मान्छे
जे बोल्छ त्यो गर्दैन
जे गर्छ त्यो बोल्दैन
क्षणभङ्गुर हुन्छ फूलको याम
भन्ने जाँदाजान्दै पनि
मान्छे फूलै ओढेर निदाउन चाहन्छ
यहाँ कोही छ काँढालाई सहर्ष चुम्बन गर्ने?
व्यबहारिक जीवनमा ओठ
तन्काउनसम्म नजान्ने/नसक्ने 'हंसमुख'
दर्शनमा खित्का छोड्छ
कुरुपदर्शनको "अभाङ्गार्ड"
सुटुक्क लुकेर
सुरासुन्दरीको तस्बिरमा च्वाँक्क म्वाइ खान्छ
यहाँ कोही छ चपाइएका अनुहारमा सहृदय चुम्बन गर्ने?
मान्छेले नजानेको के होला!
थाहा छ, विश्वाशको अर्को किनारा हुँदैन
भरोसाको पुल बदली हुँदैन
जीवनको सिमसारमा हरदम संकित मान्छे
बारबार सत्यबिदुषको सपथ लिन्छ
यहाँ कोही छ आत्माको आवाज पच्छ्याउँदै
ढुक्ढुकिको निष्कपट चालमा नाच्ने?
सफलताको सिँढिबाट हरबार गुल्टिएपछी
जीतको दौडमा सयबाजी हारेपछी
पराजित आत्मा बिक्षिप्त भै चिच्याउँछ
चोकमा निस्केर घोषणा गर्छ
"मलाई जित्नु छैन!!"
यहाँ कोही छ सत्य स्विकारोक्तिमा
आत्माको इमान्दारिता ब्यक्तिँदै
पराजयको अनुभूती सविस्तार बोल्ने?
हंसिलो तस्बिरमा बर्षिने चुम्बनले
ओइलाएको हृदय स्पर्श गर्ला!!?
आँखाको दृष्यरसबै वासन्ती हुन्नन्
तैपनी मान्छे
आधा डढेको कुरुप 'कोइला जिन्दगीको'दुहाइ दिँदै
लुकिलुकी कोपिलाको रङ्ग
चोर्ने दुस्साहस गरिरहन्छ
मान्छे
कुरुप दर्शनको वकालतमा जिन्दगी लतार्दै
सुरुप अनुहारहरुको उपासना गरिरहन्छ
भुलभुलैयाको सागरमा यतै कतै
सत्य बोल्छ ,,झुट ओकल्छ
रहस्यको आकाशगंगामा रहस्यै भएर
टिल्पिल टिल्पिल गर्छ
जे बोल्छ त्यो गर्दैन
जे गर्छ त्यो बोल्दैन
जिन्दगीको रङमञ्चमा यस्तै यस्तै गरिरहन्छ
मान्छे ,,,।।।




ब्लग चौतारी नेपाली भाषा साहित्यमा कलम चलाउने नेपाली ब्लगरहरुको साझा ब्लग हो । यसमा ब्लगर खाता प्रयोग गरी ब्लग चलाउदै आएका नेपाली ब्लगरहरु लेखकका रुपमा सहभागी हुन सक्नेछन । ब्लग चौतारीले लेखकका आफ्ना भावनाहरु अभिव्यक्त गर्ने मात्र नभई नेपाली भाषी ब्लगरहरुबीच भावनात्मक एकता र सामिप्यता बढाउने पनि उदेश्य लिएको छ ।
