भर्खर राखिएका

ब्लग चौतारी


साहित्यिक खबर

MORE NEWS

पछिल्ला ब्लग पोस्टहरु :

पारुको बाचा

सम्प्रेषक : सिता बराल Tuesday, April 12, 2011
सिता बराल
----
बिषयक्रम :

एकमहिना देखि पारु लगातार हस्पिटल धाँउदाधाउदै थाकीसकेकी छन् । धेरै डाक्टरहरुसंग जँचाइसकीन तर पनि उनलाई लागेको रोग पत्तालाग्न सकेको छैन । आफूसंग भएका सबै परिक्षणहरु गर्दै पटक पटक औषधीहरु फेरि रहेका छन डाक्टरले तर उनमा केही असर भेट्टाउन सकेका छैनन् । डाक्टरको लागी उनको शरिर प्रयोगशाला जस्तै भइरहेको छ । परिक्षणगरेर फर्केको दिनमा अब त केही विसेक होलाकी भन्ने झिनो आसा पलाउँछ तर केही परिवर्तन हुदैन । उनी दिनदिनै गल्दै गएकी छन् । सबैभन्दा ठूलो समस्या उनी रातभर छटपटाई रहन्छिन । रात ढल्दैजाँदा उनका आँखा झन चनाखो बन्दै आउछन् । डाक्टरले उनलाई निन्द्रालाग्ने औषधी पनि नदिएका होइनन् । त्यो औषधीले दुई घण्टाभन्दा बढी काम गरेन । रोग पत्तालगाउन सकेनन, निन्द्रा लाग्ने औषधीले पनि काम गर्न छाडेपछि पारुले आफूलाई झनझन चापेको महशुस गर्नथालिन । एकरातमा उनले तीन पटक पनि नुहाईन तर मनभित्र जलेको आगो निभाउन सकिनन् । शरिरको सबै परिक्षणमा रिपोर्ट राम्रो आएपनि उनको छटपटीमा सुधार आउन नसक्दा डाक्टरहरुले उनलाई केहि रोग नलागेकोले आफ्नै देश फर्केपछि निको हुने बताए । जीवनमा अनेक उचारचढावहरु सहजै पारगर्दै आएकी पारुलाई यसपाली सानो तर अपत्यारिलो समाचारले यस्तो स्थितीसम्म पु¥याएको थियो । बितेका दुःखका दिनहरुलाई विर्सदै भविष्यमा आउने सुखको कल्पनामा दिन विताइरहेकी थिइन । जसलाई कहिल्यै फर्केर नहेर्ने बाचा गरेकी पारुलाई आजकल तिनै दिनहरुले पर्खीरहे जस्तो लाग्यो । जुन दिनमा उनले छोरालाई आफ्नै आँखाले देख्छिन र उसमा कुनै त्यस्तो लक्षण देख्ने छैनन् त्यहि बेला उनको रोग निको हुने सानो आसा लिएर उनि छिट्टै नेपाल फर्कदै छिन् । केही समयको बिदाको लागि होइन, छोराछोरीहरुको भविष्य निर्माणमा अभिभावकको मायाले मुख्य भूमिका खेलेको हुन्छ । भविष्य पैसाले होइन स्वच्छ भावनासंगै विकास भएको व्यक्तिगत चरित्रले उज्जल बनाउन सकिने रहेछ भन्ने सोचेर अब कहिल्यै छोरालाई छाडेर नहिडने र राम्रो संस्कार संगै चरित्र विकास गराउने बाचा सहित ।

पारु बिवाह बन्धनमा बाँधिएकोे केही सालमा नै परिवारसंग छुट्टिएर बस्नु प¥यो । दुबैजना बेरोजगारी र आफ्नो भागमा परेको टारीखेतलेमात्र जीवनधान्न मुस्कीलहुने देखेपछि पारुका लोग्न धर्मराज छिमेकी राष्ट्र भारततिर लागे । गाँउमा हुर्केबढेका धर्मले प्राथमिक स्कूलसम्म मात्र पढ्ने मौकापाएका थिए । बाबा भन्दै पछ्याउने छोरा र श्रीमतीलाई छाडेर जान मननमाने पनि उनिहरुकै भविष्यको लागी केहीवर्ष दुःख गरेपछि बाँकी दिन सुखमा काटौला भन्दै मुटुभरि पारुकोमाया र आँखाभरि छोरालाई राखेर धर्मे कामको खोजीमा गए । उनले घर बनाउने सिकर्मीको काम पाए । लोग्नेले पैसा लिएर आउछन् र केही गरेर संगै जीवन विताउने आसमा बसेकी पारुलाई धर्मे काममा लागेको केही महिनामा नै ढलान गर्ने क्रममा खसेर मृत्युभएको खबरआयो । पारुको जीवनमा ठूलो आँधीबेहरी आए जस्तै भयो । धर्मेसंगै काममा गएका गाँउका साथीले सहयोग स्वरुप जम्मा गरेका पैसा पारुको हातमा राखिदिए । उनिप्रति आफन्तहरुको फरक हुदै आएको व्यवहारको कारण त्यो ठाँउमा पारुलाई एकछिन पनि बस्न मनलागेन । धर्मको नामबाट पाएको पैसा र मुटुभरि पिडासंगै, केही गरिखाने उद्धेश्य सहित सानोबाबु पिठ्युमा बोकेर शहर लागिन । साँवा अक्षर चिन्न बाहेक अरु खासै नपढेकी पारुलाई शहरमा कामपाउन धेरै गाह्रो थियो । केही दिनको बसाईपछि विस्तारै साथीहरुसंग चिनजान बढ्दै गयो । एउटै घरमा डेरा गरि बस्ने कल्पनासंग उनको मनमिल्दै गयो । कल्पना दुई छोराहरुसंगै बसेकी थिइन भने उनका श्रीमान परदेश थिए । पारुले आफूलाई साह्रै माया गर्ने साथीपाएको अनुभवगरिन । परेको बेलामा कल्पनाले उनलाई सल्लाह र सहयोग गर्ने गर्थिन । उनकै सहयोगबाट पारुले काठमाण्डौमा डेरा गरिबस्ने विद्यार्थीहरुको भाडामाज्ने र लुगाधुने कामपाइन । विद्यार्थीहरु क्याम्पस जादा उनीहरुको ढोका अगाडी बाँटामा जुठा भाडाहरु र धुने कपडाहरु राखेर जान्थे । बेलुका फर्कदा पारुले सबै सफा गरेर उनिहरुको ढोका ढोकामा राखिदिन्थीन । उनीहरुको भेट महिना पुगे पछि पैसाको कारोबार गर्र्दा मात्र हुन्थ्यो । पारु उनिहरुकै काममा व्यस्त हुन्थिन भने बिद्यार्थीहरु उज्ज्वल भविष्य निर्माणमा तल्लिन थिए । उनले एउटा घरमा दिनमा पाँचवटा जति कोठाहरु भेटाउथिन । यसैगरि उनका दिनहरु वितेका थिए । जति दुःखकष्ट पाएपनि छोरालाई आवश्यकता र जमानाअनुसारका सबै सुविधाहरु पु¥याउदै आइन । पढ्न नपाउँदा आफूले पाएका दुःख र शहरमा काम खोज्दा खाएका हण्डरहरुले उनलाई पढ्नु पर्छ भन्ने राम्रै ज्ञान भएको थियो । छोरालाई डेरा नजिकैको बोडिंग स्कूलमा भर्ना गरिन । समयसंगै छोरा ठूलो हुदैगयो । देशमा हुने गरेकोे बन्दको कारणले उनले दैनीक गर्दै आएको काममा बाधा प¥यो । दैनिक काम हुन नसके पछि चुलिदै गएको महंगी,स्कूल फि र भाडा तिर्न गाह्रो हुन थाल्यो । उनी अब बैकल्पिक आम्दानीको बाटो खोज्न थालीन । यस विरानो ठाँउमा उनको आफ्नो सम्झेर सहयोग र सल्लाहदिने तिनै साथी कल्पना मात्र थिइन । उनकै सल्लाहमा महिलाहरुको लागी सुरक्षित र राम्रो आम्दानी हुने भनिएको इजरायलमा आउने निधो गरिन । कल्पनाको भरमा मुटुकोटुक्रालाई केही वर्षकोलागी छाडेर भक्कानिदै छोराको उज्ज्वल भविष्यको कल्पनासंगै केही आम्दानी गर्ने सपना लिएर इजरायल आइन ।

भविष्यमा आउने सुखको कल्पनामा डुुब्दै दिनहरु काट्दै गईन । जतिबेला उनलाई आफूले विताएका दिनहरुको याद आउथ्यो, उनलाई असह्रय हुन्थ्यो । आफूसंगै आएका साथीहरुले आफूलाई सम्हाल्न नसकेर कति स्वदेश फर्कीएका थिए भने कति साथीहरु अझै पनि मानसिक अस्पतालमा उपचार गरिरहेका थिए । काखमा हुर्कदैगरेका बच्चाहरु छाडेर उनीहरुको कल्पनामा दिन विताउदै परदेशमा संघर्षगर्नु पक्कै पनि सजिलो थिएन । सधैजसो बच्चाहरुको कल्पनामा प्यारो लोग्नेको सहानुभुतिका शब्दहरु सुनेर काम गरिरहेका साथीहरुको भन्दा एकदमै एक्लो अनुभव थियो पारुमा । उनको थियो त त्यही छोराका मागहरु अनि प्रिय साथी कल्पनाका गुनासाहरु । पारुले आफूले आफैलाई एकदमै सम्हाल्दै आएकी थिइन । छोराले स्कूलमा राम्रै नम्बर ल्याएर पास गरेको खबरले उनलाई काममा अझै जोश र जागर आउन थाल्यो । कल्पनाको सल्लाहमा पारुले शहरमा सानो घडेरी किनिन । अब केही वर्षमात्र बसेर आफ्नै ठाँउमा जाने र त्यस जग्गामा सानो टहरो बनाएर छोरासंगै दुःखसुख गरि बस्ने कुराहरु सोच्न थालिन । समयले उनका छोरालाई धेरै बुझ्ने बनाएको थियो । जुनकुरा उनले फोनमा कुरागर्दा बुझेकी थिइन ।

पारुले पढ्न नपाए पनि इजरायल आएपछि छुट्टीको समयमा आवश्यकता अनुसार मोवाइल चलाउन, साथीहरुसंग कम्प्यूटरमा च्याटगर्न अनि मनबहलाउनको लागी वेबसाइट समाचारहरु हेर्न सिकेकी थिइन । कामबाट बचेको समय समाचारहरु हेरेर विताउथिन । भविष्यमा आउने सुखका दिनको कल्पनामा डुबिरहेकी पारुले वेभ समाचार हेर्ने क्रममा माई संसार मा काठमाण्डौको “वेविलोन डिस्को” मा भएका समाचार देखिन । समाचारसंगै फोटोहरु पनि थिए नियालेर हेरिन । उनलाई एकदमै दुःख लाग्यो । उनको छोरा प्लस टु पढ्ने बेला भएको थिएन र त्यहा पनि थिएन तर क्याम्पस ड्रेससंगै विहानको सातबजेनै डिस्को जाने बच्चाहरुका हुलमा उसकी प्यारीसाथी कल्पनाका छोराहरु थिए । जसको जिम्मा र भरोसामा उनले आफ्नो छोरालाई छाडेकी थिइन । उनले त्यो ठाँउमा आफ्नो छोरालाई देखिन । जसको सुन्दर भविष्यको कल्पनामा परदेशमा रातदिन संघर्ष गरिरहेकी छन् ति भविष्यका सपनाहरु एकाएक भत्किदै गएका रहेछन् । दिनभरि काममा ब्यस्त भएपनि राती जब उनी ओछ्यानमा पल्टन्छिन त्यति बेला उनले नशालु छोरा देख्नथालिन । सधै छोरा नशामाडुबेर घरमा आउने र अनेक कुराहरु निकालेर झगडा गर्नथालेको सम्झनथालिन । टोलभरि नै उनका कुराहरु गरेको सुन्नथालिन । यि कुराहरु उनि जति विर्सन खोज्थीन त्यतिनै तछाडमछाड भएर आउथे । जसले गर्दा उनको मुटुमा दनदनी आगो बलिरहेको थियो । त्यही आगो निभाउन उनी धेरै डाक्टरहरु कँहा पुगीन र धेरै थरिका औषधीहरु प्रयोग गरिसकेकी छन् तर उनलाई विसको उन्नाइस भएन बरु झन चाप्दै गयो ।
समाप्त
.
ब्लग चौतारी डट कम
साहित्यसंसार डट कमद्वारा संचालित
ईमेल ठेगाना : info@sahityasansar.com
यस्तै ब्लग बनाउन
BestBloggertips.com