हुन त म संग मन बुझाउने के नै पो बाहनाका कमि थिए र? ३ वर्ष परदेश बसाइ पछि आफनै घरदेश फर्किएको म आफ्नै मानसिक अस्तव्यस्तताको कारण २२-२४ दिनमा नै फर्कनु आफैमा दुखदायी थियो. त्यस्तो अस्थिरतामा कसले के नै पो कोर्न सक्ला र? त्यसपछि अर्को बाहना टुप्लुक्क जन्मियो. लेखेर मात्रै के गर्ने? टाँस्ने भित्तो नै पो कहाँ छ र? जब यसको पनि ब्यबस्थापन भयो तर मलाई घर परिवारले आफ्नो रीतिरिवाज, संस्कृति, चाडबाड संग पो टाढा बनाइरहेको थियो. यसको मतलब मेरो मनै पो कहाँ थियो र कलम समाउने?
यतिबेला सोच्दै छु कसैले “कहाँ थिइस?” भनेर प्रश्न गर्नु पुर्व नै “म कहाँ थिए?” को उत्तर दिने म नै पहिलो जन्तु त बनिन हाम्रो समाजमा? आफैलाई आश्चर्य पनि नलागेको हैन. आफै सम्हालिएर हिड्न खोज्ने यात्रारत पैताला र सधै आफ्नो बश भन्दा बाहिर रहन मन पराउने मनको जम्काभेट यो बिन्दुमा भयो.
लौ न ! कति जंघार तर्नु, खोला जिन्दगीमा !
रित्तो होला जस्तो भयो, झोला जिन्दगीमा !!
कयौ जुनी कयौ लोक, पार गर्दै आज !
बल्ल बल्ल पा’को यौटा, चोला जिन्दगीमा !!
नहुने भो ओभानो खै पुर्जा इमानको !
सबै बाटो हानिदै छ, लोला जिन्दगीमा !!
नाम्लो बोक्ने थाप्लोको नि, भए मुल्यवृद्धि !
जोख्ने थिए मैले दुख तोला जिन्दगीमा !!
अबरोध छ अविरल चारैतिर बाटो !!
कतातिर गए शान्ती होला जिन्दगीमा !!
अविरल अधिकारी
हेटौडा मकवानपुर