राङ्गणमा उभिएर
ढाँट्नु र छल्नुको परिणति व्याख्या गर्छन्,
बिडम्बना! हृदयको नेपथ्यमा
आँफैँलाई ढाँट्नुको मनोदशामा च्याँ च्याँ रुन्छन्
स्वस्पन्दन नियाल्ने सुक्ष्मदर्शक यन्त्र बनेकै छैन!!
हो यहाँ केही छैन
मनदेखी मन जोड्ने पुलपुलेसा,
सम्बन्धका चिरा पुर्ने मल्हम्पट्टी,
ब्यक्त वाणी साकार पार्ने
आत्माको धङ्धङी नाप्ने मिटर फित्ता
केही बनेकै त छैन
देखिएकै छैन
सुनिएकै छैन
अनी छैन खुशीका बिराट आकाशगंगा,
क्षमाशिल मनका उष्मापूर्ण झंकार,
झुटका सेता पर्दा बाहेक
केही छ त केवल एकलकाँटे महत्वाकाँक्षाको ओरालो यात्रा!
हृदयको स्पन्दन सुन्दै
युगको उज्यालो थुम्को टेक्ने अभियान चालिएकै छैन ।
आउ! मान्छेहरु!
हृदयको न्यानोपनमा लुट्पुटिँदै,
आँफैँसङ्ग आफुलाई साक्षी राखेर,
मान्छे-मान्छे बिचको दुरि मेटेर
जिन्दगीको गीत गाउँ,
बाँच्नुको घनघस्यामा बिसाउँदै र बत्तिँदै
भाईचाराको रङ्गले ब्रम्हाण्ड रङ्गाउने कसम खाऔँ
अझै त केही बितिसकेको छैन !!