-जनक मान डंगोल |
व्यक्तिहरुको समुह मिलेर गठन भएको संस्था हुन वा
राजनीतिक पार्टी यी सबैमा चरम गुटबन्दी हुने गरेको कुरा नयाँ र नौलो हैन । नेपालमा
१०४ बर्षे जहानिया राणा सासनको पतन पश्चात मात्र राजनीतिक पार्टी गठन भएको हो भने
राजनीतिक पार्टी गठन हुना साथ गुटबन्दीको कारणले गर्दा धेरै राजनीतिक पार्टीहरुको
नराम्रो संग पतन भएर ईतिहासको पन्नामा मात्र सिमित भएको छ ।
भर्खरै नेपालको प्रमुख छापाहरुमा 'कमरेड के.पी
वलीले गुण्डाहरुलाई संरक्षण गरे' भनेर कमरेड माकुनेको भनाईलाई जस्ताको तस्तै
छापेको देखियो । कामरेड माधब कुमार नेपाल नेपालको सबै भन्दा ठुलो
कम्युनिस्ट पार्टी एकिकृत मार्क्सवादी लेनिनबादीको पुर्ब अध्यक्ष देखि पुर्व
प्रधानमन्त्री समेत बनि सक्नु भएको नेता हुनुहुन्छ । कमरेड माकुने ज्यु हाल
ने.क.पा एमालेको बरिस्ठ तथा प्रभावसाली नेतामा समेत गनिनु हुन्छ भने नेपालमा
गणतन्त्र स्थापना गर्नमा उहाँको समेत ठुलो देन रहेको कुरालाई समेत नकार्न सकिदैन ।
२०४६ साल भन्दा अगाडी अर्थात भूमिगत कालमा
नेपालको सबै राजनीति पार्टीहरुमा भित्र भित्रै गुटबन्दी नभएको हैन तर नेपालको
कम्युनिस्ट पार्टीहरु एकजुट हुन जानेको भए भूमिगतकालमा पनि एक ढिक्का भएर पंचायती
ब्यबस्था बिरुद्ध आन्दोलन गर्थे होलान । एक आपसमा अविस्वास तथा आफ्नो कुरा तल
पर्ना साथ आफ्ना हितैषी तथा आसेपासेहरुलाई लिएर गुटबन्दी गर्दै पार्टी फुटाउन समेत
पछी नपरेका कयौ उदाहरण नेपालको कम्युनिस्ट राजनीतिमा देख्न सकिन्छ ।
कामरेड माकुने अघिल्लो कार्यकालमा पार्टीको
अध्यक्ष हुनुहुन्थ्यो । कार्यकालको समाप्ति पछी पुन: पार्टी अध्यक्ष पदको लागी
उम्मेदवारी दिनु भयो । पार्टीमा राम्रो गर्नु भएको भए अथवा सबैलाई मिलाएर लैजानु
भएको उहाँले पार्टी अध्यक्षको पदमा पराजित हुनु पर्दैन थियो । निर्वाचनमा पराजित
भै सके पछी हर स्वीकार गरेर पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा पार्टी अध्यक्ष
बिरुद्ध गुटबन्दी गर्दै आफ्नो पार्टी अध्यक्ष बिरुद्ध नकारात्मक टिप्पणी गर्नु
त्यो जायज हो र ?
कामरेड माकुने एदी सच्चा कम्युनिस्ट पार्टीको
सिपाही देखि देस लाई माया गर्ने सच्चा रास्ट्रबादी नेता हुनु भएको भए देसको हित र
उन्नति देखि पार्टीको भलाईको लागि समेत ज्यु ज्यान दिएर खट्नु हुन्थ्यो होला तर
२०४६ साल पछी बिस्तारै उदाउदै महान नेता स्व.क.मदन भण्डारीको रहस्यमय मृत्यु
पश्चात चर्चाको सिखरमा पुग्न सफल हुनु भएको क.माकुनेज्यु को २०४६ सालको
प्रजातन्त्र स्थापना देखि हालको मिति सम्म उहाँले निभाउनु भयको राजनीति भूमिकाले
देस र जनता देखि आफनै पार्टीले समेत के पायो भनेर अब प्रश्न गर्ने बेला भयो कि भएन
?
कमरेड माकुने मात्र हैन नेपालको ठुला पार्टी भनेर
कहलिएको नेपाली कांग्रेस देखि अन्य सबै पार्टीहरुमा समेत गुटबन्दी राम्रै संग
मौलाएको देखिन्छ । गुटबन्दी नमौलाएको भए नेपाली कांग्रेस २ टुक्रा हुन्थेन ।
गुटबन्दी नमौलाएको भए देसमा १२ बर्ष हत्या र हिंसाको राजनीति गरेर उदाएको कम्युनिस्ट
पार्टीको आर्को घटक माओबादी आज ५ टुक्रामा विभाजित हुन्थेन । गुटबन्दी नगरेको भए
पुर्ब पन्चहरुले खोलेको पार्टी आज ३/४ टुक्रामा विभाजित हुन्थेन भने 'एक मदेस एक
प्रदेस'को नारा लिएर मदेस भनिने तराईको भलाईको लागी भनेर खुलेको मदेसबादी दलहरु
छिन्नभिन्न पक्कै हुन्थेनन ।
नेपालमा खुलेका सबै राजनीतिक पार्टीहरु पनि
व्यापारिक प्रतिस्ठान जस्तै बनि सकेका छन । व्यापारिको काम भनेको सस्तो र कमसल माल
ग्राहकलाई भिडाएर नाफा कमाउनु हो भने नेपालको राजनीतिक पार्टीहरुको काम र कर्तब्य
पनि त्यस्तै हो । जसरि व्यापारीले आफ्नो कम गुणस्तरको माल बिकाउन ग्राहकलाई लट्ठ
पर्ने गरि बिज्ञापन देखि भ्रामक भनाई पेस गर्छन भने नेपालको राजनीतिक पार्टीका
नेताहरुले पनि आफ्ना मतदाता देखि जनताहरुलाई समेत दिउसै तारा देखाई दिने काम गर्न
समेत पछी पर्दैनन ।
जब आफ्नै पार्टी प्रति बफादार बन्न नसकेर
गुटबन्दी गर्दै आफ्नो राजनीतिको रोटि मात्र सेकाउँदै बस्ने नेपालको राजनीति
पार्टीका नेताहरुले देसको उन्नति र बिकास गर्छन भनेर सोच्नु त्यो भन्दा ठुलो
मुर्खता अरु के हुन्छ ? जब सम्म मनमा ईख पालेर एकले आर्कालाई सिध्याउने खेलमा
लाग्ने नेपालको सबै पार्टीका ठुला देखि साना नेताहरु लागि बस्छन भने त्यो देसको
उन्नति र भलाई कहिले पनि हुन्न भन्ने कुरा २०४६ सालको प्रजातन्त्र स्थापना देखि
आजको मिति सम्म नेपालको जनताहरुले देखि भोगी सकेका हैनन र ?
'हेटौडा टुडे दैनिकको मिति २०७१ चैत्र १० गते
मंगलवारको अंकमा प्रकाशित'